संघीय कानून बनाउँदा प्रदेशका सुझावलाई ध्यान दिइयोस् : मुख्यमन्त्री चौधरी – Nepal Press

संघीय कानून बनाउँदा प्रदेशका सुझावलाई ध्यान दिइयोस् : मुख्यमन्त्री चौधरी

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले फोहरमैलालाई स्रोतको रुपमा उपयोग गर्नुपर्ने बताएका छन् । उनले त्यसको पुनः प्रयोग र प्रशोधनबाट आयआर्जन गर्न सकिने र यसले आर्थिक विकास र समृद्धि आउने जनाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा लुम्बिनीमा भएको फोहरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदाउपर प्रदेशस्तरीय परामर्श कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।

’फोहरमैलाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्नसक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण र फोहरमैलाको प्रभावकारी व्यवस्थापन गर्न प्रदेश सरकारले योजना बनाएर काम गर्नेछ’, मुख्यमन्त्री चौधरीले भने, ‘त्यो अभियानमा सरकार लाग्छ ।’

उनले कानुनको मस्यौदा तयार गर्दा स्थानीय सरकार, प्रदेश सरकार र स्थानीयसंग छलफल गरेर ल्याउनुपर्ने बताए । ‘अहिले आएको मस्यौदा केन्द्र सरकारले हामीलाई सुनाउँछ, तर छलफलमा उठेका सुझावहरुलाई समावेश गरिर्दैन’, उनले भने । मुख्यमन्त्री चौधरीले छलफलमा उठेका सुझावहरुलाई समावेश गरेर केन्द्र सरकारले कानुन बनाउने कुरामा आशा व्यक्त गरे ।

उनले फोहोर व्यवस्थापनको लागि आफुबाटै शुरुवात गर्नुपर्ने बताए । उनले भने, ‘सफा शहरको परिकल्पना त्यतिबेला मात्र पूरा हुन्छ जतिबेला हामी सबैले फोहर निश्चित ठाउँमा विसर्जन गर्नुपर्छ भन्ने बुझ्छौ ।’

अहिले फोहरमैला जथाभावी फाल्ने चलन भएको औल्याउँदै मुख्यमन्त्री चौधरीले अब सबैले फोहरमैला व्यवस्थापनको लागि तोकिएको ठाउँमा फाल्नुपर्ने बताए । त्यसरी, राखिएको फोहरमैलालाई केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले व्यवस्थापनमा काम गर्नुपर्ने कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । मुख्यमन्त्री चौधरीले फोहरमैला व्यवस्थापनको लागि कानूनी रुपमै समाधान खोज्नुपर्ने र तीनै तहका सरकारको समन्वयात्मक भूमिका जरुरी हुने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर