खप्तड छेडेदह गाउँपालिका-२ मा भाइरल ज्वरो : २ जनाको मृत्यु, दर्जनौँ परिवार बिरामी


कैलाली । बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । अहिले सम्म दुई जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ परिवार बिरामी परेका छन् ।
भाइरल ज्वरोबाट खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको मृत्यु भएको छ ।
केही दिनको अन्तरालमा उनीहरूको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष विशुदेवी नाथले जानकारी दिइन् ।
उनले उपचारको लागि हिजो गाउँपालिकाको स्वास्थ्य टोली प्रभावित क्षेत्रमा पुगिसकेको र आफू सहित जिल्ला स्वास्थ्यको टोली केही घण्टामा पुग्दै गरेको पनि जानकारी दिइन् ।
गाउँमा रहेका करिब एक सय ६० बढी परिवार मध्ये धेरै जसो परिवारका सदस्यहरूमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । गाउँमा भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको छ ।
अधिकांश स्थानीयलाई १०३ डिग्री माथि ज्वरो आउने, खोकी लाग्ने, श्वास फुल्ने जस्ता लक्षण देखा देखा परेका छन् ।
भाइरल ज्वरोबाट ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगी सबैभन्दा बढी प्रभावित भएका छन् । स्वास्थ्य चौकी एक घण्टा टाढा रहेकाले उपचारमा जान निकै समस्या भएको छ ।
गाउँपालिका उपाध्यक्ष नाथले एउटा स्वास्थ्य टोली गाउँ पुगिसकेको र अर्को पुग्दै गरेको भन्दै चाडै भाइरल ज्वरो नियन्त्रण हुने विश्वास व्यक्त गरिन् ।