नेपालको आर्थिक वृद्धिका लागि जापानका पूर्वगभर्नर कुरोदाले देखाए यी ३ स्रोतमा सम्भावना (भिडिओ) – Nepal Press

नेपालको आर्थिक वृद्धिका लागि जापानका पूर्वगभर्नर कुरोदाले देखाए यी ३ स्रोतमा सम्भावना (भिडिओ)

काठमाडौं । जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपाली अर्थतन्त्रमा केही चुनौती रहेपनि आर्थिक वृद्धिको ठूलो सम्भावना देखाएका छन् ।

एसियाली विकास बैंकका पूर्वअध्यक्षसमेत रहेका कुरोदाले काठमाडौंस्थित दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा १० वर्षमा नेपालको अर्थतन्त्रमा ठूलो परिवर्तनको महसुस गरेको बताए । उनले आफू १० वर्षअघि नेपाल आएको स्मरणसमेत गरे ।

‘पछिल्लो १० वर्षमा नेपालको आर्थिक विकासबाट म प्रभावित भएको छु । यहाँ आर्थिक विकासको अझै प्रचुर सम्भावना छ’, उनले भने ।

कुरोदाले नेपालमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय गरी तीन स्रोतको प्रचुर सम्भावना रहेको भन्दै यस्ता स्रोतको सदुपयोग गर्नसके आर्थिक विकासमा टेवा पुग्ने सुझाएका छन् । तर, अझै धेरै चुनौती रहेकोले सरकार र यहाँका राजनीतिक नेतृत्वले त्यसबारे ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

पत्रकार सम्मेलनका क्रममा उनले नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्ने बताएका छन् । जापानमा कूल ग्राहस्थ उत्पादन (जीडीपी) र ऋणको अनुपात २६३ प्रतिशत रहेको उल्लेख गर्दै चालू खाता बचतमा रहेकाले जापानलाई ऋण लिन सहज भएको कुरोदाो भनाइ छ ।

उनले थपे, ‘जापानको चालू खाता ठूलो नाफामा छ । यस प्रकारको बचतले जापान सरकारलाई ऋण लिन सहज भएको छ । मेरो विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ । ऋण नै लिनुपर्ने अवस्था भएपनि एसियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलीयतपूर्ण ऋण लिनुपर्छ ।’

पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनीले पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा खुशी भएको जनाए । उनले पूर्वगभर्नर कुरोदाले नेपाली अर्थतन्त्रलाई आशावादी दृष्टिकोणले हेरेको भन्दै यसबाट आफू प्रभावित भएको उल्लेख गरे ।

राजनीतिक नेतृत्वको ध्यान आर्थिक वृद्धि तथा युवाहरूको विकास एवम् रोजगारीमा केन्द्रित हुनुपर्ने भन्दै लोहनीले नेपालमा सूचना प्रविधिजस्ता क्षेत्रको ठूलो सम्भावना रहेको र निजीस्तरबाट लगानी गरेर यस क्षेत्रमा युवाहरुलाई परिचालन गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *