यसर्थ माधव नेपालले आलोकनगरमा ताल्चा ठोकेर कोटेश्वरमा ओछ्यान लगाउँदैनन् – Nepal Press

यसर्थ माधव नेपालले आलोकनगरमा ताल्चा ठोकेर कोटेश्वरमा ओछ्यान लगाउँदैनन्

एमालेबाट विद्रोह गरेर गठन भएको नेकपा एकीकृत समाजवादीले अलग पार्टीको हैसियतमा दोस्रो वर्ष गुजारेको छ । स्वभावैले विद्रोह भएका कारण त्यसबारे राम्रा, नराम्रा टिप्पणी बजारमा चल्छन् नै ।

मुख्यतः तीन प्रवृत्तिभित्र एकीकृत समाजवादी बाँधिएको छ । पहिलो हो, कतिपय भित्री र बाहिरी तत्वमा यो पार्टी नबनोस्, बन्दाबन्दै भत्कियोस् भन्ने उत्कट चाहना छ । दोस्रो हो, कतिपयमा विद्रोह गरिसकेपछि निष्कर्षमा पुगौं भन्ने हुटहुटी जागेको छ । र, तेस्रो हो, हिजो एमालेमा हुँदा सधैं किनारामा परियो भन्दै ‘मौका यही हो’ भनेर हुने/नहुने हर्कत गरिरहेका छन् ।

यीमध्ये दोस्रो प्रवृत्ति पार्टीभित्र बलशाली भएर आएको छ । यद्यपि, बाहिरी दुनियाँमा त्यसको चर्चा, प्रशंसा र व्याख्या विरलै हुने गरेको छ । पार्टी ७ प्रदेश, ७७ जिल्ला र ७५३ पालिकामा पुगिसकेको छ । प्रवासमा पार्टी बन्न बाँकी कुनै ठाउँ छैन ।

एमालेसँग भए जति जनसंगठन विद्रोहमा आएर रुपान्तरित भएका छन् । त्यसैले संरचनागत रुपमा एकीकृत समाजवादी हिजोको एमालेभन्दा कुनै कुरामा कम छैन । सहभागिताका दृष्टिले हेर्दा स्वभावैले ‘विद्रोह’ भनिसकेपछि त्यहाँ हिम्मत बोकेर हिँड्ने मानिसको कमी हुन्छ ।

‘विद्रोह’ मा ‘पाइने’ वा ‘हुने’ कुराको अभाव वा न्यूनता हुन्छ । अवसरवादले गाँजेको नेपाली समाज र राजनीतिको चस्माले हेर्दा आज एकीकृत समाजवादी जुन ठाउँमा उभिएको छ, जति मान्छे उभिएका छन्, त्यो सानो संख्या र उपस्थिति होइन । कतिपय उपस्थिति प्रतिनिधिमूलक छन् त कतिपय परिणाममूलक छन् ।

एमालेसँग भए जति जनसंगठन विद्रोहमा आएर रुपान्तरित भएका छन् । त्यसैले संरचनागत रुपमा एकीकृत समाजवादी हिजोको एमालेभन्दा कुनै कुरामा कम छैन । सहभागिताका दृष्टिले हेर्दा स्वभावैले ‘विद्रोह’ भनिसकेपछि त्यहाँ हिम्मत बोकेर हिँड्ने मानिसको कमी हुन्छ ।

राजनीतिक दलभित्र मान्छेहरु आउने-जाने क्रम चलिरहन्छ । अहिले रमाइलो के भएको छ भने एमालेसँग चित्त दुःखे समाजवादीतिर लाग्ने, समाजवादीतिर चित्त दुःखे एमालेतिर लाग्ने । यसले एउटा राजनीतिक पार्टीलाई क्षतिसँगै पुर्ताल पनि गरिरहेको हुन्छ ।

माधव-झलनाथ फ्याक्टर

अहिले बजारमा गर्मागर्मीसँग चलेको चर्चा हो, माधव-झलनाथकै बीचमा मतैक्य छैन । यो सत्य हो कि कम्युनिष्ट आन्दोलनभित्र आलोचनात्मक चेत भएन, विचारमा विविधता भएन र सारमा एकरुपता भएन भने त्यहाँ समस्या आउँछ ।

सारमा एकीकृत समाजवादीभित्र एकरुपता छ, विचारको विविधता पनि बाक्लोसँग झाँगिएको छ । त्यसैले माधव नेपालले विद्रोहलाई जसरी बुझिरहेका छन्, झलनाथ खनालले पनि त्यसरी नै बुझिरहेका छन् । किन विद्रोहमा आयौं भन्नेमा दुबै नेताबीच कुनै भ्रम, ग्लानी वा कुण्ठा छैन । जे गरियो, ठीक गरियो भन्नेमा मतैक्य छ ।

कार्यशैलीगत रुपमा के गर्ने, कसरी जाने जस्ता कुरामा फरक फरक दृष्टिकोण आएका छन् । यी नेताका बीचमा विद्रोह ठीक छ कि छैन भन्ने बहस चलेको छैन । एमाले वा कुनै शक्तिसँग आत्मसमर्पण गर्ने कि नगर्ने भन्नेमा पनि बहस केन्द्रित छैन । पार्टी बनाउने कि नबनाउने भन्नेमा पनि कुनै विमति छैन । बाँकी विषयमा देखिने विविधताले पार्टी, संगठन निर्माणमा कुनै समस्या आउँदैन ।

अर्थात्, मूल विषयमा स्पष्ट भइसकेपछि सहायक विषयहरु प्रमुख हुँदैनन् । ती बहसका माध्यमबाट निष्कर्षमा पुग्न आएका विचारहरु प्रवाहित गर्ने आआफ्नै तौरतरिका छन् । एकीकृत समाजवादीभित्र त्यस किसिमको विचार प्रवाहको रफ्तार जरुर बढेको छ । त्यसले कम्युनिष्ट पार्टीलाई कतै पनि क्षति पुर्‍याउँदैन । बरु, उन्नत बनाउँदै लैजान्छ ।

कुन बाटो ठीक ?

सैद्धान्तिक विमतिका कारण एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी बनाइएको होइन । एमालेको सुन्दर सैद्धान्तिक, राजनीतिक र सांगठनिक विरासतमाथि केपी ओलीको व्यक्तिवाद हावी हुँदा त्यसभित्रको सैद्धान्तिक, राजनीतिक र सांगठनिक सौन्दर्य कुरुप बन्न पुग्यो । त्यसले सिद्धान्त र राजनीतिकै हुर्मत लिने तहको काम ग¥यो । त्यसका विरुद्ध भित्रै गरिएका, लडिएका संघर्षले पार्टीलाई ओलीकरणबाट मुक्त गर्न सकिएन ।

अहिले एकीकृत समाजवादीसँग संघीय सरकारमा दुई मन्त्री, एक राज्यमन्त्री, केही राजनीतिक नियुक्ति, प्रदेशमा पनि मन्त्री र त्यस्ता अवसर हात परेको छ । ती सबै कुरालाई छोडेर, विद्रोहमात्रै गर्छु भनेर जाने हो भने विद्रोहकै भविष्य संकटमा पर्ने अवस्था छ ।

विद्रोह नगर्दा पनि ओलीद्वारा माधव-झलनाथहरु सडकतिर मिल्क्याइने भए । जसको नेतृत्वले एमाले पार्टी बनायो, यहाँसम्म ल्याइपुर्‍यायो, कम्युनिष्ट पार्टीका रुपमा राष्ट्रिय राजनीतिभित्र एमालेको गहकिलो उपस्थिति जुन नेतृत्वका कारण सम्भव भयो, त्यही नेतृत्वलाई फ्याँक्ने र दुत्कार्ने काम ओलीबाट भयो । यसर्थ माधव नेपालले विद्रोहको झण्डा बोक्नुपर्‍यो । त्यसैले विद्रोहको बाटो सही छ, अनिवार्य थियो ।

विद्रोहमा आइसकेपछि कसरी अगाडि बढ्नुपर्छ ? यस्तो बहस पनि पार्टीभित्र चल्ने गरेको छ । सरकारमा बस्ने कि नबस्ने ? जनताको बहुदलीय जनवादलाई स्वीकार्ने कि निषेध गर्ने ? यस्ता बहस चलिरहेका छन् ।

हिजोको एमालेको अभ्यास थियो, अवसरका नाममा ‘अति’ नगर्ने, तर अवसरलाई उपयोग गरेर परिणामतर्फ अगाडि बढ्ने । कतिपय अवसरहरु यस्ता हुन्छन् कि जसलाई उपयोग गरिएन भने परिणाम हासिल गर्ने यात्रा नै अप्ठेरोमा पर्छ । तर, अवसर पाइयो भन्दैमा हुने, नहुने सबै काम र कुरा गर्नु पार्टी, आन्दोलन र स्वयंका हकमा प्रत्युत्पादक हुन्छ ।

अहिले एकीकृत समाजवादीसँग संघीय सरकारमा दुई मन्त्री, एक राज्यमन्त्री, केही राजनीतिक नियुक्ति, प्रदेशमा पनि मन्त्री र त्यस्ता अवसर हात परेको छ । ती सबै कुरालाई छोडेर, विद्रोहमात्रै गर्छु भनेर जाने हो भने विद्रोहकै भविष्य संकटमा पर्ने अवस्था छ ।

कुन पृष्ठभूमिमा विद्रोह भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । जति बेला देशको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र त्यसले निर्माण गरेका संरचनाहरु भंग हुने खतरातर्फ मुलुक जाँदै थियो, त्यसबाट मुलुकलाई जोगाउन विद्रोह भएको हो ।

त्यसैले लोकतान्त्रिक गणतन्त्र र त्यसले जन्माएको संविधानका पक्षमा गरिएको विद्रोहमा त्यो व्यवस्था र संविधानले दिएका सुविधाहरु अस्वीकार गरेर जान्छु भन्ने कुरा आफैंमा नैतिक हुँदैन । त्यसैले एकीकृत समाजवादीले सरकार छोड्ने भूल गर्दैन, गर्नुहुँदैन ।

फेरि यो पार्टी न मोहन वैद्य (किरण) को जस्तो न त नारायणमान बिजुक्छेंको जस्तो सानो घेराभित्र चल्ने गरी बनाइएको हो । यो सिर्जनशील र उन्नत कम्युनिष्ट आन्दोलन निर्माणको अभियान हो । त्यसैले चुनाव बहिष्कार गर्ने, सरकार छोड्ने जस्ता आदर्शले अबको मुलुक, कम्युनिष्ट आन्दोलन चल्दैन ।

हो, सत्ता साझेदारीमा समस्या छन् । गठबन्धन निर्माण गर्ने र त्यसलाई जीवित राख्ने कुरा आफैंमा चुनौतीपूर्ण हुन्छ । एउटै पार्टीभित्र भिन्नभिन्न विचार हुन्छन् र त्यसलाई मिलाउने चुनौती खडा भइरहेको हुन्छ भने फरक विचार, दर्शन र पृष्ठभूमिमा आधारित दलबीचको गठबन्धन र सहकार्य सहज हुने त कुरै भएन । ती चुनौती वा समस्याहरुकै बीचबाट संघीय र प्रदेश संसदमा केही सांसदको उपस्थिति सम्भव भयो । संघीय र प्रदेश सरकारमा निश्चित व्यक्ति मन्त्री भए । ती उपलब्धि हासिल गर्ने चरण कति झन्झटिलो थियो भन्ने कुरा सम्झिने हो भने त्यत्रो दुःखले पाएका चिजहरु छाडेर जाऔं भन्नु आफैंमा न्यायसंगत कुरा हुँदैन । त्यसैले एकीकृत समाजवादी सरकार, सदन र सडक, सबैतिर छरिनुपर्छ ।

एमसीसीबारे बहस छ । व्याख्यात्मक टिप्पणीका साथ पारित गरिएको एमसीसी अमेरिकी सरकारले जस्तो पठायो, त्यस्तै वा हुबहु पारित नहुने ठाउँमा पुर्‍याएको एकीकृत समाजवादीले नै हो ।

जबजलाई थान्को लगाएर, त्यसलाई बिर्सिने कुरा भएको छैन । जबजकै जगमा उभिएर वा त्यसको मर्ममै आधारित भएर परिवर्तित सन्दर्भका कार्यभार पूरा गर्ने गरी अर्को नामको कार्यक्रम ल्याउनुपर्छ भन्नेमा पार्टीभित्र मतैक्य छ ।

व्याख्यात्मक टिप्पाणीका साथमा एमसीसी पारित गर्ने नेताहरुले त्यसका विरुद्ध सडकमै संघर्ष गर्नुपर्छ भन्ने कुरा गर्न सुहाउँदैन । बरु, व्याख्यात्मक टिप्पणीलाई अमेरिकी सरकार वा प्रशासनले स्वीकार गरेको छ कि छैन ? छैन भने त्यसमा खबरदारी गर्ने, टिप्पणीमा उल्लेखित अडानविपरीत कार्यक्रमहरु सञ्चालनमा नल्याउने जस्ता कुरामा दबाबमूलक भूमिका खेल्नुपर्छ । तर, सडकमा गएर त्यही नाममा संघर्ष गर्छु भन्ने कुरा यति बेला गर्नु नैतिक होइन ।

जबजको सान्दर्भिकता सकियो कि छ ?

जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता अझै छ कि सकियो ? यस्तो पनि बहस हुने गरेको छ । त्यसको मूल मक्सद अर्थात् जनवादी क्रान्ति सम्पन्न भइसकेको छ । तर, त्यही नाममा जबजको सान्दर्भिकता समाप्त हुन्छ कि हुँदैन ?

यसबारे पार्टीको छैठौं केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव नेपालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा भनिएको छ, ‘(जबज) दलाल नोकरशाही पूँजीवादविरोधी कार्यक्रम पनि हो । यो राजनीतिक कार्यक्रममात्र पनि होइन, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको कार्यक्रमसमेत हो । यसले अगाडि सारेका आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका कार्यक्रमहरू व्यवहारमा लागू भइसकेका छैनन् । जबजले जनवादबाट समाजवादमा पुग्न तीन चरण भएर अगाडि बढ्ने जुन मार्गचित्र प्रस्तुत गरेको छ, ती तीन चरणमा हामी लोकतान्त्रिक मार्गबाटै हिँड्ने छौं । हामीले कम्युनिष्ट पार्टी लोकतान्त्रिक प्रतिस्पर्धाबाट समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न चाहन्छ भन्ने मान्यता राखेका छौं ।’

त्यसैले जबजलाई थान्को लगाएर, त्यसलाई बिर्सिने कुरा भएको छैन । जबजकै जगमा उभिएर वा त्यसको मर्ममै आधारित भएर परिवर्तित सन्दर्भका कार्यभार पूरा गर्ने गरी अर्को नामको कार्यक्रम ल्याउनुपर्छ भन्नेमा पार्टीभित्र मतैक्य छ ।

रामकुमारी फ्याक्टर

पार्टीकी सचिव रामकुमारी झाँँक्रीबारे बजारमा चल्ने गरेका अनेक टिप्पणी छन् । उनले ‘आजै’, ‘भोलि नै’, ‘छिट्टै नै’ पार्टी छाड्ने भइन् भन्ने तहका चर्चाले बजार गर्माउने गरेको छ ।

रामकुमारी झाँक्री बजारले बुझे जस्तो नेपाली राजनीतिभित्रको कुनै ‘पिपलपाते’ पात्र हैनन् । ‘पिपलपाते’ अर्थात् सामान्य हावाको बेगले यता–उता हुने व्यक्ति हैनन् । समकालीन नेपाली राजनीतिमा उनको पुस्ताभित्र उनी जत्तिको वैचारिक चेत, सांगठनिक पृष्ठभूमि र लगनशीलताले बनेका महिला विरलै पाइन्छन् ।

एमालेबाट विद्रोह गरिए पनि हामीसँग थुप्रै ‘एमालेपन’ साथमै आएको छ । हाम्रा जिउ, कपडा र अंगप्रत्यंगमा आज पनि कता कता एमाले–एमाले गन्हाइरहेको छ । एमाले जस्तो थियो, त्यस्तै हुन यो विद्रोह गरिएको होइन । एमालेभन्दा उन्नत, विचारशील, सांगठनिक र पद्धति पक्षधर हुन गरिएको विद्रोहमा पुराना प्रवृत्तिको घुलमिल जरुर छ ।

यद्यपि, मन्त्री हुनुअघि र पछिको उनको व्यक्तित्वमा केही बदलाव आयो । त्यस्तो हुनुका पछाडि कतिपय उनकै कार्यशैलीगत कमजोरी, कतिपय पार्टी नेता-कार्यकर्ताको व्यवहार, बोली हुनसक्छ । अरु थुप्रै व्यक्तिमा झैं उनमा पनि केही वितृष्णा होलान् ।

किनभने एमालेबाट विद्रोह गरिए पनि हामीसँग थुप्रै ‘एमालेपन’ साथमै आएको छ । हाम्रा जिउ, कपडा र अंगप्रत्यंगमा आज पनि कता कता एमाले-एमाले गन्हाइरहेको छ । एमाले जस्तो थियो, त्यस्तै हुन यो विद्रोह गरिएको होइन । एमालेभन्दा उन्नत, विचारशील, सांगठनिक र पद्धति पक्षधर हुन गरिएको विद्रोहमा पुराना प्रवृत्तिको घुलमिल जरुर छ । तर, त्यसको स्तर न्यून छ ।

निराश नै हुनुपर्ने गरी पार्टीभित्र ‘एमाले’ गन्हाएको छैन । रामकुमारीको हकमा पार्टी कार्यकर्ताको एउटा पंक्ति ‘समाजवादी’ भएर हैन, ‘एमाले’ को शैलीमा टीकाटिप्पणी गर्न तल्लिन भयो । त्यसैले उनी केही हदसम्म निराश भइन् होला । जसले साथ देलान् भन्ने विश्वास उनीसँग थियो, त्यो पंक्ति पर्याप्त नभएको हुनसक्छ ।

मन्त्री भएपछि उनीमाथि भएका अनेक टीकाटिप्पणीमा उनको वचाउ गर्न एकीकृत समाजवादीको युवा पंक्ति जति परिचालित हुनुपर्थ्यो, सायद त्यस्तो भएन । उनी निराश हुनुको कारण त्यो पनि हुनसक्छ । कोही मान्छे एमालेमा फर्किन्छ कि फर्किंदैन, एमाले छाडेर कोही मान्छे एकीकृत समाजवादीमा जान्छ कि जाँदैन भन्ने कुरा व्यक्तिको विवेकमा निर्भर हुन्छ । बजारले भन्दैमा हुँदैन ।

रामकुमारीले एमालेसँग केही डिल गरिन् कि गरिनन् भन्ने कुरा पनि धेरै चर्चा गर्नु जरुरी छैन । एमालेहरुले एकीकृत समाजवादीका नेता–कार्यकर्तालाई २४ सैं घण्टा विभिन्न शैलीमा फकाइरहेका, प्रलोभन दिइरहेका, धम्क्याइरहेका हुन्छन् । केन्द्रकी रामकुमारीको त के कुरा, चितवनमा दिलकुमारी, सिन्धुपाल्चोकमा सीताकुमारी, सुर्खेतमा हरिकुमारी, झापामा सविताकुमारीसम्मलाई त्यसो गरिरहेका छन् । त्यसैले त्यस्ता बहस बेकार छन् ।

कथंकदाचित रामकुमारी वा उनी जस्तै अरु कुनै नेताले पार्टी छाडेछन्, एमालेमा गएछन् भने पनि माधव नेपाल अलोकनगरको पार्टी अफिसमा ताल्चा ठोकेर कोटेश्वरमा ओछ्यान लगाएर सुत्नेवाला छैनन् । किनभने यो विद्रोहको अर्थ र औचित्य महान छ ।

चुनावमा पार्टीले थ्रेसहोल्ड कटाएन । तर, तीन लाखको छेउमा समानुपातिक भोट ल्याएको पार्टी हो । एक्लो माधव नेपालको अनुहारलाई जनताले दिएको त्यो मत ख्यालख्याल होइन ।

पार्टी बनाएको एक वर्षमा प्रचार गर्नुपर्ने मान्छे (नेता) हरु शहरतिरै हल्लिँदा, गठबन्धनमा चुनाव लडेकाहरुले समानुपातिकको भोट नमाग्दा, जम्माजम्मी चुनावको ढ्वाङ थापेकै भरमा तीन लाखभन्दा केही हजार कम भोट पाउनु ‘थोरै’ होइन ।

कम्तीमा एक वर्षअगाडि तीन लाख जनताले एकीकृत समाजवादी पार्टी छ भन्ने कुरा थाहा पाएका रहेछन् भने पनि अहिलेसम्म त कम्तीमा सात-आठ लाख जनतालाई यो पार्टी छ भन्ने थाहा भयो होला । यसर्थ, व्यक्तिहरु आउने-जाने कुराले विद्रोहको औचित्य र गन्तव्यलाई केही असर पार्दैन ।

(सुवेदी नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका अध्यक्ष हुन् ।)


प्रतिक्रिया

One thought on “यसर्थ माधव नेपालले आलोकनगरमा ताल्चा ठोकेर कोटेश्वरमा ओछ्यान लगाउँदैनन्

  1. विश्लेषण राम्राे छ । धन्यवाद । नेपालकाे कम्युनिस्ट पार्टीको माैलिक चरित्रसाथ याे पार्टी सुदृढ् र सुसंगठित हुनुपर्ने मा पनि केही थप भए सुनमा सुगन्ध हुनेथियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *