मनसुन लम्बिँदा किसानले भित्र्याउन पाएनन् धान- हतार नगर्न कृषि वैज्ञानिकहरुको सुझाव – Nepal Press

मनसुन लम्बिँदा किसानले भित्र्याउन पाएनन् धान- हतार नगर्न कृषि वैज्ञानिकहरुको सुझाव

काठमाडौं । जलवायु परिवर्तनले मनसुन लम्बिएर किसानहरु चिन्तामा छन् । अघिल्लो वर्ष धान भित्र्याउने समयमा मनसुन लम्बिएर आएको अविरल वर्षा र त्यसपछिको बाढीबाट क्षति भोगेका किसानहरु अहिले पनि त्रासमा छन् ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनीका केही तथा बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

खेतमा धान पाकेर लहलहाइसकेको छ । केही ठाउँमा वर्षाले पाकिसको धान लडाएको छ । तर, बदलिँदो मौसमले गर्दा धान काट्न नपाएको चितवनका किसान सीताराम अर्याल बताउँछन् ।

‘मौसमको डरले धान भित्र्याउन पाएको छैन’, अर्याल भन्छन्, ‘पछिल्लो समय काटेको धान खेतबाटै बगाएर लगेको अझैसम्म भुलेको छैन । मौसम सफा होला र धान भित्र्याउला भनेर कुर्दै बसेको छु ।’

पाकिसकेको धान काट्न ढिलो भए बिग्रिनेमा पनि उनी चिन्तित छन् । ‘वर्षा नरोकिए धान पूरै बर्बाद पारिदिन्छ’, उनले भने, ‘धान पाकिसकेकाले ढिलो भए बालामै बिग्रन्छ । यसले गर्दा बजार मूल्यमा पनि पाइँदैनौं ।’

अर्यालले अघिल्लो पटक सरकारले क्षतिपूर्ति दिन आफ्नो नाम टिपाए पनि एक सुक्को नभएको गुनासो गरे । मौसम र सरकारको भर नै नभएको उनको भनाइ छ ।

त्यस्तै मौसमले गर्दा खेतमा लटरम्म पाकिसेको धान काट्ने हिम्मत नभएको कञ्चनपुरको वेदकोट नगरपालिकाका किसान दीपकसिंह राना सुनाउँछन् ।

उनलाई पनि अघिल्लो वर्ष मौसमले साथ नदिएर काटेको धान खेतमै ३-४ दिनसम्म भिजेर बर्वाद भएको झल्को आउँछ ।

राना भन्छन्, ‘धान पाकिसकेको छ । तर, काट्ने आँट आइरहेको छैन । आकाशको भर छैन, कतिखेर बर्सिन्छ पत्तो छैन । मेहनत गरेर फलाएको अन्न बर्बाद भए वर्षभरि के खाने ?’

मौसमी खेती गर्नेमात्रै होइन बेमौसमी र व्यवसायिक खेती गर्ने किसानहरु पनि मनसुनले आफूहरु प्रभावित भएको बताउँछन् । मौसमको फेरबदलले समयअनुसार बाली तथा खेती गर्न समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

धान काटेपछि किसानहरु आलु, मकै, तोरी तथा अन्य तरकारी लगाउने गर्छन् । हिउँदे बाली लगाउनुअगावै खेत खाली राख्नुभन्दा अर्को खेती गर्ने किसानहरु अहिले प्रभावित भइरहेको छन् । मौसमी बाली समयमै भित्र्याउन नसके त्यसको असर हिउँदे बालीमा पर्छ ।

मौसम पूर्वानुमान महाशाखाले २४ घण्टाका लागि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षाका कारण बहने नदीको जल सतह बढ्नसक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भएकोले महाशाखाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

गतवर्ष दशैँ र धान भित्र्याउने चटारो एकैचोटी भएकोले गर्दा किसानहरुले मर्का भोग्नुपरेको थियो ।

धान पाके पनि मनसुनले त्यति असर नपार्ने बाली तथा बागवानी अनुसंधान ‘नार्क’ का निर्देशक डा. टीकाबहादुर कार्की बताउँछन् । तर, खेतीबाली भित्र्याउने समयमा किसानहरु सचेत हुनुपर्ने उनको सुझाव छ ।

‘खेतमै पाकेको धानलाई पानीले त्यति असर गर्दैन । धेरैजसो स्थानमा किसानहरु डरले खेतीबाली भित्र्याउन हतार गर्छन् । त्यस्तो गर्नुहुँदैन’, डा. कार्की भन्छन्, ‘पानी परिरहेको समयमा बाली खेतमा ढलेको भए पनि त्यसलाई उठाउने र बाँध्ने काम गर्नुहुँदैन ।’

धान पानीमा भिजेर ढलेको अवस्थामा भने सावधानीपूर्वक किसानले काट्नुपर्ने उनको भनाइ छ ।

‘लगातार पानीले भिजेको धान वर्षा रोकिनासाथ काट्न हतार गर्नुहुँदैन । किनभने पानी रोकिए पनि खेत भिजेको हुन्छ र धानमा असर गर्ने हुन्छ’, डा. कार्की भन्छन्, ‘त्यसैले केही दिनपछि काट्नु उचित हुन्छ । यसरी काटिएको धान तुरुन्तै भण्डारण पनि गर्नुहुँदैन । घाममा राम्रोसँग सुकाएपछि मात्रै भण्डारण गर्नुपर्छ ।’

यसपालि मनसुन धेरै लम्बिने सम्भावना कम रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटी अर्यालले बताइन् ।

उनका अनुसार अघिल्लो वर्ष किसानहरुले समयमै सूचना नपाउँदा अन्नबाली भित्र्याउने बेला समस्या भोगेका थिए ।

‘अहिले मनसुन त्यति लम्बिने सम्भवना छैन । दुईतीन दिनभित्र मौसममा सुधार हुने संकेत छ । यस कृषिमा क्षति भएको देखिएको छैन’, शिवाकोटी भन्छिन्, ‘पछिल्लो समयको जस्तो अवस्था नआउने आशा छ । किसानहरुलाई पनि सूचित गर्ने काम निरन्तर भइरहेको छ ।’

अहिलेको वर्षाले धानको गुणस्तरमा त्यति असर नपार्ने कृषिविज्ञहरु बताउँछन् । उनीहरुका अनुसार तराई तथा पहाडी क्षेत्रमा उत्पादन हुने धानवालीमा एकै समयमा एकै खालको प्रभाव पर्दैनन् ।

पानीले धेरै दिन भिजेर बिग्रिन्न धान !

गहुँ पानीमा भिजे बिग्रन्छ । तर, धान त्यति छिट्टै नबिग्रने डा. कार्की बताउँछन् ।

‘धानको बाला नै पानीमा धेरै दिन रहे बीउ पलाउने हुन्छ । तर, त्यस्तो धान पनि प्रशोधन अथवा सुकाएर खान योग्य बनाउन सकिन्छ’, उनी भन्छन्, ‘यो कुरा धेरैलाई थाहा हुँदैन । धान कतिसम्म भिजेको छ भन्ने कुरामा पनि निर्भर हुन्छ । तर पनि सामान्यतया त्यसरी बिग्रिने एकदमै कम हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *