आफ्नो सरुवा रोक्न शिक्षकले विद्यार्थीहरुलाई ल्याए सडकमा – Nepal Press

आफ्नो सरुवा रोक्न शिक्षकले विद्यार्थीहरुलाई ल्याए सडकमा

चितवन । जिल्लाको रत्ननगर नगरपालिकाले सरुवा गरेको विरोधमा यहाँको एक विद्यालयका शिक्षकहरुले विद्यार्थीलाई सडकमा ल्याएर सरुवा थमौतीको लागि आन्दोलन गराएका छन् ।

नगरपालिकाले भदौ १३ गते ३६ जना शिक्षकको अन्तरपालिका सरुवा गरेको थियो । तीमध्ये रत्ननगरको टाँडी बजारमा रहेको नेपाल माध्यमिक विद्यालयका १० जना शिक्षक परेका थिए ।

शिक्षक सरुवाको विरोधमा उक्त विद्यालयका विद्यार्थीहरुले र्‍यालीसहित आज नगरपालिका पुगेर ‘नयाँ सर चाहिँदैन, पुरानो सर लान पाइँदैन’ भन्दै नाराजुलुस गरेका हुन् ।

रत्ननगर नगरपालिकाको शिक्षा शाखाका अधिकृत राजेन्द्र बरालका अनुसार नेपाल माविमा अध्यापनरत १० मध्ये दुई जना शिक्षकमात्रै ५ वर्षभन्दा कम समयदेखि सोही विद्यालयमा अध्यापन गराउँदै आएका छन् । बाँकी ८ जना पाँच वर्षभन्दा बढी समयदेखि पढाउँदै आएका हुन् ।

पालिकाको शिक्षा समितिले गरेको निर्णय जानकारी गराउन आइतबार सम्बन्धित विद्यालयलाई पत्र पठाएको थियो । पत्र जानुअघि नै केही पेशागत महासंघका प्रतिनिधि आएर सरुवा थमौतीको लागि अनुरोध गरे पनि निर्णय भइसकेको अवस्थामा थमौती गर्न नसकिएको बरालले जानकारी दिए ।

पत्र प्राप्त भएपछि विद्यालयका ससाना विद्यार्थी उचालेर नेपाल माध्यमिक विद्यालयका शिक्षकहरुले पालिकामा प्लेकार्डसहित ल्याएकोमा आफूहरुले सम्झाएर विद्यालय पठाएको उनले जानकारी दिए ।

विद्यालयका शिक्षक हरि खवास भने नगरपालिकाले मनोमानी ढंगबाट कार्यविधिविपरीत सरुवा गरेको आरोप लगाउँछन् । उनले तीन दिनअघि सरुवा रोक्न दिएको ज्ञापनपत्रमा सुनुवाइ नगरेपछि विद्यार्थीले स्वस्फूर्त आन्दोलन गरेको दाबी गरे ।

रत्ननगरमा निम्न माध्यमिक र माध्यमिक विद्यालय गरी २० वटा छन् । निम्न माविमा पढाउने ७५ र माविमा पढाउने ५२ जना शिक्षक छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर