अवरुद्ध ताप्लेजुङ-काठमाडौं उडान सुचारु – Nepal Press

अवरुद्ध ताप्लेजुङ-काठमाडौं उडान सुचारु

ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौं सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौं सुकेटार उडान हुन सकेको थिएन ।

मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए।

लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिवार नियमित उडान हुने उनले बताए ।

करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौं ताप्लेजुङको भाडा यसअघि रु नौ हजार छ सय ५३ थियो भने हाल घटाएर रु आठ हजार छ सय कायम गरिएको छ ।

यस्तै ताप्लेजुङ काठमाडौँको भाडा यसअघि रु नौ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर रु आठ हजार चार सयमा झारिएको छ ।

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *