पाँचै वर्ष प्रधानमन्त्री हुने प्रचण्डको अभिव्यक्तिपछि शेखरको आशंका, कसरी अघि बढ्लान् देउवा ? – Nepal Press

पाँचै वर्ष प्रधानमन्त्री हुने प्रचण्डको अभिव्यक्तिपछि शेखरको आशंका, कसरी अघि बढ्लान् देउवा ?

कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्मा भन्छन्- आलोपालो सहमति तोड्ने चेष्टा कसैबाट गर्नुहुँदैन

काठमाडौं । सत्ता गठबन्धन दलहरुबीच पाँच वर्षभित्र तीन जना आलोपालो प्रधानमन्त्री बन्ने सहमति छ । तर, सोही सहमतिअनुसार अहिले पहिलो चरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् ।

गठबन्धनमा दुई वर्ष प्रचण्ड, एक वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र अन्तिम दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने ‘भद्र सहमति’ बनेको छ । यही सहमतिअनुसार अहिले प्रचण्ड सरकार ८ महिनामा हिँड्दैछ ।

सरकार खोलेको भ्रष्टाचारको फाइलले गठबन्धन दलमा असन्तुष्टि चुलिरहेको बेलामा प्रधानमन्त्री प्रचण्डले आफ्नै नेतृत्वको सरकार पाँचै वर्ष टिक्ने सम्भावना बढ्दै गएको अभिव्यक्ति दिए ।

कांग्रेस नेतृत्वको गठबन्धनमा आलोपालो सहमति भएपछि प्रचण्डले एमाले नेतृत्वको गठबन्धन छाडेका थिए । अहिलेसम्म पनि एमालेले गठबन्धन टुटाउन एकपछि अर्को प्रयास गरिरहेको बेलामा कांग्रेस नेतृत्वमा झस्का पसेको छ ।

त्यसो त यसअघि सरकारले अघि बढाएको भ्रष्टाचारको फाइलमा कांग्रेस नेताहरुको नाम मुछिन थालेपछि देउवा पनि सन्तुष्ट छैनन् । कांग्रेसकै शेखर कोइराला र गगन थापा समूह झन् सुरुवाती चरणदेखि नै सरकारको चर्को विरोधमा उत्रिँदै आइरहेको छ ।

प्रचण्डपछि प्रधानमन्त्री बन्ने गठबन्धन दलमा सहमतिपछि नै माधव नेपालले एमालेले दिएको राष्ट्रपति अफरसमेत अस्वीकार गरेका थिए । तर, गठबन्धन दलको सहमतिप्रति उनी मौन छ ।

प्रचण्ड सरकारको आयुबारे प्रश्न उठिरहेको बेलामा यसपटक उनले आफू जनताको काम गर्न सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै कसैले हटाउन प्रयास गरे करोडौं जनता सडकमा उतारेर प्रतिवाद गर्ने घोषणासमेत गर्न भ्याइसकेका छन् ।

शनिबार पार्टीको देशव्यापी अभियान सुरु गर्दै प्रचण्डले भनेका थिए, ‘३२ सीटमात्रै भएको पार्टीको नेता भएको छु, कति दिन प्रधानमन्त्री हुने हो ? जति दिन रहन्छु, जनता र राष्ट्रको पक्षमा काम गर्छु । मलाई हटाउन खोज्नेहरुको विरुद्ध जनताको बीचमा गएर आन्दोलनको नेतृत्व गर्छु । अहिले आठ महिना हुँदैछ । अहिले पाँचै वर्ष प्रधानमन्त्री हुन्छु कि भन्ने परिस्थिति बन्दै गएको देख्छु ।’

त्यसो त प्रचण्डमाथि पछिल्लो समय भ्रष्टाचारको फाइललाई सत्ता बार्गेनिङको टुल बनाएको आरोप पनि लागेको छ । उनीमाथि देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरण, उपेन्द्र यादवलाई गौर हत्याकाण्ड, माधव नेपाललाई ललिता निवासको त्रास देखाएको आरोप छ ।

जसको कांग्रेस नेताहरुले निरन्तर विरोध गर्दै आइरहेका छन् । कांग्रेस महामन्त्री गगन थापाले नयाँ ढंगबाट सामना गर्न तयार रहन चेनावनीसमेत दिइसकेका छन् । गठबन्धनमा मात्रै सीमित नभएर प्रचण्डले नेकपा एस, जसपा र विप्लव नेतृत्वको नेकपालाई आफ्नो कित्तामा राखेर कांग्रेसलाई दबाबमा राख्न समाजवादी मोर्चासमेत बनाएका छन् ।

प्रचण्डले आफैं पाँच वर्ष सरकारको नेतृत्व गर्ने बताइरहँदा कांग्रेस नेता शेखर कोइरालाले पार्टी सभापति देउवालाई सरकारले आफ्नो पार्टीले प्रधानमन्त्री पाउने हो कि होइन स्पष्ट पार्न आग्रह गरेका छन् ।

पार्टी निकट निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेसले ९ वटा मन्त्रालय लिए पनि नतिजा देखाउन नसकेको भन्दै आलोचना गरे । उनले देउवालाई पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर सम्झाउनसमेत आग्रह गरे ।

नेता कोइरालाले भने, ‘हामीसँग ९० सांसद छन्, गभर्मेन्ट हाम्रो हो कि होइन भन्ने फिल भइरहेको छ । पार्लियामेन्ट्री सिस्टम र डेमोक्रेसीमा जसले जे भने पनि, जति सुकै भने पनि प्रधानमन्त्री नै सर्वेसर्वा हो । सभापति यही हुनुहुन्छ, प्रधानमन्त्रीसँग कुरा भइरहेकै होला । त्यसैले अब हामीले नेतृत्व लिनसक्ने हो कि होइन ?’

गठबन्धन दलहरुबीच भएको आलोपालो सहमति तोड्ने पक्षमा कांग्रेस नरहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘दलहरुका बीचमा भएको सहमतिमा कुनै एक पक्षले ब्रेक गर्‍यो भने अर्को पक्षले पनि स्वतः ब्रेक गरेको ठहरिन्छ । त्यसैले गठबन्धनमा आबद्ध दलहरुका बीचमा सत्ता नेतृत्वको आलोपालो भन्ने जुन सहमति भएको छ । त्यो सहमतिबाट कसैले पनि बाहिर निस्कने चेष्टा गर्नु उपयुक्त हुँदैन ।’

प्रधानमन्त्रीले सरकारप्रति जनतामा विश्वास दिलाउन यही सरकार पाँचै वर्ष टिक्छ भन्ने आशयको अभिव्यक्ति दिएको हुनसक्ने उनको विश्लेषण छ । आलोपालो सहमतिमा बाँकी दलहरु विश्वस्त रहेको उनले सुनाए ।

नेता विश्वकर्माले भने, ‘प्रधानमन्त्रीले आफ्नो बुझाइबाट कसैलाई संकेत गर्न सरकार स्थायी छ, म नै प्रधानमन्त्री हुनसक्छु भन्ने आशयले दिएको हुनसक्छ । तर, अहिलेसम्म गठबन्धन बदलिने र सहमति भंग गर्ने कुरा कतैबाट भएको छैन ।’

पछिल्लो समय एमालेका दोस्रो तहका नेताहरु देशलाई स्थायित्व दिन कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने भन्दै पहल थालेका छन् । तर, तत्काल एमालेसँग सहकार्यको सम्भावना नभएको प्रचार विभाग प्रमुख विश्वकर्मा जिकिर गर्छन् ।

निश्चित उद्देश्यले बनेको भएकाले दलहरुबीच भएको सहमति कार्यान्वयन गरेर यो गठबन्धन अघि बढ्ने माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए ।

उनले भने, ‘यो सरकारले अहिले सुशासनको पक्षमा काम गरिरहेको छ । त्यसैले गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार नै अघि बढ्नुपर्छ । गठबन्धनप्रति अहिले आशंका गर्ने कुनै ठाउँ छैन ।’

संविधान, अहिलेसम्मको उलपब्धिको रक्षा गर्दै सरकारले सुशासनको पक्षका काम गरिरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर