एमाले लुम्बिनी प्रदेश अधिवेशनमा दुवै समूहको उम्मेदवारी दर्ता, को-को छन् ? – Nepal Press

एमाले लुम्बिनी प्रदेश अधिवेशनमा दुवै समूहको उम्मेदवारी दर्ता, को-को छन् ?

रुपन्देही । नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत दुई समूहका आकांक्षीहरूले पदाधिकारीमा प्यानलै बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

सहमतिका लागि आइतबार पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरेर सहमतिको प्रयास गरिएपनि दुवै समूह सहमतिमा नआएपछि अन्तिम समयमा सबै पदमा समूहगत उम्मेदारी परेको हो ।

सहमतिमै उम्मेदवारी टुंग्याउन अध्यक्ष ओलीले शनिबार र आइतबार नेताहरुलाई सँगै राखेर निर्देशन दिएका थिए भने प्रदेश इन्चार्ज पद्मा अर्याललाई सहमतिमै नेतृत्व टुंगो लगाउन जिम्मेवारी दिएर काठमाडौं गएका थिए ।

अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कंडेल र प्यूठानका हरि रिजालले उम्मेदारी दर्ता गरेका हुन् । कंडेल एक वर्षअघि गठन भएको प्रदेश कमिटीका अध्यक्ष हुन् भने रिजाल पूर्व प्रदेश मन्त्री एवम् पार्टी केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आइतबार बिहान बन्द सत्रमा सम्बोधन गर्दै सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेपनि सहमतिमा नेतृत्व चयन हुन नसकेको हो ।

आइतबार सहमतिका लागि पद्मा अर्याल, प्रदीप ज्ञवाली, सूर्य थापालगायतका नेताहरुले दिनभर प्रयास गरेपनि कुनै सहमतिमा टेकाउन नसकेका हुन् ।

रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकट मानिएका नेताहरु प्रदेश सांसदहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, बलाराम अधिकारी, शिवराज सुवेदी लगायतले अध्यक्षमा अघि सारेका छन् । कंडेलले एक वर्ष मात्र तदर्थ समितिमा काम गरेकाले एक कार्यकाल काम गर्न पाउनुपर्ने अडान राखेका छन् । उनलाई पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट नेताहरुले समर्थन गरेका छन् ।

यसैगरी, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ र पुजन विश्वकर्मा, सचिवमा लक्ष्मण आचार्य,सोम सापकोटा र उपसचिवमा १२ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुमध्ये उपाध्यक्षमा उम्मेदारी दिएका श्रेष्ठ कंडेल र विश्वकर्मा रिजाल पक्षका हुन् । त्यसैगरी, सचिवमा दिएका दुई जना कंडेल पक्षका हुन् तर भोलि बिहानसम्म समय रहेकाले अर्को पक्षबाट पनि उम्मेदवारी वर्ने जनाइएको छ ।

आइतबार दिनभर जारी रहेको निर्वाचन प्रक्रिया नटुङ्गिएपछि निर्वाचन मण्डलले सोमबार विहान १० बजेसम्मका लागि सबै काम स्थगित गरेको संयोजक हरिप्रसाद भण्डारीले बताए ।

आइतबार निर्वाचन प्रक्रिया अन्तरगत मतदाताहरुको नामावली प्रकाशन तथा मनोनयन दर्ता गराएको भएपछि थप प्रक्रिया स्थगित गरेको हो । सोमबार विहानैदेखि प्रक्रिया पूरा गरि उम्मेदवारहरुको नामावली प्रकाशन, दाबी विरोध, फिर्ता लगायतका काम हुने निर्वाचन मण्डलले बताएको छ ।

यो वर्षलाई अधिवेशन वर्षको रुपमा लिएको नेकपा एमालेले पहिलो पटक लुम्बिनी प्रदेशको अधिवेशन आयोजना गरेको हो । प्रदेशको पहिलो अधिवेशन भएकाले लुम्बिनीबाट जाने सन्देशले ठूलो महत्व राख्ने भन्दै अध्यक्ष कपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएर गएका थिए ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी छन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका भएका छन् ।

दुवै पक्षले अडान नछाडेर उम्मेदारी दर्ता गरेपनि निर्वाचनमा जाने निश्चित भएपनि नेताहरू सहमतिको लागि अझै प्रयासमा लागिरहेको जनाएका छन् ।

केन्द्रीय सदस्य भूमिश्वर ढकालले सहमतिमा जाने संभावना कम भएकाले निर्वाचन हुने बताए । तर पोलिटब्यूरो सदस्य सूर्य थापाले आकांक्षीहरुको उम्मेदारी दर्ता भएपनि अझै सहमतिको प्रयास हुने र सोमबार बिहानसम्म यसमा लागिरहने बताए । अहिले जिल्लागत रूपमा प्रदेश कमिटीमा जाने सदस्य टुंगो लगाउन सबै जिल्लाबाट छानिएका प्रतिनिधिहरू १२ वटा समूहमा अलग अलग बसेका छन् । केही जिल्लाले सहमतिमा प्रदेश कमिटी सदस्य टुंगोमा पुराएको केन्द्रीय सदस्य चेतनारायण आचार्यले बताए ।

२०५ सदस्यीय प्रदेश कमिटीमा १२ जिल्लाबाट जिल्लागत प्रतिनिधि १८६,अपांगबाट एक,मजदुरबाट ३, खुल्लाबाट पदाधिकारीसहित १५ जना गरी २०५ जना निर्वाचित हुने छन् । पदाधिकारी ५ जना हुनेछन् । जसअनुसार १२ वटै जिल्ला कमिटीहरुले सहमतिमा नाम पठाउन अलग अलग वैठक भएपनि सबै जिल्लामा सहमति भएको छैन । यदि जिल्लाबाट जाने नाममा सहमति नभए उनीहरुको पनि निर्वाचन हुनेछ ।

यसअघि १६ र १७ गतेलाई तोकिएको अधिवेशन मिति लम्बिने भएको छ । सचिव पद्मा अर्यालले सकैसम्म भोली बिहानसम्म सहमतिको प्रयास खोजिने र नभए भोलि छिटै निर्वाचन प्रकृयामा जाने बताइन् । निर्वाचन समितिका सदस्यहरुले भोलि नै निर्वाचन भएपनि सबै प्रकृया भोली संभव नहुने जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर