अनमोललाई थुनामुक्त गर्न प्रहरीले चलाएको ‘दफा १५’ – Nepal Press

अनमोललाई थुनामुक्त गर्न प्रहरीले चलाएको ‘दफा १५’

काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका चर्चित अभिनेता अनमोल केसी प्रहरी हिरासतमा राख्न अदालतबाट थुना अनुमति लिएकै साँझ आइतबार छुटे ।

काठमाडौं जिल्ला अदालतले केसीलाई थुनामा राखेर अनुसन्धान गर्न ३ दिनको समय दिएको थियो । तर, उनी पक्राउ परेको आइतबार नै ३ दिन पुगेकाले थुनामा राखिरहन सोमबार फेरि अदालत उपस्थित गराउनुपर्ने हुन्थ्यो । काठमाडौं प्रहरी परिसरले दिउँसो थुनाका लागि म्याद लिएर राति केसीलाई हाजिरी जमानीमा छाड्यो ।

मुद्दा नै नचलाउनुपर्ने घटनामा पक्राउ गरेको भन्दै आलोचित बनेको प्रहरीले चाँडै गल्ती सच्याएको टिप्पणी भइरहेको छ । चलचित्र सम्बद्ध संघसंस्थाहरुको मध्यस्थतामा समाधान खोज्नुको साटो सीधै प्रहरीमा उजुरी हालेर एक कलाकारलाई जेल पठाउने प्रयास गर्दा निर्देशक थापासमेत आलोचनामा तानिएका छन् । अनमोलले कुनै लिखित सम्झौतासमेत नगरेकाले निर्माताको उजुरी आफैंमा कमजोर थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार अनमोललाई पक्राउ गरेको थियो । निर्देशक थापाकी पत्नी तथा निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेस्की लिएर फिल्म खेल्न नमानेको र आफ्नो करिब एक करोड रुपैयाँ नोक्सान गरेको आरोपसहित अनमोलविरुद्ध जाहेरी दिएकी थिइन् ।

सामान्यतया फौजदारी कसुरमा जाहेरी परेपछि पक्राउ परेका व्यक्तिलाई बढीमा २५ दिनसम्म हिरासतमा राखेर सरकारी वकिलमार्फत अदालतमा अभियोगपत्र दायर गरिन्छ । तर, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ मा अनुसन्धानका क्रममा पक्राउ गरिएका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्नसक्ने अधिकार दिएको छ ।

त्यसमा भनिएको छ, ‘अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ ।’

प्रहरीले अनमोललाई उनको आफन्तको जिम्मा लगाएर छाडेको हो । पक्राउ परेका व्यक्ति वा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिहरु सबै दोषी नहुन सक्छन् भनेर उनीहरुविरुद्ध प्रमाण नपुगेको अवस्थामा आवश्यक पर्दा छाड्न सकियोस् भनेर कानूनमा उक्त व्यवस्था गरिएको छ ।

प्रमाण पुगेर पनि बाहिर राख्दा अनुसन्धान प्रभावित हुने नदेखिएमा बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने यो दफाले कल्पना गरेको छ । काठमाडौं प्रहरी परिसरले यही व्यवस्थालाई टेकेर अनमोललाई हाजिरी जमानीमा थुनामुक्त गरेको हो ।

अनुसन्धान बाँकी नै छ र प्रमाण पुगेको अवस्थामा उनीविरुद्ध अदालतमा अभियोगपत्र दर्ता हुनेछ । काठमाडौं प्रहरी परिसर प्रवक्ता कुमुद ढुंगेलले बाहिर राख्दा पनि अनुसन्धान प्रभावित नहुने र प्रमाणहरु नष्ट हुने सम्भावना नदेखिएकाले अनमोललाई हाजिरी जमानीमा छाडिएको बताए ।

‘आरोपितलाई थुना बाहिर राखेर अनुसन्धान गर्न सकिने कानूनले नै परिकल्पना गरेको छ । अनमोललाई बाहिर राखेर अनुसन्धान गर्दा कुनै असर पर्ने देखिएन’, एसपी ढुंगेल भन्छन् ।

सामान्यतया प्रहरी अधिकारीहरु कानूनको यो दफा प्रयोग गर्न तयार हुँदैनन् । अभद्र व्यवहारकै मुद्दा किन नहोस्, आरोपित पक्राउ गरेपछि २५ दिनसम्म हिरासतमा राखेरमात्र अभियोजन प्रक्रिया अगाडि बढाउने गरेको देखिन्छ । चेक बाउन्स जस्तो मुद्दामा पनि आरोपितहरुलाई पक्राउ गरेर २५ दिनसम्म हिरासतमा राखेरमात्र अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउँछन् । चेक बाउन्समा त मिलापत्र गर्न सकिने कानूनी व्यवस्थासमेत रहेको छ ।

दोषी-निर्दोष छुट्याउने काम अदालतको भएकाले जोसुकै व्यक्तिलाई नियन्त्रणमा लिने र हिरासतमा राख्ने कुराको विरोध हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो कतिपय निकायले बाहिर राखेरै अनुसन्धान गरी अदालतमा अभियोगपत्र लैजान्छन् । सम्पत्ति शुद्धीकरण विभागले पनि धरौटीमा बाहिर राखेर अनुसन्धान गर्ने गरेको देखिन्छ ।

दुई रात प्रहरी नियन्त्रणमा अनमोल

आफूलाई सुरुमा भनिएको स्क्रिप्ट फेरिएको भन्दै अनमोलले सुटिङमा सहभागी हुन अस्वीकार गर्दै आएका थिए । त्यसपछि फिल्म निर्माता पक्ष अनमोलका कारण आफ्नो करिब एक करोड रुपैयाँ हानि भएकाले त्यसको क्षतिपूर्ति पाउनुपर्ने माग राखेर उनीविरुद्ध प्रहरीमा पुगेको थियो ।

‘मलाई एउटा स्क्रिप्ट देखाएर सहमति गरियो र एड्भान्सका रुपमा १० लाख रुपैयाँ दिइयो । तर, सुटिङ हुने बेलामा स्क्रिप्टमा धेरै फेरबदल भएको थियो । मैले आफूलाई सुरुमा भनिएकै स्क्रिप्टमा काम हुनुपर्ने बताएको थिएँ’, अनमोलले प्रहरीसँगको सोधपुछमा भनेका थिए ।

स्रोतका अनुसार फिल्म खेल्नेसम्बन्धी अनमोल र निर्माता पक्षबीच कुनै लिखित सम्झौता भएको थिएन । निर्माण पक्षले गरेको उजुरीपछि बोलाउँदा आलटाल र बेवास्ता गरेपछि उनलाई नियन्त्रणमा लिनुपर्ने अवस्थामा पुगेको काठमाडौं उपत्यका अपराध कार्यालयले बतायो ।

प्रहरीको निगरानीमा अनमोल दुई रात अस्पतालमा बसे । आफूलाई अप्ठेरो भएको बताएपछि प्रहरीले अनमोललाई अस्पताल पुर्‍याएको थियो ।

आइतबार काठमाडौं प्रहरी परिसरमा अनमोललाई म्याद थपका लागि तयारी भइरहँदा उनी अनुसन्धान कक्षको एउटा कुनामा बसेर बयान दिइरहेका थिए । मास्क लगाएका अनमोल एकोहोरिए जस्ता देखिन्थे । अनुहार मलिन थियो ।

बुवा भुवन केसी नेपालमा नभएकाले पनि अनमोलको आत्मविश्वास कमजोर भएको हुनसक्छ । भुवन केही दिनअघि मात्रै युरोप गएका थिए । उनी अक्टोबर ४ तारिखमा नेपाल आइपुग्ने बुझिएको छ । आमा सुस्मिता बमजन पनि विदेशमै बस्दै आएकी छन् । काका, अन्य केही आफन्त र चलचित्रकर्मीहरु आइतबार दिनभर परिसर बसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *