एमाले लुम्बिनी अधिवेशनः ९६ प्रतिशत भोट खस्यो, केहीबेरमा गणना थालिने – Nepal Press

एमाले लुम्बिनी अधिवेशनः ९६ प्रतिशत भोट खस्यो, केहीबेरमा गणना थालिने

रूपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सकिएको छ । कुल १ हजार ५ जना मतदाता रहेकोमा ९६५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । प्रतिशतका आधारमा ९६ प्रतिशत मत खसेको हो ।

बिहान पौने ९ बजे सुरू भएको मतदान अवधि दिउसो साढे २ बजे सकिएको हो ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार केहीबेरमा गणना सुरू हुनेछ भने आजै रातिसम्म मतपरिणाम सार्वजनिक गर्ने तयारी छ ।

यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले मंगलबार बिहानका लागि सारिएको थियो । आगामी नेतृत्वका लागि अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् ।

कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् । कँडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका निवर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको छ ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पुजन विश्वकर्मा प्रतिष्पर्धामा छन् । उपसचिव खुलामा ४ र महिलामा ३ जना प्रतिष्पर्धामा छन् ।

रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर उपसचिवमा चुनाव लडेका छन् । यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे, गुणनिधि भुसाल र विष्णुराज बीसी गरी ३ जनाबीच प्रतिष्पर्धा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *