पल्लाकेली रंगशाला क्षेत्रमा सिमसिम पानी पर्न थाल्यो, यस्तो छ मौसमी प्रक्षेपण – Nepal Press

पल्लाकेली रंगशाला क्षेत्रमा सिमसिम पानी पर्न थाल्यो, यस्तो छ मौसमी प्रक्षेपण

काठमाडौं । नेपालले इतिहासमै पहिलो पटक भारतको राष्ट्रिय क्रिकेट टीमसँग प्रतिस्पर्धाको अवसर पाउँदा वर्षा वाधक बन्न सक्ने खतरा देखिएको छ ।

श्रीलंकाको मौसम पूर्वानुमान विभागले आज दिनभरि नै पानी पर्न सक्ने भविष्यवाणी गरेको थियो ।

श्रीलंकाको केन्डीस्थित पल्लेकेले रंगशालामा एसिया कपको समूह चरण अन्तरगत नेपाल–भारत म्याच हुन लागेको हो । त्यहाँ खेल हेर्न पुगेका नेपालीहरूका अनुसार आज बिहानैदेखि मौसम बदली छ र अहिले सिमसिम पानी परिरहेको छ । वर्षात्ले वाधा नगरे आजको खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे सुरु हुन्छ ।

आज पानी पर्ने सम्भावना ८१ प्रतिशत रहेको प्रक्षेपण गरिएको थियो । यस्तै तापक्रम २७ डिग्री सेल्सियस रहने अनुमान छ । ह्यूमिडटी ८१ प्रतिशत र हावाको गति १५ देखि २५ किलोमिटर प्रतिघण्टा रहन सक्ने बताइएको छ ।

आज मध्यान्नको समयमा पानी पर्ने सम्भावना ८९ प्रतिशत छ । यस्तै दिउँसो वर्षात्को सम्भावना ७१ प्रतिशतमा झर्ने छ भने बेलुकी ४३ प्रतिशतमा झर्नेछ । दिनको तुलनामा साँझ पानी पर्ने कम सम्भावना छ ।

खेलमा नतिजा प्राप्त गर्नका लागि पहिलो इनिङको ब्याटिङ सकिएर दोस्रो इनिङमा कम्तीमा २० ओभर ब्याटिङ भएको हुनुपर्छ । वर्षात्का कारण खेल सुरु गर्न ढिलाइ भएमा अम्पायरले ओभर घटाएर खेलाउन सक्छन् । यदि पहिलो इनिङपछि पानी परेमा विपक्षी टिमलाई परिमार्जित लक्ष्य दिइन्छ ।

आजको खेल नेपाल र भारत दुवै टिमका लागि ‘मोस्ट विन’ हो । हार्ने टीम एसिया कपबाट बाहिरिने र जित्नेले सुपर ४ मा स्थान बनाउने समीकरण छ । यदि वर्षातका कारण खेल रद्द भएमा नेपाल स्वतः बाहिरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर