सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई काठमाडौं महानगरले सहयोग गर्ने – Nepal Press

सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई काठमाडौं महानगरले सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गर्ने भएको छ ।
कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा. शिवराज अधिकारीका अनुसार नयाँ सार्वजनिक शौचालय बनाउन तथा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थालाई सहयोग गरेर नागरिकलाई सहज सार्वजनिक शौचालयको पहुँच पुर्‍याउने तयारी रहेको छ । उनले भने, ‘यसका लागि ३२ वटै वडाले इच्छा भएको संस्थाको विवरण सङ्कलन गरेर केन्द्रमा पेस गर्न भनिएको छ ।’
कामपाले विगत ६ वर्षदेखि नागरिकलाई सहज रुपमा सार्वजनिक शौचालय प्रयोग गर्न सक्ने वातारण बनाउने भने पनि हालसम्म सबैतिर सार्वजनिक शौचालयको पहुँच नपुगेको डा अधिकारीले बताए । उनले भने, ‘भएकालाई नियमित गर्ने, सम्झौता भएकाहरुको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडालाई नै जिम्मा दिइएको छ ।’
हाल कामपाको क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालयको सूची रहे पनि अधिकांशमा सरसफाइ र पानीकोसमेत व्यवस्था नहुँदा प्रयोग गर्न मिल्ने अवस्थामा नरहेका अधिकारीको भनाइ थियो । उनका अनुसार यसलाई रुपान्तरण गरेर सफा, दुर्गन्धरहित, व्यवस्थित, उज्यालो, हात धुने साबुन, पानीको व्यवस्था भएको शौचालय उपलब्ध गराउने उद्देश्यले कामपाले इच्छुक संस्थालाई सहयोग गर्ने योजना बनाएको हो ।
‘विसं २०७९ को प्रारम्भमा व्यक्तिगत तथा संस्थागत रुपमा चलेका एक सय २० शौचालयलाई सार्वजनिक बनाउन सम्झौता भएको छ’, अधिकारीले भने, ‘तिनीहरु कसरी चलेका छन् सक्रिय र नियमित रुपमा सञ्चालन गर्न के गर्नुपर्छ भन्ने विषय अघि बढाइएको छ ।’ उनका अनुसार सहरी क्षेत्रमा हरेक पाँच सय मिटर दूरीमा एउटा सार्वजनिक शौचालय उपलब्ध गराउनुपर्ने नीति रहे पनि कामपाको हकमा त्यो कार्यान्वयन भएको छैन ।
वडाबाट सञ्चालन भएका शौचालय नियमित र व्यवस्थित गर्ने, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत व्यक्ति, बैङ्क, वित्तीय संस्था र कार्यालयबीच सहकार्य तथा टोल सुधार समितिको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन गर्ने एकाइको तत्कालको योजना रहेको इकाइका प्रमुख डा अधिकारीले जानकारी दिए ।
‘सार्वजनिक शौचालय निर्माणका लागि सहरी योजना आयोगले नक्सा बनाएको छ । यसलाई आधार मानेर वडा र एकाइले नयाँ ठाउँमा शौचालय निर्माण गर्नेछन् । यसमा निजी तथा सार्वजनिक क्षेत्रको लगानी उपयोग गरिने छ’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *