बझाङमा प्रधानमन्त्रीको घोषणा- अस्थायी आवासको लागि ५० हजार, मृतक परिवारलाई तत्काल २ लाख – Nepal Press

बझाङमा प्रधानमन्त्रीको घोषणा- अस्थायी आवासको लागि ५० हजार, मृतक परिवारलाई तत्काल २ लाख

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ भूकम्पबाट पूर्ण क्षति भएका प्रति घर परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माणका लागि ५० हजार दिने घोषणा गरेका छन् ।

बझाङको दरमुकाम चैनपुरमा भूकम्पबाट भएको क्षति अवलोकनपश्चात प्रधानमन्त्रीले सो घोषणा गरेका हुन् ।

टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत सहभागी थिए ।

भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने बताए ।

उनले भने, ‘गत मंगलबारका दिन बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट कहाँ, के, कति क्षति भएको छ यकिन गरिने छ । मूल्याङ्कन यस आधारमा सामान्य मर्मत सम्भार गर्नुपर्ने, गरी प्रबलीकरण गर्नुपर्ने वा पुनर्निमाण गर्नुपर्ने भन्ने निर्धारण गरी कार्य अघि बढाइनेछ ।’

राहत सामग्रीहरू पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन भएको र थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताए । भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको बताए ।

भुकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु हुनेका परिवारलाई तत्काल २ लाख राहत दिने उनको भनाइ थियो ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पले सुदूरपश्चिमका ७ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा धेरै क्षति बझाङमा भएको छन् । बझाङमा मात्रै भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । भूकम्पबाट भौतिक क्षति पनि ठूलो भएको छ।


प्रतिक्रिया

2 thoughts on “बझाङमा प्रधानमन्त्रीको घोषणा- अस्थायी आवासको लागि ५० हजार, मृतक परिवारलाई तत्काल २ लाख

  1. दुबै रकम करिव १२ महिना पछि प्राप्त हुने किनकी अहिले सरकारका मन्त्रीलाइ खान र विदेश शयर गर्न नै मुश्किलले पुगेको छ । १२ महिना पछि पनि आन्दोलन गरेर, गाली गरे पछि मात्र प्राप्त हुने ।

  2. करोडौं खर्चेर यत्रो ताम्झाम साथ हेलिकोप्टरमा सवार भएर गरेर पिडितका अगाडि यसरी गिडगिडाउनु भन्दा, घरैमा पकवान खाँदै बसेर ५-५ लाख सहयोग गरेको भए हुन्नथ्यो !? तिनमा त झन पिडा थपियो : राहत पाइयो भन्नेमा नाम चाडयो त्यो बिक्छ अब संसार भर कत्ती कत्तीमा तर तिनको त हात मात्र भिज्यो २ थोपा ले !! It’s a shame !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर