सुप्रियाले देखाइन् प्रमाण : ‘रावायण’ मा अनमोलका लागि किनिएको थियो यस्तो कपाल, जुंगा र कस्ट्यूम – Nepal Press

सुप्रियाले देखाइन् प्रमाण : ‘रावायण’ मा अनमोलका लागि किनिएको थियो यस्तो कपाल, जुंगा र कस्ट्यूम

‘आर्थिक क्षति पनि आफ्नै, बेइज्जती पनि आफ्नै, अनि न्याय माग्न पनि नपाउनु ?’

काठमाडौं । सुपरस्टार अनमोल केसीसँग पहिलो पटक सहकार्य गर्ने कुराले निकै उत्साहित थिए, निर्देशक सुदर्शन थापा र उनकी पत्नी सुप्रिया कटुवाल । होम प्रोडक्सन फिल्म ‘रावायण’ उनीहरूको महत्त्वाकाङ्क्षी प्रोजेक्ट थियो ।

एड्भान्स स्वरूपमा १० लाख रुपैयाँको चेक लिएर हिँडेका अनमोलले मनस्थिति बदलेपछि यो जोडी तनावमा पर्‍यो ।

 

अन्ततः अनमोलले फिल्म नखेल्ने निर्णय सुनाए । पैसा फिर्ता लिइदिन आग्रह गरे । सुदर्शन र सुप्रियाका लागि ठूलै घातजस्तो भयो । किनकि उनीहरूले फिल्मका लागि धेरै तयारी अगाडि बढाइसकेका थिए । त्यसैले पैसा फिर्ता लिनुको साटो उनीहरू प्रहरीको शरणमा पुगे ।

सुप्रियाको उजुरीमा अनमोल पक्राउ परेर दुई दिनपछि छुटिसकेका छन् । उनले आफ्नो तर्फबाट कुनै पनि प्रतिक्रिया दिएका छैनन् । पब्लिक सेन्टिमेन्ट उनको पक्षमा देखिन्छ । अनमोल पक्राउ परेपछि सुदर्शनमाथि निकै गालीगलौज भयो । आपसी छलफलबाट मिलाउन सकिने मामूली विषयवस्तुलाई प्रहरीमा पुर्‍याएर एक असल छविको नायकलाई बदनाम गराउन खोजेको आरोप लाग्यो । उनीहरूलाई अहिले स्पष्टीकरण दिँदाको हैरानी छ ।

अनमोल रिहा भएको भोलिपल्ट सुप्रियाले फेसबुकमा लामो स्टाटस पोस्ट गरिन् । त्यसमा उनले सामाजिक सञ्जालबाट आफूहरू पीडित बनेको गुनासो गरेकी छन् ।

अनमोललाई लक्षित गर्दै उनले लेखेकी छन्, ‘यसअघि पनि उहाँका यस्ता विश्वासघातका घटना प्रशस्तै भए पनि उसैको पक्षपोषणमा सबै जना हुनुहुन्छ, अझै उहाँलाई नै जय जयकार गरिराखेको देख्दा अचम्मित छु । सबैले बलेकै आगो ताप्छन्, त्यो थाहा छ र पनि स्वतन्त्र न्यायका लागि लड्न किन नपाउने ?

सामाजिक सञ्जालमा बेतुकका तर्क गरेर पिडामाथि पिडा नदिन उनले आग्रह गरेकी छन् ।

उनले भनेकी छन्- ‘सक्नुहुन्छ भने सहयोग गर्नुहोस्, सक्नुहुन्न भने थप विक्षिप्त नबनाउनुहोस् । के न्याय माग्न प्राण नै त्याग गर्नु पर्ने हो र ? आर्थिक क्षति पनि आफ्नै, बेइज्जती पनि आफ्नै अनि न्याय माग्न पनि नपाउनु ? कुनै बाध्यता नभई दुधे बच्चा छोडेर न्यायालय धाउन कहाँ सहज छ र हजुर ।

सुप्रियाले रावायणको निर्माण टीमसँग मौखिक र व्यवहारिक सहमति गरेर ३ महिना अगाडि नै अनमोलले चेक बुझेको बताएकी छन् । साथै, स्क्रिप्टमा यसो गरौँ, गीत यसरी गरौँ भन्दै निरन्तर सल्लाह–सुझाव दिने गरेको उनको भनाइ छ ।

तर, कागजी सहमति गरौँ भन्दा जहिले गर्दा पनि हुन्छ भनेर मीठो बोलीमा फसाउने नियत स्पष्ट रहेछ, तर हाम्रो सोझोपना र इमानदारिताले त्यो आत्मीयतामा सधैँ अन्धो विश्वास गरिरह्यो,’ उनले लेखेकी छन् ।

सुप्रिया थप्छिन् :

सुटिङलाई चाहिने ड्रेस घरमै नाप्नुभयो । कपालको नाप दिन आफैँ जानुभयो । यी सबै चाहिने आवश्यक सामान पनि तयार भए । अनि आफू तयार भएको र जतिसक्दो छिटो स्पटमा जाऊँ त्यहाँको वातावरणले अझै क्यारेक्टरमा सजिलो हुन्छ भनेर अफिसबाट छुटेको मान्छे भोलिपल्ट अचानक फोन गरेर आफूले त्यसको भूमिका निभाउन नसक्ने र तयारीका लागि अनिश्चित समय माग्ने, अनि बाहिर गएर रावायण चलचित्र साइन नै गरेको छैन, मलाई केही फरक पर्दैन भन्दै हिँड्ने ।

के कानुनी सझौता नै नगरेपछि जे गर्दा पनि हुने ? अनि छलफलका लागि अफिस आउनुहोस् भनेर पत्रसमेत काट्दा वकिलको भाषामा अब छलफल गर्नुपर्ने औचित्य नै सकिएको भनेर रवाफपूर्ण जवाफ पठाउने । टेलिफोन सम्पर्कमा निर्मातालाई म चिन्दिनँ तपाईँ को हो ? केका लागि १० लाखको चेक दिनुभएको भनेर संवेदनाहीन तर्कसमेत दिएपछि कानुनी बाटो रोज्न बाध्य भएको हो ।

त्यसपछि उनलाई पटक–पटक सम्पर्क गरी प्रहरीले कार्यालयमा छलफलका लागि उपस्थित हुन बोलाए पनि अटेरी गर्दै शक्तिको आडमा बसेर आफैं मिलाउने र त्यहाँ उपस्थित हुनुपर्ने आवश्यकता नभएको जस्ता जवाफ समेत फर्काएका थिए । प्रहरी कार्यालयबाट पनि यो विवाद समाधान नहुने भएपछि उहाँको नाममा पक्राउ पुर्जी जारी भएको थियो । सोही पक्राउ पुर्जी अनुसार उनलाई पक्राउ गरिएको हो । उनले निर्माण टिमलाई दिएको अन्तिम समयको निर्णयले आफू कानुनी कारबाहीमा पर्ने संकेत पाए पछि आफ्नो बचाउ गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा केही दिनअघि नै आफू कसैको दबाबमा र पूर्णरुपमा स्क्रिप्टमा चित्त नबुझेसम्म काम नगर्ने जस्ता तथ्यहीन अभिव्यक्ति पनि दिएका थिए ।

हुँदाहुँदै उनकै टिमसँग अन्तिम स्क्रिप्ट छलफलमा बसेको कुरालाई चियाकफी खाएको फोटो हो सम्म भन्न भ्याए । के नगरकोटमा ३ दिन बसेर चियाकफी नै पिएका हुन् त ? यति मात्रै होइन, उनले आफ्नो बचाउमा के सम्म गरेनन् ? पक्राउ पुर्जी जारी हुन्छ भनेर निर्माण टिम र प्रहरीलाई विपक्षी बनाउँदै अदालतमा पक्राउ पुर्जी जारी नगर्न रिट निवेदन दिई निर्माता म स्वयम्लाई कागजात ह्वाट्सअपमा पठाएर मानसिक दबाब दिएका थिए । सञ्चारमाध्यमहरू पनि बेखबर जस्तै बनेर एकोहोरो दोषीकै पक्षमा बोलिरहेको पाइयो । विभिन्न संघसंस्था पनि छन् रे, तर आजसम्म के हो समस्या ? के छ भनेर १ कल फोनसम्म आएको छैन । बरु उल्टो सामाजिक सञ्जालमा यति सानो समस्या भनेर खिल्ली उडाइरहेको भेटियो ।

यो त एउटा प्रतिनिधि घटना मात्र भयो यस्ता घटनाले धेरै निर्माता विदेश पलायन भएका छन् कति घरबारविहीन छन् । यो सबै अन्तिम समयको तयारी हैन र ?

सुप्रियाले आफ्नो भनाइलाई पुष्टि प्रमाणका रूपमा अनमोलसँग कुराकानी गरिएका च्याटका स्क्रिन सट, अनमोलले ट्राई गरेको कस्ट्यूम, उनका लागि किनिएको कपाल र जुँगा लगायतका तस्बिर पोस्ट गरेकी छिन् । यो चलचित्रमा अनमोलले दोहोरो भूमिका निभाउनेवाला थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *