बहिष्कारको घोषणा लगत्तै चलचित्र विकास बोर्डको कार्यक्रम स्थगित – Nepal Press

बहिष्कारको घोषणा लगत्तै चलचित्र विकास बोर्डको कार्यक्रम स्थगित

काठमाडौं । चलचित्र विधेयकको विषयलाई लिएर चलचित्र सम्बद्ध संघसंस्थाले चलचित्र विकास बोर्डको सबै कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेपछि विकास बोर्डको कार्यक्रम स्थगित भएको छ । कुनै पनि संस्था र चलचित्रकर्मी, चलचित्र विधेयकमा सहमति नभएसम्म बोर्डको कार्यक्रममा सहभागी नहुने भएपछि बोर्डले कार्यक्रम स्थगित गरेको हो ।

बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय चलचित्र दिवसको अवसरमा आयोजना हुन लागेको कार्यक्रम हाललाई स्थगित गरेको जानकारी गराएको हो ।

विज्ञप्तिमा लेखिएको छ,‘राष्ट्रिय चलचित्र दिवसको अवसरमा यही असोज २४ गते १ बजे चलचित्र क्षेत्रका अग्रज, विज्ञ व्यक्तित्व तथा सरोकारवालाहरुसँग अछफल तथा अन्र्तक्रिया आयोजना गर्न भनी बोर्डले कार्यक्रम तय गरेकोमा विशेष परिस्थितिवश शो कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी गराउँदछौं । सो कार्यक्रम आगामी दिनमा उपयुक्त समयमा आयोजना गरिने व्यहोरासमेत जानकारी गराइन्छ ।’

चलचित्र विकास बोर्डले सरोकारवाला संघसंस्थालाई खबर र छलफल नै नगरी चलचित्र विधेयक तयार गरी सुझाव माग गर्दै बोर्डको वेबसाइटमा राखेपछि शुक्रवार निर्माता संघ, चलचित्र संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, आदिवासी चलचित्रकर्मी महासंघलगायत चलचित्र सम्बन्धी ९ वटा संघ संस्थाहरुको सामूहिक बैठक बसेको थियो ।

सरोकारवाला संघसंस्थाहरुको सहमतिबिना चलचित्र विधेयक अगाडि बढाएपछि सो काम नगर्न अनुरोध गर्दै संघसंस्थाले चलचित्र विकास बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रसमेत बुझाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *