प्रचण्डको २ करोडसम्मको घडी र गंगाको ब्यागसँग सुनिल शर्माले किन गरे शिक्षकको चप्पलको तुलना ? (भिडिओ) – Nepal Press

प्रचण्डको २ करोडसम्मको घडी र गंगाको ब्यागसँग सुनिल शर्माले किन गरे शिक्षकको चप्पलको तुलना ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एउटा शिक्षकले देशको नेतृत्व गर्दैगर्दा सँगैका साथीहरू जागिर जोगाउन सडकमा आउनुपरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक नेतृत्वको सोच परिवर्तन नभएसम्म जतिसुकै राम्रो विधेयक आएपनि केही नहुने बताए ।

उनको भनाइ जस्ताको तस्तैः

अहिले देशको नेतृत्व प्रचण्डले गरिराख्नुभएको छ । कमरेड प्रचण्डको इतिहास हामीले कोट्याएर हेर्‍यौं भने अहिले जुन विधेयकमा हामी छलफल गर्दैछौं उहाँ यो विधेयक आउनुअघि नै मास्टर हुनुहुन्थ्यो । अहिले उहाँ देशको नेतृत्व गर्न आइपुग्नुभएको छ ।

हिजोअस्ति शिक्षक साथीहरू सडकमा हुनुहुन्थ्यो एउटा शिक्षक जो आज प्रधानमन्त्री बन्नुभएको छ सँगैको अर्को शिक्षक आफ्नो जागिर, जोगाउन र गाँस, बाँस कपालको लागि हात्तीछाप चप्पल लगाएर सडकमा छ । तर, यो देशको प्रधानमन्त्रीले लगाएको घडीको मूल्य ६५ लाखदेखि २ करोडसम्मको छ । हाम्रो समस्या यहाँनेर हो ।

राजनीति र माथि बस्ने नेताहरूको सोच परिवर्तन नभएसम्म जति राम्रो विधेयक बनाए पनि निकम्मा भएर जानेछन् । मेरो आग्रह के छ भने प्रचण्डजीले लगाउने घडी र उहाँको छोरीले बोक्ने गुची ब्याग लिलामीमा राखेर नेपालको दूरदराजको स्कुलहरूमा टीनको छानो प्वाल परेर पढ्न पाएका छैनन् । बच्चाहरूले एकसरो लुगा लगाउन सकेका छैनन् तर, नेतृत्वको नियत सफा हुनुपर्‍यो । अहिले जनयुद्ध हाकेर आउनुभएको प्रचण्डको परिवारको सम्पत्तिलाई बिक्रीमा राखिदिनुभयो र दूरदराजको स्कुलमा हालिदिनुभयो भने नेपाली जनताले राम्रोसँग पढ्न पाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर