गण्डकी एमालेको ‘आँखोदेखी’- प्यानल उम्मेदवार छान्दै, दुवै पक्षका सचिवालयबाट लिस्ट बन्दै – Nepal Press

गण्डकी एमालेको ‘आँखोदेखी’- प्यानल उम्मेदवार छान्दै, दुवै पक्षका सचिवालयबाट लिस्ट बन्दै

पोखरा । नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्टले अधिवेशन तयारीको क्रममा पटकपटक भन्ने गर्थे- गण्डकीको अधिवेशनमा कुनै प्यानल हुँदैन । प्यानल खडा हुने अवस्था आयो भने उम्मेदवारी खारेज हुन्छ ।

तर, इन्चार्ज विष्टको यो भनाइविपरीत गण्डकीमा प्यानल बनाउने करिब निश्चित देखिन्छ । सोमबारबाट सुरू भएको गण्डकी अधिवेशनमा सुरूआतबाटै प्यानल खडा गरेर उम्मेदवारी दिने तयारी भएको छ ।

सहमतिबाट नेतृत्व चुन्ने समय बाँकी रहेपनि त्यो सम्भवना कम रहेको नेताहरूको भनाइ छ । निर्वाचन अघिदेखि नै प्यानल बनाएर निर्वाचनमा जाने तयारी भइरहेको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्ष अहिले प्यानल खडा गरेर निर्वाचनमा जाने कसरतमा छन् । गुरुङलाई उपाध्यक्ष विष्णु पौडेल र खगराजलाई महासचिव शंकर पोखरेलको साथ रहेको चर्चा यहाँ उम्मेदवार र नेताहरूले नै गरिरहेका छन् । यद्यपि यसको आधिकारिकता भने कसैले पुष्टि गर्न मान्दैनन् ।

दुवै पक्षले अहिले छुट्टाछुट्टै ‘सचिवालय’ खोलेर अगाडि बढेका छन् । उपमहासचिव गुरुङ पक्षले लेकसाइडको होटल एलेगेन्ट र खगराज पक्षले जिरो किलोको न्यू एरा पार्टी प्यालेस र सभागृह चोकमा रहेको मिड टाउन होटलमा सचिवालय बनाएका छन् । उनीहरूले आफू पक्षका नेताहरूलाई सोही ठाउँमा भेटेर छलफल गरिरहेका छन् ।

अधिवेशनको निर्वाचन प्रक्रिया मंगलबार दिउँसो ४ बजेपछि सुरू गर्ने तयारी एमालेले गरेको छ । तर, ती दुई पक्षले भने अधिवेशन अघिदेखिनै निर्वाचनका लागि प्यानल बनाउने, ‘गुट’ परिवर्तन गराउने कसरत देखिन्छन् ।

अंकगणित हेर्दा दुवै पक्षका उस्तैउस्तै प्रतिनिधि रहेको एमाले नेताहरू बताउँछन् । स्थायी कमिटी सदस्य किरण गुरुङ पक्षले पनि जितमा प्रभाव पार्ने उनीहरूको दाबी छ । किरणको समर्थन अन्ततः खगराज पक्षलाई हुने दाबी छ । त्यसो त गण्डकीको चुनावमा लुम्बिनी इन्चार्ज तथा केन्द्रीय कमिटी सचिव पद्मा अर्याल फ्याक्टर पनि महत्वपूर्ण छ ।

अधिवेशनका लागि प्रदेशभरबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनका लागि प्रतिनिधि छनोट चरणमा यी दुई पक्षबीच प्रतिस्पर्धासमेत भएको थियो ।

कास्कीको रुपा गाउँपालिकाबाहेक प्रदेशका ८४ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भयो । तर, सर्वसम्मत चयन सकस नै हुन पुग्यो । प्रतिनिधि छनोटपछि दुवै पक्षले आफू अनुकूलका धेरै भएको दाबी गर्दै आएका छन् ।

उपमहासचिव गुरुङ पक्षले प्रतिनिधिको ७० प्रतिशतभन्दा धेरै आफ्नो पक्षको प्रतिनिधि रहेको दाबी गर्छन् भने स्थायी कमिटी सदस्य अधिकारी पक्षको पनि ६५ प्रतिशतभन्दा बढी आफ्नो पक्षको प्रतिनिधि रहेको दाबी गर्छन् ।

गुरुङ पक्षबाट हालका अध्यक्ष नवराज शर्मा र खगराज पक्षबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी उम्मेदवार बन्ने करिब निश्चित भएको छ । गुरुङ पक्ष हालको समितिलाई समावेशी बनाएर दोहोर्‍याउन चाहन्छ ।

गुरुङ पक्षबाट सचिवमा लमजुङका धनञ्जय दवाडीको प्रवल सम्भावना छ । उपमहासचिव गुरुङ र केन्द्रीय सदस्य मायानाथ लमजुङका हुन् । पृथ्वीसुब्बा गण्डकीको मुख्यमन्त्री हुँदा मायानाथ प्रमुख सचेतक थिए ।

मायानाथलाई अध्यक्ष उम्मेदवार बनाएर गुरुङलाई जिल्लामा कमजोर बनाउने रणनीतिमा केही नेता लागेको आरोप छ । लमजुङका कतिपय नेताले केन्द्रीय सदस्य पद जोखिममा पारेर चुनाव नलड्न उनलाई सुझाएका छन् ।

खगराज पक्षको सचिवमा पद्मा अर्यालनिकट रश्मी आचार्यको प्रवल सम्भावना देखिन्छ । रश्मी सचिवबाट उम्मेदवार बन्दा पद्माको समर्थन आफ्नो पक्षमा आउने दावी खगराज पक्षको छ । रश्मी अनेरास्ववियुको उपाध्यक्षबाट विदा भएका नेता हुन् ।

केन्द्रीय सदस्य मायानाथले विगतको अनुभव र पृष्ठभूमिले प्रदेश अध्यक्ष भएर काम गर्न सक्छु भन्ने विश्वासका साथ अगाडि बढेको बताउँदै आएका छन् भने हालका अध्यक्ष नवराजले पूरा रुपमा काम गर्न नपाएको भन्दै एक कार्यकाल अध्यक्ष भएर काम गर्न इच्छा रहेको बताउँदै आएका छन् ।

केन्द्रीय सदस्य राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी, तनहुँका पूर्वसांसद सदस्य केदार सिग्देल, स्याङ्जाका सोभियत ढकालले पनि प्रदेश अध्यक्षमा दाबी गर्दै आइरहेका छन् । तर, प्यानल बन्दा उनीहरू एक्लै उम्मेदवार बन्ने सम्भावना छैन ।

गण्डकीमा पीएस गुरुङको प्रभाव बढी रहेको मानिन्छ । तर, खगराज पक्षमा पनि पद्मा अर्याल, किरण गुरुङ र प्रमुख सचेतक पदम गिरीलगायतका नेताहरू खुलेको अवस्थामा प्रतिस्पर्धा निकै पेचिलो बन्ने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर