मधेशमा समेत श्रीकृष्ण जन्माष्टमीमा शोभायात्राको रौनक (तस्बिरहरु) – Nepal Press

मधेशमा समेत श्रीकृष्ण जन्माष्टमीमा शोभायात्राको रौनक (तस्बिरहरु)

जनकपुरधाम । आज श्री कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमी अर्थात् आजकै दिन भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष हिन्दू धर्मावलम्वीहरु ‘उत्सव’ मनाउँछन् ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउन भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्म भएको मानिन्छ । त्यसैले हिन्दूहरु कृष्णा जन्माष्टमीमा भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् ।

भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन ’श्रीकृष्ण जन्माष्टमी’ पर्व (उत्सव) मनाइन्छ । तराई मधेशका बासिन्दा समेत श्रद्धापूर्वक यो पर्व मनाइरहेका छन् । गाउँ गाउँमा भगवान कृष्णको मूर्ति बनाएर मेलाको आयोजना गरिँदैछ ।

जनकपुरधाम र पर्साको वीरगन्जमा समेत श्रीकृष्ण जन्माष्टमीको रौनक देखिएको छ । जनकपुरधामको बेंगा शिवपुरमा आज विशाल कलश शोभायात्रा निकालियो, जुन शोभायात्रामा मधेशका मुख्यमन्त्री सरोज कुमार यादव समेत सहभागिता जनाए ।

त्यस्तै, वीरगन्जमा पनि शोभायात्रा निकालिएको छ । शोभायात्रामा हजारौं महिला-पुरुष गेरुवा वस्त्रमा सहभागी जनाए । उनीहरु श्रीकृष्णको गित संगितमा रमाएको क्षण अविस्मरणीय बनेको छ ।

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ ।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भगवत गीता हो ।

श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ । मधेशका मठमन्दिरमा साधुसन्तले झुला उत्सव मनाउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर