नेसपाको प्रथम महाधिवेशन आगामी वैशाखमा, विधान मस्यौदा तयार गर्न समिति गठन – Nepal Press

नेसपाको प्रथम महाधिवेशन आगामी वैशाखमा, विधान मस्यौदा तयार गर्न समिति गठन

माओवादीसँग तत्काल एकता नगर्ने, विचार मिल्नेसँग मोर्चा र ध्रुवीकरण गर्ने

काठमाडौं । नेपाल समाजवादी पार्टीले प्रथम महाधिवेशन गर्ने भएको छ । असोज १५ देखि १७ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको प्रथम महाधिवेशन आगामी वैशाख महिनामा गर्ने बताएका छन् ।

महाधिवेशनको तयारीको लागि मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्नेगरी बोलाइएको छ । बैठकमा गत साउन १ गतेबाट शुरु गरेको छ महिने पार्टी निर्माण तथा विस्तार अभियानको मध्यावधि समीक्षा गर्दै अभियानलाई अझै प्रभावकारी ढंगले संचालन गर्ने निर्णय गरेको छ ।

पार्टीको विधान मस्यौदा गर्न केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा अधिवक्ता कृष्ण शर्माको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ । बैठकमा माओवादी केन्द्रसँग तत्काल एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा हाम्रो पार्टी आफ्नो संगठन र जनआधार निर्माण र विस्तारमा केन्द्रित रहदै जनसरोकारका राष्ट्रिय मुद्दाहरुमा विभिन्न पार्टी र समूहहरुसँग सहकार्य, कार्यगत एकता गर्ने र विचार, नीति, कार्यक्रम मिल्ने शक्तिहरुसँग भरपर्दो अग्रगामी वैकल्पिक शक्ति निर्माणकानिम्ति संयुक्त मोर्चा र धु्रवीकरणका लागि पनि निरन्तर प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर