नेपाल सानो मुलुक होइन, विद्युतीय प्रयोग बढाउनुपर्छ : चिनियाँ राजदूत साेङ – Nepal Press

नेपाल सानो मुलुक होइन, विद्युतीय प्रयोग बढाउनुपर्छ : चिनियाँ राजदूत साेङ

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच छलफल भएको छ । अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले आज राजदूत सोङसँग भेट गरी लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेका हुन् ।

परिसंघका अध्यक्ष अग्रवालले चीन विकासको महत्वपूर्ण साझेदार रहेको भन्दै नेपाल पछि परेको पूर्वाधार क्षेत्रमा चीनसँग सहकार्य आवश्यक रहेको बताए ।

उनले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन राजदूतसँग आग्रह गरे ।

सो अवसरमा चिनियाँ राजदूत सोङले चीन र भारतको बीचमा भएर सानो देखिए पनि नेपाल सानो मुलुक नभएको बताए ।

आफूसँग भएको ऊर्जा र स्रोतमार्फत नेपाल विकास गर्न सकिने भन्दै उनले दीर्घकालीन विकास रणनीति आवश्यक रहेको सुझाए ।

राजदूत सोङले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै नेपालले विद्युतीय प्रयोग बढाउनुपर्नेसमेत बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका विषयमा समेत कुरा भएको छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु निर्वाण चौधरी, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्यहरु छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *