इजरायल गएको २४ दिनमै मारिए आनन्द, एक्लो छोराको वियोगले परिवारमा बज्रपात (भिडिओ) – Nepal Press

इजरायल गएको २४ दिनमै मारिए आनन्द, एक्लो छोराको वियोगले परिवारमा बज्रपात (भिडिओ)

क्षतिपूर्ति माग्दै स्थानीयले गर्‍यो जनकपुर-ढल्केबर सडक अवरुद्ध

जनकपुरधाम । शनिवार इजरायलमा भएको हमासको हमलामा १० नेपालीको ज्यान गएको पुष्टि भएको छ । जसमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीका आनन्द साह पनि छन् ।

साह भदौ २६ गते अर्थात् २६ दिन अगाडी मात्रै इजरायल कृषि तालिमका लागि पुगेका थिए । इजरायल पुगेको २४ दिनमै उनको मृत्यु भएपछि परिवारमा बज्रपात परेको छ । घरमा आमा–बुवा र बहिनीहरू बेहोस छन् ।

लक्ष्मीनियाँ गापा ४ का वडाध्यक्ष रमेश साहका अनुसार हमलाको एक दिन अगाडी शुक्रवार आनन्दले आफ्नो बहिनीसँग फोनमा कुरा गरेकी थिए । आनन्दका बुवा सोमन साह किसान छन् । खेत गएका कारण बुवा र आमाको छोरासँग कुरा भएन ।

बहिनीलाई आनन्दले फोनमा ‘म यहाँ ठिक छु, तिमीहरू राम्रोसँग बस्नु’ भनेका थिए– वडाध्यक्ष साहले सुनाए ।

आतंकी हमलाको खबर पाएपछि आनन्दसँग फोनमा सम्पर्क गर्न उनका दिदीले कैयन प्रयास गरिन् । तर मोबाइलमा रिङ्ग जान्छ, रिसिभ हुँदैनन् । फोन रिसिभ नभएपछि उनलाई घटनाको शंका लागिसकेको थियो ।

तर सरकारले हिजो साँझ १० नेपालीको मृत्यु भएको सूची जारी गरेपछि मात्र आनन्दको मृत्युको पुष्टि भयो । वडाध्यक्ष साह भन्छन्- आनन्दको मृत्युको खबरले हामी मर्माहत छौँ । सपहीबासी शोकमा डुबेका छन् । उनका आमा–बुवा बेहोस छन् । घरमा चुलो बलेको छैन । सबै भोक भोकै छन् ।

‘आनन्द एक्लो छोरा थिए’, वडाध्यक्ष साहले भने, ‘तर उनी नै नरहेपछि आमा–बुवाका लागि सर्वस्व नै गुमाएको छ ।’ उनको घरको अवस्था दयनीय छ ।

स्थानीयले गरे सडक अवरुद्ध

मृतक आनन्दका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै सपहीबासी जनकपुर–ढल्केबर सडक अवरुद्ध पारेका छन् ।

सडकमा टायर बाल्दै स्थानीय युवाहरू सडक अवरुद्ध पारेका हुन् । उनीहरू सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

सडक अवरुद्ध पारेपछि सयौँ सवारी साधन अलपत्र परेका छन् । स्कुल बसहरूसमेत रोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर