लुम्बिनीमा सकभर चुनाव नगर्न ओलीको आग्रह, पद्मा अर्याललाई जिम्मा दिएर काठमाडौं फर्किए – Nepal Press

लुम्बिनीमा सकभर चुनाव नगर्न ओलीको आग्रह, पद्मा अर्याललाई जिम्मा दिएर काठमाडौं फर्किए

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याललाई जिम्मेवारी दिएर अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्केका छन् ।

काठमाडौं फर्किनुअघि आइतबार बिहान बन्द सत्रमा सम्बोधन गर्दै ओलीले एकताबद्ध भएर जान प्रतिनिधिलाई निर्देशन गर्दै पार्टीको सबै निर्णय गर्ने अधिकार अर्याललाई दिए ।

एउटा पद नहुँदै केही बिग्रिने छैन, म नभए पनि विष्णुजी नभए पनि सबै अधिकार इन्चार्ज अर्यालजीलाई दिएको छु, यहाँको सबै आधिकारिक निर्णय उहाँले सुनाउनुहुन्छ, नमाने चुनावमा जाने अधिकार सबै प्रतिनिधिलाई छ, ओलीले भने । नेताहरूलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न उनले आग्रह गरे ।

‘मेरो अन्तिम निष्कर्ष चुनावमा भरसक नजानुस् । लुम्बिनीले नमूना देखाउँछ भनेर पहिले नम्बरमा राखेका हौं’, अध्यक्ष ओलीले भने, ‘एउटा पद नहुँदैमा केही बिग्रिँदैन । नेतृत्वले पार्टी हितविपरीत केही पनि सोच्दैन । तपाईँहरू एकताबद्ध भएर जानै पर्छ । तपाईँहरू पार्टीलाई के असर पर्छ भनेर सोचेर जानुपर्छ ।’

अध्यक्ष ओलीले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पदमा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरे । अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनु पर्‍यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’

प्रतिनिधिहरूलाई समेत इन्चार्जको निर्देशन मान्नु पर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए । अध्यक्ष ओलीले पार्टीभित्र आम रूपमा आत्मकेन्द्रीत हुने प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

‘पार्टीको निर्णयमा, पार्टीको हितमा, देशको हितमा अघि बढौं । आन्दोलन सफल बनायौँ भने मात्रै अवसरहरू प्राप्त हुन्छन् । हामी सफल हुन्छौँ ’, ओलीले भने ।

नेकपा एमाले अन्य पार्टीजस्तो ल्याङफ्याङ हुने छुट नभएको बताउँदै उनले इगो त्यागेर एकताबद्ध र सुदृढ हुनु पर्ने बताए ।

शनिवार रातीसम्म सहमतिको प्रयास भए पनि कुनै टुंगो लागेको छैन । नेतृत्वको लागि समूह बनाएका नेताहरूलाई ओलीले बोलाएर यस्तो नगर्न निर्देशन दिएका स्रोतले बतायो । सहमतिमा उपाध्यक्ष विष्णु पौडेलसमेतको टोलीले अध्यक्षलाई सिफारिस गरे पनि अझै कुनै टुंगो लागेको छैन ।

अध्यक्षका लागि अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल नेतृत्वको आकांक्षी रहेका छन् । महासचिव शंकर पोखरेल चीन जाने भएकाले शनिवार नै फर्केका हुन् भने उपाध्यक्ष पौडेल पनि अध्यक्षसँगै काठमाडौं फर्केका छन् ।

अधिवेशनमा कावा महासचिव प्रदीप ज्ञवाली भए पनि अध्यक्ष ओलीले प्रदेशको इन्चार्ज रहेकी सचिव पद्मा अर्याललाई पार्टीको आधिकारिक निर्णयको अधिकार दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर