सीपीसीसँगको विचार आदानप्रदानमा शंकरले पेश गरे नेपाली कम्युनिष्ट आन्दोलनका ३ मोड – Nepal Press

सीपीसीसँगको विचार आदानप्रदानमा शंकरले पेश गरे नेपाली कम्युनिष्ट आन्दोलनका ३ मोड

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहेको महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली सोमबार छोङछिङस्थित सीपीसी स्कुलमा आयोजित विचार आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएको छ ।

कार्यक्रममा महासचिव पोखरेलले जनताको बहुदलीय जनवादको आलोकमा एमालेले ‘समृद्ध नेपाल : सुखी नेपाली’ को लक्ष्यसहित नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको बताए । नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलन विकासक्रमका मुख्य ३ मोडहरू पेश गरेका छन् ।

जसमा पार्टी स्थापना र संगठनमा पुष्पलाल श्रेष्ठ, विचारमा मदन भण्डारी र समृद्धिमा केपी शर्मा ओली रहेको पोखरेलको भनाइ थियो । उनले भने, ‘ हामी हाम्रो अध्यक्ष क. केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपाल : सुखी नेपालीको लक्ष्य पूरा गर्दै समाजवादको आधार निर्माण गर्छौं ।’

कार्यक्रममा चिनियाँ आधुनिकीकरणमा छोङछिङको अभ्यासको बारेमा प्रोफेसर सुन लिङ उले र प्रोसेसर दा सिउ लाईओईले नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद : सी विचारधारा विषयमा प्रस्तुति राखेका थिए ।

भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वालाकुमारी शाह, राम राना, टुका हमाल, सहदेव देवकोटा, रचना खड्का, निरज आचार्य, मञ्जु गुरुङ, अजयकुमार गुप्ता, मानवीर राईलगायतका नेता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर