कांग्रेसमा रस्साकस्सी : शशांकलाई देउवाको ‘ग्रिन सिग्नल’पछि टीम निर्माणमा जुटे शेखर-गगन – Nepal Press

कांग्रेसमा रस्साकस्सी : शशांकलाई देउवाको ‘ग्रिन सिग्नल’पछि टीम निर्माणमा जुटे शेखर-गगन

इतर पक्षको भेलामा सहभागी भएपछि प्रदीप पौडेल भन्छन्- मुद्दा मिल्नेहरूबीच टीम बन्छ

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर पक्ष १५ औं महाधिवेशनको लागि टीम बनाउन आन्तरिक तयारी थालेको छ। १४ औं महाधिवेशन सकिएको दुई वर्ष नबित्दै आफ्नो समूहलाई बलियो बनाउने लक्ष्यसहित टिम निर्माणमा लागेको हो ।

महामन्त्री गगन पार्टी सभापति शेरबहादुर देउवाबाट पार्टी नचल्ने भन्दै यसअघि नै विशेष महाधिवेशनमा जाने प्रयास गरेका थिए । तर, गगनको प्रयासमा इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला सहमत नभएपछि उनीहरु आगामी महाधिवेशनलाई केन्द्रित गरेर एकजुट भएर जान राजी भएका छन् ।

शेखर नेतृत्व परिवर्तनको लागि १५ औं महाधिवेशन कुर्न तयार भएपछि अहिले उनीहरु एकताबद्ध भएर अघि बढ्ने सहमति भएको छ । साउनको पहिलो सातामा बसेको केन्द्रीय समितिको निर्णय कार्यान्वयनमा समेत सभापति देउवाले आलटाल गर्न थालेपछि इतरपक्ष एकजुट भएर मोर्चाबन्दीमा जुटेका हुन् ।

पहिलो चरणमा इतर पक्षको भेला आइतबार नेता अजुननसिंह केसीको निवासमा भएको थियो। भेलामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरु दिलेन्द्र बडू, प्रदीप पौडेल र बलबहादुर केसी सहभागी थिए ।

१४ औं महाधिवेशनमा इतर पक्षमा महामन्त्री शर्मा र नेता पौडेल सहभागी थिएनन् । शर्मा प्रकाशमान सिंह समूहबाट निर्वाचित भएका थिए भने कृष्णप्रसाद सिटौला समूहका नेता पौडेल देउवा समूहबाट महामन्त्रीमा पराजित भएका थिए । तर, अहिले उनीहरु दुवै पछिल्लो सयम शेखर-गगन कित्तामा उभिन आइपुगेका छन् ।

पछिल्लो समय नेता कोइरालाले कुनै समूह भेला राखेका थिएनन् । आइतबारको भेलामा अनुपस्थित भएपछि दोस्रो चरणको छलफलमा कोइराला पनि सहभागी हुने एक नेताले बताए ।

ती नेताले भने, ‘केन्द्रीय कमिटीको बैठकपछि शेखर र गगन दाई एकजुट भएर अघि बढ्ने आन्तरिक सहमति भइसकेको छ। अबको अर्को बैठकमा शेखर दाई पनि सहभागी हुनुहुन्छ। इतर पक्षको नेतृत्व उहाँले नै गर्नुहुन्छ ।’

त्यसो त केही समयअघि शेखर देउवासँग नजिकिएको आरोप लागेकोपछि उनले सार्वजनिक रुपम खण्डन गरेका थिए । इतर पक्षले शेखरलाई १५ औं महाधिवेशनमा सभापति बनाउने र त्यसपछि गगनलाई अघि सार्नेगरी समझारी बनाएको छ ।

देउवाले आगामी महाधिवेशन आफू नउठ्ने घोषणा गरेपछि सर्वसम्मत बन्नको लागि केही समय शेखरले ‘पर्ख र हेर’को नीति बनाएका थिए। तर, देउवाले शेखरलाई नछाड्ने संकेत देखेपछि आफ्नो समूहलाई बलियो बनाएर जाने निष्कर्षमा पुगेको ती नेताले सुनाए ।

संस्थापन पक्षबाट देउवाले कसलाई अघि सार्छन् भन्ने अहिलेसम्म निश्चत छैन । देउवाका सम्भावित उत्तराधिकारी बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा छन् । अहिले संस्थापन उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्वभाविक दाबेदार भएपनि देउवाको रोजाइमा को पर्छन् अहिल्यै भन्न नसकिने नेताहरु बताउँछन् ।

तर, १४ औं महाधिवेशनमा अप्रत्यक्ष रुपमा देउवालाई सघाएका शशांक कोइराला संस्थापन पक्षबाट उम्मेदवार बन्नेसक्ने चर्चा छ। जुन कुरालाई कोइराला आफैंले पुष्टि गरे।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘यस विषयमा टुङ्गो लागिसकेको छैन । संस्थापन समूहबाट म उम्मेदवार हुने सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?’

पार्टीका साथीहरूसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने बताउँदै सभापति देउवाले केही नभनेको सुनाए। पूर्वदेखि पश्चिमसम्म पार्टीका साथीहरुसँग छलफल गरेर निर्णय लिने उनको भनाइ छ ।

इतर पक्षको आइतबार भएको छलफलमा पार्टीभित्रका पछिल्ला परिस्थिति र अभियानको बारेमा छलफल भएको बैठकमा सहभागी नेता प्रदीप पौडेलले बताए। १५ औं महाधिवेशन आउन अझै धेरै समय बाँकी भएपनि मुद्दा मिल्नेहरुसँग छलफल हुनु स्वभाविक भएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘अब महाधिवेशनको समय आउँन अझै धेरै समय बाँकी छ । मुद्दा मिल्नेहरुका बीचमा नै टिम बन्ने हो। अहिले हामीले मुद्दाहरुकै बारेमा छलफल गरेका हौं ।’

सरकारमा सहभागी हुनुको औचित्यताबारे पनि बैठकमा छलफल भएको बताए ।

उनले थपे, ‘सरकारको काम कारवाहीप्रति राम्रो टिकाटिप्पणी छैन त्यसले पार्टीलाई पर्ने असर, भ्रष्टाचार र सुशासनका कायम हुन नसकेको बिषय, जनजीविकाको मुद्दाहरु संसदमा हाम्रो प्रस्तुती, आन्तरिक विषयमा समिक्षा भएको छ ।’

पार्टीभित्र अधिवेशनताका हुने सदस्यता विवाद अन्त्य गर्ने विषयमा पनि छलफल भएको सुनाए ।

उनले भने, ‘सदस्यता विवादको कारणले अधिवेशन समय नहुने समस्या छ । अहिले सदस्यता विवाद टुंग्याएर चारबर्षभित्र अधिवेशन गर्नुपर्छ भन्ने विषयमा आएको छ ।’

मुद्दा मिल्नेहरुबीच आवश्कयता अनुसार बस्ने र थप सदस्य थप गर्ने पनि बताए । इतर पक्षका नेता गुरुराज घिमिरे अब शेखर कोइराला र गगन थापाबीच एकढिक्का भएर अघि बढ्ने सहमति भएको बताए । उनले भने, ‘पार्टीमा अहिलेसम्म सभापति एकलौटी रुपमा अघि बढेपछि अब शेखर दाइ र गगनजीहरु एकढिक्का भएर जाने समझदारी भएको छ ।’

त्यसो त संस्थापन पक्षका महेन्द्र यादव देउवाको विकल्प खोज्न चुनौति दिन्छन् ।

उनी भन्छन्, ‘हामी पार्टीलाई एकताबद्ध बनाएर लानुपर्छ भन्ने पक्षमा छौं । अहिले कांग्रेसका नेतृत्व परिवर्तनको बहस गर्ने बेला पनि भएको छैन । महाधिवेशन आउन अझै धेरै समय बाँकी छ । त्यो बेलाको परिस्थिती अहिल्यै विश्लेषण गर्न सकिँदैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर