हमासले बन्धक बनाएका इजरायली: कसरी परेका थिए अपहरणमा ? – Nepal Press

हमासले बन्धक बनाएका इजरायली: कसरी परेका थिए अपहरणमा ?

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह ‘हमास’को शक्तिशाली आक्रमणपछि यतिबेला इजरायलको स्थिति तनावपूर्ण बनेको छ । घटनामा इजरायलीसहित धेरै प्यालेस्टिनीले ज्यान गुमाएका छन् । ११ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हमासले ठूलो संख्यामा इजरायली नागरिक र सैनिकलाई बन्धक बनाएको इजरायली सेनाको भनाइ छ ।

‘बन्धक हुनेमा बालबालिका, महिला, वृद्ध र अपाङ्गहरु पनि छन् । केही जीवित छन् भने कतिपयको मृत्यु भइसकेको अनुमान गरिएको छ’, सैन्य प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कोनरिकस भन्छन्, ‘संख्याहरू अहिलेसम्म अकल्पनीय छन् । यसले भविष्यलाई युद्धको आकार दिनेछ ।’

दर्जनौंमा गन्ने हो भन्ने पनि विद्रोही हमासका अनुसार कब्जा गरिएका इजरायलीहरूको संख्या धेरै गुणा बढी छ । उनीहरूले बन्धकहरुलाई गाजापट्टी भएका स्थानहरूमा लगेका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भन्छन्, ‘हमासले गर्दा इजरायलको यो अवस्था भएको हो । यसको जवाफ हामी दिन्छौं ।’

अहिले सामाजिक सञ्जालमा इजरायलीहरू हमास लडाकुहरूको हातमा बन्धक भएका धेरै भिडियोहरू अपलोड भइरहेका छन् । बीबीसीले पुष्टि गरेको एउटा भिडियोमा कथित रूपमा इजरायली बन्धकहरूलाई बोकेको एउटा ट्रक भीडबाट गाजापट्टीतर्फ गुडिरहेको देखाइएको छ ।

त्यस्तै गाजापट्टीतर्फ जियो-लोकेटेड अर्को भिडियोमा एक महिलालाई खाली खुट्टा रगतले लत्पतिएको हात पछाडि बाँधी ट्रकको पछाडिबाट घिसार्दै गरेको देखाइएको छ ।

केही बन्धकहरूलाई गाजाकै नजिक पर्ने इजरायलको दक्षिणमा रहेको ओफकिम शहरको उपनगर किबुट्ज रेइममा भइरहेको पार्टीबाटै लगिएको बताइएको छ । प्रत्यक्षदर्शीले इजरायली मिडियालाई बताएअनुसार मोटरसाइकलमा आएका आक्रमणकारीहरूले त्यहाँ उपस्थित व्यक्तिहरुमाथि एक्कासि गोली प्रहार गर्न सुरु गरेका थिए । उनीहरुमध्ये धेरै अझै बेपत्ता छन् ।

बीबीसीले पुष्टि नगरेको तर सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा पार्टीमा सामेल एउटी महिलालाई दुईजना पुरुषले मोटरसाइकलमा अपहरण गरी लगेको देखिन्छ । अपहरण हुने ती महिलालाई उनकै पार्टनरको भाइ मोसे ओआरले चिनेका थिए । पहिला मोसेले आफ्नो भाइ र ती महिला हराएको भनी रिपोर्ट गरेका थिए । तर, पछि आतंकवादीहरूले अपहरण गरेर लगेको भिडियो देखेपछि उनले ती महिला आफ्नो भाइको पार्टनर भएको दाबी गरेका हुन् । अपहरण हुने ती महिलाको नाम नोआ अर्गमानी रहेको मोसेको भनाइ छ ।

‘मैले भिडियोमा नोआलाई आत्तिएको अनि डराएको देखें । म कल्पना पनि गर्न सक्दिनँ कि उनको दिमागमा के भइरहेको थियो होला । उनी डरले मोटरसाइकलमा चिच्याइरहेकी थिइन्’, मोसेले इजरायली टेलिभिजन च्यानल-१२ सँगको एक अन्तर्वार्तामा भनेका छन् ।

पछि पुनः अपलोड भएको तर बीबीसीबाट पुष्टि नभएको अर्को भिडियोमा ती महिला गाजाको एउटा कोठामा पानी पिइरहेको देखाइएको छ ।

रिपोर्टका अनुसार इजरायली सैन्य बलहरूले गाजापट्टी बाहिर दक्षिणतर्फको दुई स्थानमा बन्धक बनाएका इजरायली नागरिकहरूलाई मुक्त गरेको थियो । त्यसैगरी इजरायलका टीभी च्यानलहरूले रिपोर्ट गरेअनुसार किबुट्ज बेइरीको भोजन कक्षमा बन्धक बनाएर राखिएका बन्धकहरूलाई १८ घण्टापछि उद्धार गरिएको थियो । त्यहाँ लगभग ५० जनालाई बन्धक बनाएर राखिएको थियो ।

एला नामले चिनिने एक महिलाले आफूलाई घण्टौंसम्म बम सेल्टरमा बन्दी बनाएर राखेको रोयटर्स समाचार एजेन्सीसँग बताएकी छन् ।

‘हामीले त्यहाँ धेरै बन्दुक अनि गोलीको आवाज सुन्यौं । हामीलाई आतंककारीहरू डाइनिङ हलमा छन् भनेर भनिएको थियो’, उनले सुनाइन्, ‘अहिले म मेरो परिवारसँग सम्पर्कविहीन छु । मेरो बुबा अपहरित हुनुभएको छ । के भइरहेको छ, मलाई कसैले बताइरहेका छैनन् । मेरी आमा जिउँदै हुनुहुन्छ या हुनुहुन्न त्यो पनि मलाई थाहा छैन ।’

यसैबीच इजरायलको सरकारी टेलिभिजन ‘कान’ का अनुसार अफकिम शहरको उपनगर किबुट्ज उरीममा शनिबार हमास लडाकुहरूले घरमा घण्टौंसम्म बन्धक बनाएका दुई इजरायलीहरूलाई उद्धार गरिएको छ ।

‘बन्दुकधारीहरू शहरमा प्रवेश गरेका थिए र शहरमा रकेट अलार्म बजाइएपछि बंकरहरूतर्फ भाग्दा बन्दुकधारीहरूले त्यहाँका बासिन्दाहरूमाथि गोली चलाएका थिए, इजरायली मिडियाले रिपोर्ट गरेका छन् ।

(बीबीसीबाट अनुवाद गरिएको)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर