गाँजासहित पक्राउ परेका निसीखोलाका अध्यक्ष घर्तीमाथि साढे ३ वर्षको जेल सजाय उच्चद्वारा सदर – Nepal Press

गाँजासहित पक्राउ परेका निसीखोलाका अध्यक्ष घर्तीमाथि साढे ३ वर्षको जेल सजाय उच्चद्वारा सदर

पोखरा । बागलुङ निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा दोषी ठहर गरेको जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको छ । लागुऔषध कारोबारमा दोषी ठहर गर्दै साढे तीन वर्ष जेल सजाय सुनाउने जिल्ला अदालत बागलुङको फैसला उच्च अदालत पोखरा बागलुङ इजालासले सदर गरेको हो ।

न्यायाधीशहरू मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो । जिल्ला अदालतले घर्तीलाई गत पुस ३ गते ५० हजार रुपैयाँ जरिवानासहित साढे ३ वर्ष जेल सजाय तोकेको थियो । २०७७ असार १२ गते गाँजासहित पक्राउ घर्ती परेका थिए ।

बागलुङको बुर्तिबाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा घर्तीलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा र चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

पक्राउ परेलगत्तै झण्डै तीन महिना पुर्पक्ष बसेपछि उनी धरौटीमा रिहा भएका थिए । त्यसयता उनी बाहिरै बसेर मुद्दा लडिरहेका छन् । फैसला प्राप्त भएपछि कार्यान्वयनतर्फ लाग्ने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर