८ बुँदे आदेशको अन्तर्य- भारती र पीडित परिवारको सुरक्षा, रिगलको आममाफीमा कैफियत ! – Nepal Press

८ बुँदे आदेशको अन्तर्य- भारती र पीडित परिवारको सुरक्षा, रिगलको आममाफीमा कैफियत !

मिति र समय तोकेर विपक्षीसँग लिखित जवाफ माग, महान्यायाधिवक्तालाई पूर्ण इजलासको बहसमा आफैं उपस्थित हुन आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयमाथि प्रश्न उठाउँदै शर्तसहितका केही आदेश जारी गरेको छ ।

चेतनकी पत्नी भारती शेर्पाको रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले शुरुमै विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको हो ।

अदालतले सो रिट निवेदनको टुंगो नलागेसम्म निवेदक भारती शेर्पा र उनको परिवारका सदस्यरुलाई सुरक्षा प्रदान गर्नसमेत गृह मन्त्रालयलाई लेखेर पठाउन आदेश दिएको छ । गुण्डा नाइके रिगलबाट रिट निवेदक भारती तथा उनको परिवारमाथि हुनसक्ने खतरालाई मध्यनजर गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ मागिनुलाई सामान्य रुपमा लिन सकिन्न ।

त्यस्तै अदालतले रिट निवेदनमा उठाइएका कानूनी जटिलता र महत्वको विचार गर्दै पूर्ण इजलासमा पेश गर्न र यसलाई अग्राधिकार दिएर लिखित जवाफ आएको भोलिपल्ट अर्थात असोज २५ गते सुनुवाइको लागि पेशी चढाउनसमेत शर्तसहित आदेश दिएको छ ।

न्यायाधीश शर्माले रिगल ढकालसँग जोडिएका सबै फैसला, निर्णयसहितको सक्कल मिसिलहरुसमेत मगाएको छ । अदालतले सो निवेदनलाई गम्भीर रुपमा लिएर महान्यायाधिवक्ता स्वयंलाई बहसमा उपस्थित हुनसमेत आदेश दिएको छ ।

यसका साथै यो रिटमाथिको सुनुवाइ कुनै पनि पक्षको अनुरोधमा स्थगित नहुनेसमेत आदेशमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर