प्रदेश अध्यक्ष बन्ने दाउमा एमालेका चार नेताले गुमाए केन्द्रीय सदस्य – Nepal Press

प्रदेश अध्यक्ष बन्ने दाउमा एमालेका चार नेताले गुमाए केन्द्रीय सदस्य

हेटौंडा । साल २०८० लाई अधिवेशन वर्षको रूपमा लिएको नेकपा एमालेको जारी प्रदेश अधिवेशनको कारण चारजना नेताले केन्द्रीय सदस्यको पद गुमाएका छन् । केन्द्रीय सदस्य रहेको व्यक्ति अन्य कुनै पदमा उम्मेद्वार भएको अवस्थामा उक्त पद गुम्ने एमालेको विधानमा रहेको ब्यवस्था अनुसार तीनजना केन्द्रीय सदस्यको पद गएको हो ।

एमालेको विधानअनुसार कुनै पनि कमिटीको पदाधिकारी वा सदस्य अर्को कमिटीमा उम्मेदवार भए स्वत: पद गुम्छ । सोही व्यवस्थाअनुरूप अनुरूप हालसम्म सम्पन्न पाँच वटा प्रदेश अधिवेशनमा ४ जना केन्द्रीय सदस्यहरूले पद गुमाएका हुन् ।

उनीहरूमा लुम्बिनीका हरि रिजाल, बागमतीका कृष्णप्रसाद दाहाल, कोशीका विनोद ढकाल र गण्डकी प्रदेशका मायानाथ अधिकारी छन् । प्रदेश अधिवेशनलाई सकेसम्म सहमतिमा टुंगो लगाउने, सहमति नभए केन्द्रभन्दा प्रदेशकै नेतालाई चुनावी मैदानमा उतार्ने हेडक्वार्टरको प्रयास असफल भएपछि प्रदेश तहमा केन्द्रीय नेताहरू नै प्रतिस्पर्धामा ओर्लिएका थिए ।

भदौ २० गते लुम्बिनीमा सम्पन्न एमालेको पहिलो प्रदेश अधिवेनबाट अध्यक्षका प्रत्यासी केन्द्रीय सदस्य हरि रिजाल २ मतले पराजित भए । उनलाई राधाकृष्ण कँडेलले हराएका थिए । केन्द्रीय सदस्य रिजालले ४७७ मत ल्याउँदा विजयी कँडेलले ४७९ मत ल्याएका थिए ।

लुम्बिनीले देखाएको बाटोमा बागमती थप एक कदम अघि देखियो । असोज ८ बाट काठमाडौंमा भएको अधिवेशनमा अध्यक्षको उम्मेद्वार दुवैजना एमाले केन्द्रीय सदस्य थिए । अधिवेशनबाट केन्द्रीय सदस्य कैलाश ढुंगेल प्रदेश अध्यक्षमा विजयी हुँदा अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल पराजित भए । ढुंगेलले ६९६ मत पाउँदा दाहाल ४३९ मतमा रोकिए ।

असोज १६ गते कोशी प्रदेशमा पनि अध्यक्षका प्रत्यासी घनश्याम खतिवडासँग केन्द्रीय सदस्य विनोद ढकाल पराजित भएसँगै अध्यक्ष हुने दाउँमा केन्द्रीय सदस्य गुमाउने उनि तेस्रो नेता बने । विजयी खतिवडाले ५१२ मत प्राप्त गर्दा ढकालले ४३० मत प्राप्त गरे ।

गण्डकीमा असोज १८ मा सम्पन्न निर्वाचनमा केन्द्रीय सदस्य मायानाथ अधिकारी पनि पराजित बने । ३ सय ६५ मत प्राप्त गरेका अधिकारीलाई ५ सय ३१ मत प्राप्त गर्दै नवराज शर्माले पराजित गरिदिए । अध्यक्षको लोभमा केन्द्रीय सदस्य गुमाउने अधिकारी चौथो नेता बनेका छन् ।

अझै एमालेको मधेश र सुदूरपश्चिम गरी दुईवटा प्रदेशमा अधिवेशन हुन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर