कोशीमा राप्रपाको लाइन- एमालेसँगको सहकार्य तोड्ने मनस्थितिमा छैनौं, मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार तयार पार्नुपर्छ – Nepal Press

कोशीमा राप्रपाको लाइन- एमालेसँगको सहकार्य तोड्ने मनस्थितिमा छैनौं, मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार तयार पार्नुपर्छ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउने आधार तयार गरे राप्रपाले विश्वासको मत दिने भएको छ । त्यसो नहुँदा तटस्थ बस्ने रणनीति राप्रपाले बनाएको छ । संविधानको धारा १६८ (३) अन्तर्गत सबैभन्दा ठूलो दलको हिसाबले मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने आधार राप्रपालाई भन्नुपर्ने प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए ।

मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने तयारी गरेका छन् । अहिलेसम्म विश्वासको मत पाउने प्रष्ट आधार देखिएको छैन ।

सिटौलाले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार भन्नु पर्छ । २० गते सत्ता गठबन्धनले के गर्छन् भन्ने कुरासँग सरोकार भएन । कार्कीजीले विश्वासको मत पाउने आधार भन्नुभयो भने हामी विश्वासको मत दिन्छौं । नत्र हामी तटस्थ बस्छौं ।’

उनले संविधानको धारा १६८ (५) अन्तरगतको सरकार गठनका विषयमा भने राप्रपाले धारणा बनाइनसकेको प्रष्ट्याए । सिटौलाले अहिले राप्रपा कोशी प्रदेश सरकारमा नभए पनि हिक्मत सरकारको सहयात्री भएको बताए ।

‘सहयात्री भएका कारण एमालेसँगको सहकार्य तोड्ने मनस्थितिमा हामी छैनौं’, उनले नेपाल प्रेससँग भने ।

कार्की भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । राप्रपाले साथ दिएको खण्डमा पनि मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना छैन । प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ सीट छ । सभामुखविहीन प्रदेशसभामा बैठकको अध्यक्षता उपसभामुखले गर्नुपर्ने भएकोले कार्कीले एमालेको ३९ मतमात्र पाउँछन् । राप्रपाले विश्वासको मत दिए पनि उनले ४५ मतमात्र पाउने छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत चाहिन्छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि सरकार गठनको प्रक्रिया धारा १६८ को उपधारा ५ मा पुगेपछि भने सोच्न सकिने बताइसकेका छन् । तर, त्यसबारे अहिलेसम्म गठबन्धनसँग पनि कुनै छलफल नभएको जानकारी दिए । धारा १६८ (३) अन्तरगतको विश्वासको मत पछाडि छलफल हुने लिङदेनको भनाइ छ ।

नेपाली कांग्रेसले यसअघि नै संसदीय दलको बैठक बसेर कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । अन्य गठबन्धनमा रहेका दलले भने विश्वासको मतको विषयमा कुनै निर्णय गरेका छैनन् । यद्यपि मत नदिने उनीहरूको भनाइ छ ।

प्रदेशसभा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर