भारतीय फास्ट बलरविरुद्ध नेपाली ब्याट्सम्यानको आत्मविश्वास, सर्ट बलमा ४ छक्का – Nepal Press

भारतीय फास्ट बलरविरुद्ध नेपाली ब्याट्सम्यानको आत्मविश्वास, सर्ट बलमा ४ छक्का

काठमाडौं । जिम्बाबेमा भएको विश्वकप क्वालिफायरमा नेपाललाई सर्ट बलले हैरानी दिएको थियो । नेपाली ब्याट्सम्यानको सबैभन्दा ठूलो कमजोरी नै सर्ट बल भएको विश्लेषण समेत गरियो । तर, आजको म्याचमा नेपाली ब्याट्सम्यानले आलोचकलाई जवाफ दिएका छन् ।

भारतजस्तो सशक्त प्रतिद्वन्द्वीविरुद्ध नेपाली ब्याट्सम्यानले सर्टबललाई आत्मविश्वासपूर्वक सामना गरे । उनीहरुले कुनै पनि बललाई छोड्ने र उम्किने प्रयास गरेनन् । बरु सर्ट बलमा ठूला सट खेले । माथिदेखि तलसम्म कुनै पनि ब्याट्सम्यान सर्टबलसँग नर्भस देखिएनन् । पुल सट र हुक सट हान्न हिच्किचाएनन् ।

नेपालको इनिङमा चारवटा छक्का प्रहार भएका थिए । जसमा दुईवटा कुशल भुर्तेलले हानेका थिए भने दुईवटा सोमपाल कामीले । उनीहरुले हानेका चारवटै छक्का सर्ट बलमा थिए ।

५.३ ओभरमा मोहम्मद सिराजले फ्याकेको सर्ट बललाई भुर्तेलले स्क्वायर लेगतर्फ शानदार प्रहार गर्दै पहिलो छक्का हाने । अर्को छक्का उनले ९.४ ओभरमा सार्दुल ठाकुरको बलमा निकाले । लेगतर्फ गएको बललाई उनले सर्ट फाइनलेग तर्फ छक्का हानेका थिए ।

यस्तै, सोमपालले पनि दुईवटा सर्ट बलमाथि आक्रमण गर्दै दुई छक्का प्रहार गरे । ४५.६ ओभरमा हार्दिक पाण्डेको बलमा मिडविकेटतर्फ पुल गरेर सहजै बाउन्ड्री कटाएका थिए । ४६.६ ओभरमा मोहम्मद सिराज दायाँ काँधतर्फ हुइक्याएको बललाई उनले हुक गरिदिए र बलले बाउन्ड्री पार गर्यो ।

बाउन्स हुने पिचमा नेपाली ब्याट्सम्यान सर्ट बलमा चुक्ने गरे पनि श्रीलंकाको पीचको प्रकृति फरक थियो । यहाँ सर्ट बल धेरै माथि नआउने भएकाले ब्याट्समयानलाई त्यसले परेशान गर्न सकेन ।

नेपाली ब्याट्सम्यान सामान्यतया स्तरीय फास्ट बलिङमा संघर्ष गर्छन् । तर, आजको खेलमा नेपालले स्पिनभन्दा फास्ट बललाई सहजरुपमा खेलेको देखियो ।

भारतका आक्रामक फास्ट बलर मोहम्मद सिराजको १० ओभरमा नेपाली ब्याट्सम्यानले ६१ रन बटुलेका थिए । यद्यपी, उनले तीन विकेट लिन सफल भए । सबैभन्दा किफायती बलिङ स्पिनर कुलदिप यादवले गरे । उनले १० ओभरमा ३४ रन मात्रै खर्चिए तर विकेट लिन सकेनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर