पार्टी एकता गर्न प्रचण्डले महेन्द्रलाई पठाएको पत्रमा बाबुरामले के लेलान् निर्णय ? – Nepal Press

पार्टी एकता गर्न प्रचण्डले महेन्द्रलाई पठाएको पत्रमा बाबुरामले के लेलान् निर्णय ?

केन्द्रीय कार्यकारिणी समितिको बैठकमा दुवै अध्यक्षसँग जवाफ माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष डा. बाबुराम भट्टराईलाई ‘बाइपास’ गरेर अर्का अध्यक्ष महेन्द्र यादवलाई पठाएको एकतासम्बन्धी पत्रका बिषयमा नेपाल समाजवादी पार्टी (नेसपा)का नेताहरुले नेतृत्वसँग जवाफ मागेका छन् ।

अध्यक्ष भट्टराईको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा नेताहरुले प्रदेशगत रिपोर्टिङको क्रममा माओवादीको पत्रबारे प्रश्न उठाएका हुन् ।

आजबाट सुरु भएको बैठकमा प्रदेशगत रिपोर्टिङ भएको नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले बताए ।

उनले भने, ‘आज बैठकमा साउनदेखि पुससम्मको ६ महिने अभियानको सबै प्रदेशबाट रिपोर्टिङ भयो । बाँकी समीक्षा, समसामयिक परिस्थिति, कार्यविभाजनलगायतको विषयमा भोलि निर्णय हुनेछ ।’

उनले आजको बैठकमा अध्यक्षद्वयबाट रिपोर्टिङ सुन्ने काममात्रै भएको बताए । उनले माओवादी केन्द्रले पार्टीका प्रथम अध्यक्षलाई बाइपास गरेर पठाएको पार्टी एकताको पत्रको विषयमा पनि नेताहरुले प्रश्न उठाएको बताए ।

पोखरेलले भने, ‘माओवादीले पठाएको पत्रको विषयमा पनि भोलि छलफल हुन्छ । रिपोर्टिङका क्रममा साथीहरुले प्रश्न उठाउनुभएको थियो ।’

उनले पार्टी ध्रुवीकरण र एकताको सवालमा अलगै एजेण्डाको रुपमा भोलि छलफल राखेको बताए ।

पोखरेलले भने, ‘बैठकमा सबैको कुरा सुनिसकेपछि भोलि दुवै अध्यक्षले जवाफ दिनुहुन्छ । सहअध्यक्ष गंगाजी पनि राजनीतिक संवाद समितिमा हुनुहुन्छ । उहाँले नै अहिले पार्टी एकताको वार्ताको संयोजन गरिराख्नुभएको छ । उहाँले पनि आफ्नो कुरा ब्रिफिङ गर्नुहुन्छ ।’

उनले पत्रको भाष्य हेर्दा माओवादीले एकता नभएर पार्टी प्रवेश गर्न आउ भने जस्तो भएको टिप्पणी गरे ।

‘उहाँहरुले वार्ता समितिको नाममा पठाउनुपर्ने हो । तर, त्यो नभएपछि त्यो पत्र र माओवादीसँगको एकताको विषयमा भोलि निर्णय गर्छ’, पोखरेलले भने ।

यसअघि माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा देव गुरुङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत रहेको पाँच सदस्यीय कार्यदल बनाएको थियो । नेसपाले सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा दुर्गा सोव र रमेशप्रसाद यादव रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो ।

तर, पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष भट्टराईबीच दूरी बढेको छ । एकता गर्न बाबुरामले माओवादी नाममा विमति राख्दै आएका छन् ।

माओवादी पार्टीको नाम फेर्न तयार हुँदासमेत पछिल्लो समय बाबुराम अनिच्छुक हुँदै आएका छन् । माओवादीले आफूलाई बाइपास गरेर अर्का अध्यक्षलाई एकताको प्रस्तावको पत्र पठाउँदा बाबुराम थप चिढिएका छन् । नेसपामा माओवादीसँग पार्टी एकता गर्ने विषयमा दुई धार छ ।

यसबारेमा थप निर्णय भोलि १२ बजे बस्ने नेसपाको बैठकले लिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर