न्यायाधीश नियुक्तिबारे ओलीको चेतावनी- यो आइसबर्गको टुप्पो हो, संवैधानिक दुर्घटनाको कारक बन्नसक्छ – Nepal Press

न्यायाधीश नियुक्तिबारे ओलीको चेतावनी- यो आइसबर्गको टुप्पो हो, संवैधानिक दुर्घटनाको कारक बन्नसक्छ

'मेराविरुद्ध उफ्री उफ्री सक्रिय भूमिका खेल्ने फर्मका सहयोगी वकिललाई न्यायाधीश नियुक्त गरियो, न्यायपालिकालाई गठबन्धनको विभाग बनाउन खोजिँदैछ'

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा संसदमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सत्ता गठबन्धन न्यायपालिकालाई आफ्नो विभाग बनाउन उद्यत रहेको आरोप लगाउँदै पछिल्लो न्यायाधीश नियुक्तिलगायतका विषय संवैधानिक दुर्घटनाको कारक बन्नसक्ने चेतावनी दिएका छन् ।

उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको नियुक्ति तथा अदलबदलका साथै न्यायाधीशहरुको वरियतासम्बन्धी नियमावली संशोधन विवादतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले यसलाई सामान्य रुपमा लिन नसकिने बताएका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने क्रममा ओलीले भने, ‘न्यायाधीश नियुक्ति, सरुवाका घटना समुद्रमा देखिने आइसवर्गको टुप्पोमात्रै हो । आइसबर्गको भित्री भीमकाय आकार सहजै अनुमान गर्न सकिन्छ । यो आइसबर्ग संवैधानिक दुर्घटनाको कारण बन्नसक्छ, सावधान रहनुस् तपाईंहरु ।’

पूर्वप्रधानमन्त्री ओलीले संसद विघटनलगायत आफूविरुद्धका मुद्दामा झगडिया बनेर बहस गर्ने वकिल र उनको फर्ममा काम गर्नेलाई छानीछानी न्यायाधीश नियुक्त गरिएको आरोपसमेत लगाए । शम्भु थापाको फर्ममा काम गर्ने पूर्ण राजवंशीलगायतको नियुक्तिमा उनले टिप्पणी गरेका हुन् ।

ओलीले भने, ‘धेरै कुरा किन गरौं, मेराविरुद्धको मुद्दामा उफ्री उफ्री सक्रिय भूमिका खेल्ने फर्मका सहयोगी वकिललाई न्यायाधीश बनाउनु परेको रहेछ । पारितोषिक त कहाँ कहाँबाट लम्की लम्की कति याद गरेको ? आफ्नो सेवा गरेका मान्छेको कति याद आउँदो रहेछ ।
ओलीले स्याङजा– २ मा आफैं संलग्न भएर बुथ कब्जा गर्ने तथा मरेका र विदेशमा भएकाहरुको नाममा समेत भएको मतदानलाई सदर गर्ने निर्वाचन अधिकृतलाई परीक्षामा फेल भएपछि पनि कानूनमन्त्रीले न्यायाधीश बनाएर पुरस्कार दिएकोसमेत बताए ।

पछिल्लो समय भएका न्यायाधीश नियुक्ति तथा सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिमा गठबन्धन दलको भागबन्डाबाट भावी प्रधानन्यायाधीशको रोलक्रम मिलाउन लागिएको चर्चा चलिरहेका बेला ओलीले संवैधानिक दुर्घटनाको चेतावनी दिएका हुन् ।

न्यायपालिकाबारे ओलीले भनेको एउटा प्रसंग यस्तो थियो:

बुथ कब्जा गर्ने व्यक्तिले न्यायाधीश पुरस्कार पाए । उनले कसरी न्याय दिन्छन् ? तपाईंहरुले न्यायालय कस्तो बनाउन खोजिरहनु भएको छ सम्माननीय प्रधानमन्त्रीज्यू ? धाँधली, बुथ कब्जा र लुटिएको मत न्यायालय र संसदको घाउ बन्न पुगेको छ । अहिले न्यायपालिकामा भयावह रुप लिइरहेको छ । १९ सम्भाव्य उम्मेदवारमा १८ जनापछिका १९औं नम्बरका र खुला प्रतियोगितामा फेल भएकालाई मन्त्रीको कृपामा बनाइएको छ ।

धेरै कुरा किन गरौं, मेराविरुद्धको मुद्दामा उफ्री उफ्री सक्रिय भूमिका खेल्ने फर्मका सहयोगी वकिललाई न्यायाधीश बनाउनु परेको रहेछ । पारितोषिक त कहाँ कहाँबाट लम्की लम्की कति याद गरेको ?

आफ्नो सेवा गरेका मान्छेको कति याद आउँदो रहेछ । यसैगरी हुन्छ निष्पक्ष न्यायालय ? यसैगरी बन्छ अदालत ? गठबन्धनलाई मन नपर्ने आदेश गर्ने न्यायाधीशलाई धकेलेर अपायक सरुवा गरिन्छ । यसरी न्यायाधीशको मनोबल दह्रो हुन्छ ? तपाईंहरुले विभिन्न संयन्त्रहरुको गलत ढंगको प्रयोग नगर्नुस्, यसले राम्रो नतिजा दिँदैन । अहिले सरकार र गठबन्धन खुशी होला होलान् । यो त एमालेमाथिको प्रहार हो , केपी ओलीमाथिको प्रहार हो भनेर रमाइरहेको होला ।

तर, म यो सम्मानित सदनमा गम्भीरतापूर्वक रेकर्ड गराउन चाहन्छु, यो साधारण नियुक्ति वा सरुवाको कुरा होइन । यो न्याय प्रणाली, अदालतको स्वतन्त्रता र जनविश्वाससँग जोडिएको विषय हो । तपाईंहरु अदालतको मर्यादा, स्वतन्त्रता र जनविश्वासमाथि प्रहार गरिरहनु भएको छ । यसकारण यो संविधानमाथिको प्रहार हो । यो अनुचित हस्तक्षेप हो । तपाईंहरुले न्यायालयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको हो ? यदि हो भने त्यो सम्भव छैन । हामी पनि छौं यो देशमा । हामी अदालतलाई स्वतन्त्र, सम्मानित र मर्यादित राख्न चाहन्छौं, तपाईंहरुको विभाग बन्न दिन्नौं । म यस विषयमा जिम्मेवार हुन आग्रह गर्छु । सरकारमा छउञ्जेलसम्म अनेक हतकण्डा प्रयोग गरेर बचिएला । तर, गठबन्धनले नेपाली जनतालाई जवाफ दिनुपर्नेछ एक दिन ।

अहिले पछिल्लो समय भइरहेका न्यायाधीश नियुक्ति, सरुवाका घटना समुद्रमा देखिने आइसबर्गको टुप्पोमात्रै हो । आइसबर्गको भित्री भीमकाय आकार सहजै अनुमान गर्न सकिन्छ । यो आइसबर्ग संवैधानिक दुर्घटनाको कारण बन्नसक्छ, सावधान रहनुस् तपाईंहरु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर