सरु गुरागाईंलाई आर्थिक सहायताको ओइरो, ५ दिनमै ७७ लाख उठेपछि श्रीमानले बढाए लक्ष्य – Nepal Press

सरु गुरागाईंलाई आर्थिक सहायताको ओइरो, ५ दिनमै ७७ लाख उठेपछि श्रीमानले बढाए लक्ष्य

काठमाडौं । घाँटीको क्यान्सरबाट पिडित लोकप्रिय श्लोकवाचिका सरु गुरागाईंलाई आर्थिक सहयोगको ओइरो लागेको छ । उनका श्रीमान मुरारी गुरागाईंले ‘गो फन्ड मी’ मा सहयोग आह्वान गर्दा ५ दिनमै ५८ हजार डलर (७७ लाख रुपैयाँभन्दा बढी) उठेको हो ।

मुरारीले ५० हजार डलर उठाउने घोषित लक्ष्यसहित ‘फन्ड रेज’ सुरु गरेका थिए । तर, ४ दिनमै उक्त लिमिट क्रस भएपछि उनले लक्ष्य बढाएका छन् । अब ७५ हजार डलर उठाउने उनको लक्ष्य छ ।

सरुको कवितावाचनका प्रशंसकहरुले देश-विदेशबाट उनलाई सहयो गरेका छन् । अहिलेसम्मको सूचीमा सर्वाधिक व्यक्तिगत सहायता खेम निरौलाले ४०१ डलर प्रदान गरेका छन् । तीन सय डलरभन्दा बढी सहयोग गर्ने चार जना छन् । यस्तै, २१ जनाबाट २ सय डलरभन्दा बढी सहयोग आएको छ ।

इलाम निवासी सरु र मुरारी विगत डेढ दशकदेखि अमेरिकामा बस्दै आइरहेका छन् । सरुलाई एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । केही दिनअघि उनको थाइराइडको शल्यक्रिया भएको छ । अहिले उनी रिकभरिको चरणमा छिन् ।

सरु र मुरारीका सात वर्ष र २२ महिनाका दुई सन्तान छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर