छाडा पशु चौपायाले दुर्घटनाको जोखिम – Nepal Press

छाडा पशु चौपायाले दुर्घटनाको जोखिम

इनरुवा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोसी ब्यारेज सडक खण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ ।

इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकले बताएका छन् ।

मुख्य राजमार्ग भए पनि सवारी चापको आधारमा साँघुरो सडक रहेको र त्यही सडकमा पशु चौपाया चराउने र छाडा छाड्ने गरेका कारणले दुर्घटनाको जोखिम बढेको सवारी चालक चन्दन मेहताले बताए ।

उनले भने, ‘सडकका पशु चौपायाले दुर्घटनाको जोखिम बढाउँछ । यसलाई नियन्त्रण गर्न स्थानीय तह तथा ट्राफिक कार्यालयले ध्यान दिनुपर्छ ।’

राजमार्गमा देखिने पशु चौपायाका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको स्थानीय यात्रु रविन मेहताले बताए ।

उनले भने, ‘मुख्य राजमार्गमा सवारी चाप हुन्छ । त्यसमाथि छाडा पशु चौपाया हुँदा सवारी चालकलाई समस्या हुने गर्दछ । यसको दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्दछ ।’

सवारी साधनको चापका कारण चिरौली, लौकही, हरीपुर, भाण्टाबारीमा पैदल यात्रीलाई आवतजावतमा समस्या भइरहेको अवस्थामा भोक्राहा र कोशी गाउँपालिकाको सडकमा तरकारी तथा फलफूल व्यवसायीलाई समेत असर गरेको स्थानीयवासीको भनाइ रहेको छ ।

यस क्षेत्रमा वार्षिकरुपमा हुने सवारी दुर्घटना मध्ये केही छाडा पशु चौपाया भएको ट्राफिक प्रहरीको भनाइ रहेको छ । सडकमा छोडिएका छाडा चौपाया नियन्त्रणका लागि सम्बन्धित निकायले समेत समयमा ध्यान दिन आवश्यक रहेको मानव अधिकारकर्मी रमेश भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर