हिमालको फेदमा गल्फ, होल इन वानको विजेतालाई घोडा – Nepal Press

हिमालको फेदमा गल्फ, होल इन वानको विजेतालाई घोडा

पोखरा । विश्वको सबैभन्दा उचाइमा रहेको गल्फ कोर्स लोमान्थाङमा भदौ मसान्तमा दोस्रो गल्फ च्यालेन्ज प्रतियोगिता हुने भएको छ । लोमान्थाङ गाउँपालिकाले भदौ ३० गते दोस्रो गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना गर्न लागेको हो ।

मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्समा भदौ मसान्तमा प्रतियोगिता आयोजना लागेको गण्डकी प्रदेश सभाका पूर्व सदस्य इन्द्रधारा विष्टले जानकारी दिए ।

बिहीबार पत्रकार सम्मेलन गर्दै पूर्व सांसद विष्टले मुस्ताङमा गल्फ खेल्न काठमाडौं, पोखरा, धरान, बुटवल लगायतका सहरका ४० जना गल्फर गल्फ खेल्न आउने बताएका छन् ।

प्रतियोगितामा ४ महिला खेलाडीको समेत सहभागिता रहनेछ । ‘यसवर्ष राष्ट्रिय खेलाडीमा सीमित यो प्रतियोगिता आगामी वर्षहरुमा विदेशी खेलाडीहरु सहभागी हुने विश्वास लिएका छौं,’ विष्टले भने ।

इभेण्ट ९ होलमा ३/४ ह्याण्डिक्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा होल इन वानको विजेताले घोडा पुरस्कार पाउने विष्टले सुनाए । विष्टले भने, होल इन वानको विजेताले घोडा पुरस्कारको व्यवस्था गरिएको छ । घोडा नलग्नेका लागि १ लाख रुपैयाँ अप्सनको रुपमा राखिएको छ ।’

विजेतासँगै उपविजेता, बेष्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ, बडीजलाई पनि पुरस्कारको व्यवस्था रहेको छ । गतवर्ष पनि पनि लोमान्थाङको हाइ अल्टिच्युड मैदानमा गल्फ च्यालेन्ज भएको थियो ।

लोमान्थाङको गल्फ कोर्सलाई वल्र्ड रेकर्ड कायम गराउन गल्फ च्यालेन्जको आयोजना गरेको विष्टले सुनाए । उनले भने, ‘प्रतियोगिताले विश्वस्तरमा प्रचार हुन्छ । एकपटक मुस्ताङको गल्फ कोर्समा गएर खेल्छु भन्ने गल्फरमा रहर जाग्नेछ’, उनले भने 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *