प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक, २४ घण्टा नपुग्दै युट्युबको शीर्ष स्थानमा (भिडियो) – Nepal Press

प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक, २४ घण्टा नपुग्दै युट्युबको शीर्ष स्थानमा (भिडियो)

 

काठमाडौं । गायक एवं सर्जक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीज पर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भागमा रूपमा सार्वजनिक गरिएको हो ।

गायक सपूतको शब्द तथा सङ्गीत रहेको उक्त गीतमा चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन् । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, नायक गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ ।

आरन प्रोडक्सनले प्रस्तुत गरेको उक्त गीत गायक सपूतको आफ्नै युट्युब च्यानलबाट शनिवार राति सार्वजनिक भएको हो । दलित समुदायको महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश गीतले दिन खोजेको गायक सपूतले नेपाल प्रेससँग बताए । उनका अनुसार नेपाली समाजको संवेदनशील र महत्त्वपूर्ण कथालाई तीज गीतका माध्यमबाट बाहिर ल्याइएको हो । विषय, प्रस्तुति र निर्देशनका हिसाबले आफ्ना लागि पनि यो गीत विशेष रहेको सपूतले बताए ।

दुई वर्षअघि सार्वजनिक तिज गीत ‘कुरा बुझ्न पर्च’मा सपूतले महिलाको सोच र आत्मविश्वासलाई प्रस्तुत गरेका थिए । लैङ्गिक समानताको विषयलाई गीतले समेटेको थियो । उक्त गीतमा पनि नायिका स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ ।

यसैबीच ‘जाले रुमाल फाट्यो’ गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युब  ट्रेडिङको शीर्ष स्थानमा उक्लिएको छ । सार्वजनिक भएको २४ घण्टा पुग्दा १२ लाख भन्दा बढीले युट्युवमा हेरिसकेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक प्रकाश सपूतका यसअघि ‘गलबन्दी’, ‘बोलमाया बोल’, ‘फुटेका चुरा’, ‘बदला बरीलै’, ‘मेरो पनि होइन र यो देश’, ‘पर–पर छु’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराजा’लगायत गीत सार्वजनिक भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर