विराटनगरमा आज हुने रथ यात्रामा ५ लाख सहभागी हुने आयोजकको दाबी, ५ हजार प्रहरी परिचालित – Nepal Press

विराटनगरमा आज हुने रथ यात्रामा ५ लाख सहभागी हुने आयोजकको दाबी, ५ हजार प्रहरी परिचालित

विराटनगर । विराटनगरमा आज निकालिने रथयात्राको ५५ औँ संस्करणमा ५ लाख बढी सहभागी हुने अनुमान गरिएको छ । ५५ वर्षअघि देखि विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिएको छ । वि.स.१९८८ मा खट यात्राबाट यो उत्सव विराटनगरमा सुरु भएको हो ।

२०२४ सालदेखि खट यात्रा रथयात्रामा परिणत भएको हो । विराटनगरको उत्सवको रूपमा पहिचान बनाइको रथ यात्रामा नेपाल र भारतबाट ५ लाख भन्दा बढी श्रद्धालु आउने रथ यात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । आजको रथ यात्रामा विभिन्न नगरका मेयरहरू पनि सहभागी बन्दै छन् ।

‘यस पटकको रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ’, मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले भने ‘विराटनगरको सांस्कृतिक र धार्मिक वैभव बनेको रथयात्रा भव्य तुल्याउन हामी सबैमा अपिल गर्दछौँ ।’

कोरोना महामारीका दुई वर्ष भने परम्परा कायम राख्न खट यात्रा मात्रै निकालिएको थियो । आयोजक समितिका अनुसार यस पटक विराटनगरको राधाकृष्ण मन्दिर तिन पैनीबाट सुरु हुने रथयात्रा ट्राफिक चोक–रोड शेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ ।

जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित हुने जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार पाँच हजार सुरक्षाकर्मीले रथयात्रालाई सुरक्षा प्रदान गर्नेछन् ।

राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले सर्वसाधारणलाई ११ बुँदे सुझाव दिँदै सूचनासमेत जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले एक सूचना जारी गर्दै राधाकृष्ण रथयात्रामा लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको उपस्थिति हुने र उक्त समारोहमा हुने भिडभाडको फाइदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमार लगायतका अवाञ्छित गतिविधि हुनसक्ने जनाएको छ ।

यस्तै रथयात्राका क्रममा भाग दौड मच्चिई मानवीय दुर्घटना हुनसक्ने, बालबच्चाहरू हराउन सक्ने, वृद्ध वृद्धाहरू घाइते हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले ११ बुँदे सूचना जारी गरेको हो ।

प्रहरीले प्रभावकारी सुरक्षा व्यवस्थाको लागि भन्दै बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामाग्रीहरू साथमा नल्याउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *