वर्षाका कारण जब नेपाल-भारतको खेल रोकियो… (भिडिओ) – Nepal Press
नेपाल टक

वर्षाका कारण जब नेपाल-भारतको खेल रोकियो… (भिडिओ)

वर्षा शिवाकोटी भन्छिन्- सामाजिक सञ्जालमा ट्रोल हुँदा रमाइलो लाग्यो

काठमाडौं । गौरवको कुरा, नेपालले पहिलोपटक यस वर्ष एसिया कपमा आफ्नो उपस्थिति जनायो । सन् १९८४ बाट सुरु भएको क्रिकेटको एकमात्र महादेशीय च्याम्पियनसीप एसिया कपमा नेपालको उपस्थितिले क्रिकेट हेर्ने नेपालीमा उत्साह थप्यो ।

एसिया कपमा नेपालको दोस्रो खेल सेप्टेम्बर ४ मा भारतसँग भएको थियो । नेपाली क्रिकेट टीमलाई समर्थन गर्न नेपालबाट काठमाडौंका मेयर बालेन्द्र शाह र पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने श्रीलंका पुगेका थिए । मैदानमा नेपाली समर्थकको राम्रै उपस्थिति थियो ।

खेल प्रत्यक्ष हेर्न नायिका वर्षा शिवाकोटी पनि श्रीलंका पुगेकी थिइन् । मैदानमा जब पानी परेर खेल रोकियो, वर्षा ट्रोल हुन थालिन् । ‘वर्षाका कारण खेल अवरुद्ध’ भन्दै उनको तस्वीर भाइरल नै भयो ।

एसिया कपपछि नेपाल एसियन गेम्स पनि खेलेर फर्किसकेको छ । तर, वर्षाको मनमा चाहिँ एसिया कपको रौनक बाँकी नै छ । विदेशी भूमिमा नेपालको खेल प्रत्यक्ष हेर्दा उनले कस्तो अनुभव गरिन् ? वर्षा शिवाकाेटीसँग गरिएको संवादः

– तपाईंले क्रिकेटमा कहिलेबाट रुचि राख्न थाल्नुभएको हो ?

म पहिलेदेखि नै क्रिकेट हेर्थें । म कीर्तिपुर ग्राउण्डमा पनि दुई-तीन चोटि गेम हेर्न गएकी छु । जसले क्रिकेट अगनाइज गर्नुहुन्छ, उहाँहरुसँग पनि मेरो कम्युनिकेसन भइरहन्छ । कताकता उहाँहरुसँग ठोकिरहिन्छ पनि ।

– एसिया कप हेर्न श्रीलंका जाने मेसो चाहिँ कसरी मिल्यो ?

साँच्चै भन्नुपर्दा मलाई प्रत्यक्ष रुपमा क्रिकेट हेर्न पहिल्यैदेखि रहर थियो । जुरेको पनि होला सायद । एउटा ट्राभल्ससँग मेरो पहिलेदेखि नै कुरा भइरहेको थियो । मैले उहाँहरुको प्रोमोसन गर्दिनुपर्ने थियो । एक दिन अचानक उहाँहरुले मलाई ‘वर्षाजी नेपाल र भारतको क्रिकेट चलिरहेको छ श्रीलंकामा’ भनेर सुनाउनुभयो । नेपालको नाम सुन्नेबित्तिकै म आफैं हर्षित भएँ ।

मैले उहाँहरुलाई तुरुन्तै कोको जाँदै हुनुहुन्छ भनेर सोधें । उहाँहरुले अहिलेसम्म त कोही पनि हुनुहुन्न भन्नुभयो । मैले उहाँहरुलाई ठीकै छ, कोही हुनुहुन्न भने म एक्लै भए पनि गेम हेर्न जान्छु भनें । तपाईंहरु भइहाल्नुहुन्छ नि भन्ने कुरा गरें । उहाँहरुले हामीसँगै लगभग २०० जनाको नेपाली टीम हुन्छौं भनेपछि म तुरुन्तै ओके भएँ । उहाँहरुलाई पासपोर्ट पठाइदिएँ । भिसा पनि आइहाल्यो । अनि गएँ ।

दुई दिनमा तयार भएको प्लान थियो त्यो । यहाँबाट जाँदा म ट्राभल्समार्फत एक्लै गएकी थिएँ । तर, जाँदै गर्दा प्लेनमा रवि लामिछाने दाइहरुसँग पनि भेट भयो । उहाँहरु भएपछि झनै सजिलो भयो ।

– गेमको समयमा मेयर बालेन शाहसँग पनि भेट भयो ?

रवि दाइ र म चाहिँ सँगै थियौं । बालेनजीसँग भने भेट भएन । उहाँ कता बस्नुभएको थियो भन्ने पनि मलाई थाहा छैन । तर, रवि दाइहरुसँग भने यहाँको एयरपोर्टदेखि नै सँगै भयौं । उहाँहरु दुई-तीन दिन बसेर फर्किनुभयो । म भने केही दिन थप बसें । गइसकेपछि घुमौं भन्ने लाग्यो । मलाई त्यहाँको एउटा ठाउँ घुम्ने एकदमै ठूलो रहर थियो । त्यसैले बसाइलाई थप दुईतीन दिन बढाएर एक्लै भए पनि बसें । अनि फर्किएँ ।

– नेपालको गेम तपाईंलाई कस्तो लाग्यो ?

एकदमै राम्रो । पछि श्रीलंकासँगको एउटा म्याच हेर्दा मैले नेपाललाई झनै मिस गरे । त्यो ठाउँमा हाम्रो नेपाल भइदिएको भए, अवश्य जित्थ्यो होला भन्ने लागेको थियो । कस्तो राम्रो प्रस्तुति थियो नेपालको । (हाँस्दै) त्यही हो, वर्षाले डिर्स्टब गर्‍यो ।

– वर्षाले गेम अवरुद्ध भनेर तपाईंको फोटो चारैतिर चर्चाको विषय भयो । कस्तो महसुस भएको थियो ?

सामाजिक सञ्जालमा वर्षासँग मलाई जोडेर त्यत्रो तहल्का मच्चिन्छ भन्ने मैले एक रत्ति पनि सोचेको थिइनँ । आफ्नै पारामा त्यहाँको माहोलको मज्जा लिइरहेकी थिएँ । संयोग नै हो भनौं, वर्षाको समयमा म वर्षा त्यहाँ पुगें । (हाँस्दै) वर्षाले गेम नै अवरुद्ध भयो । जे होस्, रमाइलो भयो । मलाई अहिलेसम्म पनि त्यो कुरालाई लिएर म्यासेजहरु आउँछन् । विशेषत इन्डियनहरुले म्यासेज गर्नुहुन्छ ।

– आफ्नो फोटो राखेर ट्रोल गरिँदा रिस उठेन ?

खुशी लाग्यो मलाई त ! रमाइलो लाग्यो । मसँग त्यहाँको सिम नभएकाले सुरुमा त थाहा पनि पाइनँ । गेम हेर्दै गर्दा मेरो छेउमा बस्नुभएको एकजनाले एक्कासि वर्षा तिम्रो फोटो यसरी आइरहेको छ भनेर मलाई देखाउनुभयो । त्यो देखेपछि मैले उहाँहरुसँग डाटा मागेर हेरें । मैले हेरिञ्जेलसम्ममा त म्यासेज र मेन्सनको वर्षा भइसकेको थियो ।

– विराट कोहलीको फ्यान गर्ल भनेर पनि तपाईंको निकै चर्चा भयो । इन्डियाका केही समाचारहरुमा पनि आएका थिए । यो प्रसंग कहाँबाट आयो ? तपाईं साँच्चै विराटको फ्यान गर्ल हो ?

खासमा के भयो भने, हामी गेम हेर्न गेटबाट छिर्दै थियौं । गेटमा छिर्दै गर्दा मलाई एउटा इन्डियन युट्युबरले ‘तपाईंलाई को खेलाडी मनपर्छ ?’ भनेर प्रश्न गर्नुभयो । मैले उहाँलाई विराट कोहली मनपर्छ भनिदिएँ । त्यसपछि त उहाँले मलाई किन मनपर्छ, कसरी मनपर्‍यो, यताउता भनेर लामो प्रश्न गर्न थाल्नुभयो । उहाँको प्रश्न सुनेपछि मलाई खासै बोल्न मन लागेन । हाम्रो खेलाडीको बारेमा सोध्न छोडेर कहाँ के प्रश्न गरिरहेको होला भन्ने लाग्यो ।

अनि मैले एकै वाक्यमा ‘ही इज अ गुड प्लेयर, द्याट्स इट’ भनेर सरासर भित्र छिरें । त्यहीबाट सुरु भएको कुरा हो यो । थाहा छैन, उहाँहरुले त्यो कुरा कहाँ, कसरी हाल्नुभयो । मैले पनि पछि एकदुई वटा न्युजमा देखेकी हुँ । त्यो कुरा कसरी कहाँबाट यति धेरै फैलियो भन्ने म आफैंलाई थाहा छैन । न मैले त्यो मेरो अन्तर्वार्ता केहीमा देखेकी नै छु ।

– उहाँहरुले गेटमा तपाईंलाई त्यो प्रश्न कलाकारको रुपमा सोध्नुभएको थियो कि दर्शकको रुपमा ?

उहाँहरुले मलाई कलाकार नै भनेर सोध्नुभएको थियो । हामीभित्र छिर्ने बेलामा, त्यहाँ गेटमा थुप्रै नेपाली दाजुभाइ-दिदीबहिनीहरु हुनुहुन्थ्यो । हाम्रो ग्रुप त्यहाँ पुग्दा गेटमा इन्डियन युट्युबरहरुले उहाँहरुको अन्तर्वार्ता लिइरहनु भएको थियो । म त्यहाँ पुग्नासाथ, मलाई हाम्रो नेपाली दाजुभाइ-दिदीबहिनीहरु सबैले घेरेर ‘ये हमारे देशकी आलिया भट्ट हे, अनुष्का शर्मा हे…’ भन्दै चिच्याउन थाल्नुभयो । त्यो सुन्नासाथ उहाँहरु आएर मलाई प्रश्न गर्न थाल्नुभयो ।

– विराटको फ्यान गर्ल भन्ने समाचार आएपछि नेपाली दर्शकबाट नकारात्मक टिप्पणी त आएन नि ?

त्यस्तो केही पनि भएन । किनभने सबैलाई थाहा भइसकेको थियो कि म त्यहाँ नेपाललाई सपोर्ट गर्न गएकी हुँ भनेर । त्यसैले त्यस्तो नकारात्मक टिप्पणीहरु आएनन् ।

– व्यक्तिगत रुपमा तपाईंलाई मनपर्ने नेपाली खेलाडी को हो ?

त्यस्तो व्यक्तिगत रुपमा यो नै मन पर्ने खेलाडी हो भन्ने त छैन । तर, त्यो दिन दीपेन्द्रसिंह ऐरी र क्याप्टेन रोहित पौडेलको प्रदर्शन मन पर्‍यो ।

– विश्वव्यापी रुपमै मनपर्ने खेलाडी नि ?

त्यो आधारमा पनि यो नै भन्ने छैन फेरि । त्यस्तो क्रिकेट नै भनेर फ्यान नै भएर पूरै फलो गरेर बस्ने हैन । मुख्य मुख्य म्याचहरु हेरिन्छ । घरमा मेरो दाइभाउजु दुवै क्रिकेटको फ्यान भएकाले हेर्ने माहोल झनै बन्छ । यो खेलाडी यस्तो हो अथवा यो गेम हुँदैछ भन्ने अपडेट भइराखिन्छ । तर, पूरै क्रिकेट नै भनेर लागिँदैन ।

त्यो समय हाम्रो देशको लागि पनि विशेष दिन थियो । नेपालले पहिलोचोटि एसिया कप खेलेको त्यसमाथि अर्को देशमा गएर । त्यस्तो समयमा आफूले खुलेर समर्थन नगर्ने त हुनै सक्दैन । त्यही भएर आफूले सक्ने सपोर्ट गरेको हो ।

– अर्कोचोटि गेम हुँदा फेरि हेर्न जानुहुन्छ ?

जुर्‍यो भने फेरि पनि जानेछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर