भूकम्पले चर्किएको धनलालको मनमा गणेशको मृत्युको खबरले बज्रपात (भिडिओ) – Nepal Press

भूकम्पले चर्किएको धनलालको मनमा गणेशको मृत्युको खबरले बज्रपात (भिडिओ)

कैलाली । केही दिनदेखि बझाङ केन्द्रबिन्दु बनाएर निरन्तर भूकम्प र त्यसका परकम्प आइरहेका छन् । लगातार आइरहेका परकम्पले जयपृथ्वीबहादुर नगरपालिका- ११ का धनलाल आउजीको घरमात्रै होइन मन पनि स्थिर थिएन ।

टीकापुरमा कृषि पढ्दै गरेका उनका कान्छा छोरा गणेश नेपाली गत भदौ २५ गते अध्ययनकै लागि इजरायल उडेका थिए । ‘क्याम्पसबाटै पढ्दै कमाउँदै गर्न पाइन्छ बा’ भन्दै इजरायल गएका गणेशले शुक्रबार फोन गरेका थिए । गणेशले बाबुलाई भूकम्प आइरहेको छ, सुरक्षित बस्नु भनेका थिए ।

त्यसैबीच शनिबार साँझ बीबीसीले एउटा दुखदः खबर सुनायो । उक्त खबर थियो, इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको बमबारी । इजरायल सुन्नासाथ धनलालको मन चिसो नभएको होइन । तर, अन्यत्र होला भनेर सुते ।

भोलिपल्ट बिहानैदेखि छोरासँग कुरा गर्न खोजे पनि सम्पर्क भएन । साँझसम्म त सबैतिर गणेशको मृत्युको समाचार आयो । गाउँलेहरुले उनलाई खबर सुनाए ।

‘हामीलाई सुरक्षित बस्नु भनेको छोरो आफू कहिल्यै नबोल्नेगरी गइसकेछ’, धनलाल भक्कानिए ।

धनलालले अझै पनि छोरा ज्युँदो छैन भन्ने समाचारको विश्वास गर्न सकिरहेका छैनन् । इजरायलमा छोराको मृत्यु भएको खबर पाएका धनलालले आफ्नो मुटुको टुक्रा खोसेको बताउँछन् ।

‘बच्चालाई यहाँ पाउन सकुँला नसकुँला, उसको शरीरको एउटा टुक्रा भए पनि आफ्नो कलेजीको टुक्रा हो, देख्न पाए हुन्थ्यो’, उनको गला सुकेको छ ।

त्यस्तै गणेशले शुक्रबार साँझ दाइ विकासलाई पनि फोन गरेका थिए । कृषि सङ्काय पढ्दै गरेका गणेश भदौ २५ गतेमात्रै इजरायलको ‘लर्न एण्ड अर्न’ अर्थात काम गर्दै सिक्दै भन्ने कार्यक्रमका लागि ३ लाख ऋण गरेर इजरायल पुगेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौं सेमेस्टरका ४९ जना विद्यार्थी एक महिनाअघि मात्रै प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘लर्न एन्ड अर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *