जडिबुटी अरनिको बसपार्क सञ्चालनमा तत्काललाई बाटो खुल्यो, नभत्काउन अदालतको अन्तरिम आदेश – Nepal Press

जडिबुटी अरनिको बसपार्क सञ्चालनमा तत्काललाई बाटो खुल्यो, नभत्काउन अदालतको अन्तरिम आदेश

सिन्धुपाल्चोक । पूर्वअरनिको यातायात प्रालिले आफ्नै लगानीमा काठमाडौंको जडिबुटीमा निर्माण गरेको बसपार्क र त्यहाँ निर्माण गरेको कुनै पनि संरचना नभत्काउन उच्च अदालत पाटनले अन्तिरम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले बसपार्कमा निर्माण गरेको संरचनालगायत अन्य भौतिक संरचना भत्काउने निर्णय गरेपछि पूर्वअरनिको यातायात अदालत पुगेको थियो ।

असोज १२ गते अल्पकालीन अन्तरिम आदेशमात्रै दिएकोमा ध्रुवराज नन्द र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले आज भने बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले संरचना भत्काउने भएपछि पूर्वअरनिको यातायात प्रालिले त्यसको बचाउको लागि निरन्तर संघर्षका कार्यक्रमसमेत गर्दै आइरहेको छ । अब न्यायिकरूपमा जितेकाले अब बसपार्क सञ्चालनका लागि अभियान सुरू गरिने पूर्वअरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्वअरनिको यातयात प्रालिले झण्डै १० करोड रूपैयाँको लगानीमा बसपार्क बनाएको छ ।

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि काठमाडौंबाट छुट्ने लामो तथा छोटो दूरीका सबै बस अनिवार्यरूपमा गोगंबु बसपार्कबाटै छुट्नुपर्ने नियम लागू गरेपनि राजधानीपूर्वका यात्रुहरूका लागि गोंगवबु उपयुक्त नहुने भन्दै पूर्वअरनिकोले आफ्नै लगानीमा बसपार्क बनाएको क्षेत्रीले बताए ।

लामो समयदेखि बसपार्क नहुँदा राजधानी पूर्वका काभ्रे, सिन्धुपाल्चोक,दोलखा, रामेछाप,ओखलढुंगालगायतका जिल्लामा सञ्चालन हुने सवारी साधन र त्यसमा यात्र गर्ने यात्रीहरू समस्यामा थिए । यसअघि पुरानो बसपार्कमा भएको पार्कमा टावर निर्माण सुरू गरेपछि राजधानीपूर्व सञ्चालन हुने बसहरू यत्रतत्र पार्किङ गर्ने गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर