डोटीमा बढ्दै सम्बन्ध विच्छेदका घटना – Nepal Press

डोटीमा बढ्दै सम्बन्ध विच्छेदका घटना

डोटी । साउन महिनामा एक महिला जिल्ला अदालत डोटीमा पुगिन् । उनी श्रीमानसँग सम्बन्ध विच्छेद गर्ने भन्दै फिराद पत्रसहित अदालत प्रवेश गरिन् । श्रीमानले अनावश्यक शंका गर्ने गरेको, मानसिक तथा शारीरिक यातना दिने गरेको उनको आरोप थियो । उनी अव श्रीमानसँग बस्न नसकिने भन्दै छुट्टिन खोज्दैछिन् ।

‘दुवै जनाले एकअर्काप्रति विश्वास गरेसम्म मात्र श्रीमान-श्रीमतीको रुपमा बस्न सकिन्छ’, ईश्वरी भन्छिन्, ‘सधैं शंका मात्रै गरिराख्ने हो भने कसरी परिवार चल्न सक्छ ?’, श्रावण महिनामै एक पुरुष पनि सम्बन्ध विच्छेद गर्ने भन्दै अदालतमा फिराद पत्र लिएर आए । उनी श्रीमतीले आफुलाई जानकारीनै नदिएर अलग बसेकी, उनको चरित्र ठिक नभएको भन्ने आरोप लगाउँदै थिए । दुवै जनाको सहमतिमै सम्बन्ध विच्छेद गरेर उक्त जोडी फर्कियो ।

यी त प्रतिनिधि घटना मात्रै हुन्, यस्ता घटनाहरु धेरै छन् । डोटी जिल्लामा सम्बन्ध विच्छेदका घटनाहरु वर्षेनी बढ्दै गएको जिल्ला अदालत डोटीको तथ्याङ्कले देखाएको छ । तीन वर्षको अवधिमा सम्बन्ध विच्छेदका ७२ मुद्दा दर्ता भएका अदालतका तहशिलदार बसन्त पाध्यायले जानकारी दिए ।

‘सम्बन्ध विच्छेदका घटनाहरु वर्षेनी बढ्दै गईरहेका छन्’, पाध्यायले भने ‘आर्थिक वर्ष ०७७/०७८ मा १८ जनाले निवेदन दिएका थिए, ०७८/०७९ मा २५ जना पुगे ।’ गत आर्थिक वर्ष (०७९/०८०) सम्बन्ध विच्छेदका लागि फिराद दर्ता गराउनेको संख्या २९ पुगेको पाध्यायले जानकारी दिए ।

तीन वर्षमा दर्ता भएका ७२ मुद्दामध्ये ९ मुद्दा फिर्ता भएका अदालतको अभिलेखमा उल्लेख छ । यस्तै, यो अवधिमा दर्ता भएकामध्ये चार मुद्दा डिसमिस भएका छन् ।

किन बढ्दै छन् सम्बन्ध विच्छेदका घटना ?

महिलाहरुमा चेतनाको विकास भएकाले सम्बन्ध विच्छेदका घटनाहरुमा वृद्धि भएको बताउँछन् अधिवक्ता कैलाशसिंह साउँद । ‘पहिले महिलाहरुले हिंसा सहेर बस्थे, अव महिलाहरु सचेत भएका छन्’, अधिबक्ता साउँद भन्छन्, ‘उनीहरु हिंसा सहनु भन्दा छुट्टिएर अलग बस्नुनै उपयुक्त ठान्छन् र सम्वन्ध बिच्छेद्को प्रक्रियामा जान्छन् ।’

सामाजिक सञ्जालका कारण पनि सम्बन्ध विच्छेदका घटनाहरु हुने गरेका अधिबक्ता साउँदको भनाई छ । उनी भन्छन्, ‘सामाजिक सञ्जालमा कुरा गरेकै आधारमा श्रीमान-श्रीमतीले एकअर्काप्रति शंका गर्न थाल्छन्, बिस्तारै संका बढ्दै जान्छ र परिवारमा बिवाद हुँदै जान्छ, विवाद बढ्दै गएपछि सम्बन्ध विच्छेदको तहमा पुग्छन् ।’

सम्बन्ध विच्छेदका घटनाहरु बढ्नुमा मुख्य कारण बालबिवाह भएको बताउँछिन् दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कलावती महर साउँद । ‘सानै उमेरमा विवाह हुन्छ, केटाकेटीले एकअर्कालाई बुझेका पनि हुँदैनन् राम्रोसंग’, उपप्रमुख साउँद भन्छिन्, ‘जव बुझ्ने तहमा पुग्छन्, संगै बस्न नसक्ने निष्कर्षमा पुग्छन् ।’ कानूनी ज्ञानको अभावमा पनि सम्बन्ध विच्छेदका घटना बढ्न थालेको साउदको भनाई छ । उनी भन्छिन्, ‘अशिक्षा, गरिबी र अभावका कारण पनि सम्वन्ध विच्छेदका घटनाहरु बढेका हुन सक्छन् ।’

आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकाया सम्बन्ध विच्छेदका घटनाहरु बढ्नुमा महिलाहरुको पनि कमजोरी रहेको बताउँछिन् । ‘पछिल्लो समयमा महिलाहरुले श्रीमानलाई धोका दिने गरेका घटनाहरु बढ्दैछन्’, उपाध्यक्ष रोकाया भन्छिन्, ‘श्रीमान् भारत तथा तेश्रो मुलुकमा दुःख गरेर दुईचार पैशा कमाउँछ, श्रीमतीले उक्त पैशाको दुरुपयोग गरिदिन्छ ।’

यसले गर्दा परिवारमा विवाद सिर्जना भई अन्ततः सम्बन्ध विच्छेदको तहमा पुग्ने गरेको रोकायाको भनाई छ । उनी विवाद भएका जोडीहरु न्यायिक समितिमा पनि आउने गरेको बताउँछिन् । उनी भन्छिन् ‘सम्बन्ध विच्छेदकै तहमा पुगेका कतिपय जोडीहरुलाई हामीले सम्झाएर फर्काएका पनि छौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *