पिएस भन्छन्- एमाले ठूलो बन्न नेकपा एस रित्याउनैपर्छ, हामीभित्रकै दक्षिणपन्थी संकीर्णतावाद बाधक छ (भिडिओ) – Nepal Press

पिएस भन्छन्- एमाले ठूलो बन्न नेकपा एस रित्याउनैपर्छ, हामीभित्रकै दक्षिणपन्थी संकीर्णतावाद बाधक छ (भिडिओ)

‘प्रचण्डलगायत केही नेताको संगत तस्कर र माफियासँग मात्र भएकाले माओवादीको ठूलो पङ्क्ति एमालेमा आउन चाहन्छ, बाबुरामको पार्टी झनै बिल्लिबाठ छ’

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रको दक्षिणपन्थी संकीर्णतावादका कारण धेरै वामपन्थी पार्टीका मान्छेहरू एमालेमा आउन हच्किएको टिप्पणी गरेका छन् ।

एमालेनिकट प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको प्रथम अधिवेशनलाई शनिवार सम्बोधन गर्दै उपमहासचिव गुरुङले एमाले बलियो बन्न सबैभन्दा पहिले नेकपा एसलाई रित्याउनै पर्ने बताए ।

गुरुङले भने- एमालेले सहकार्य गर्ने भनेको वामपन्थीसँगै हो । कांग्रेस त हाम्रो सधैंको प्रमुख प्रतिस्पर्धी हो । आज एमालेविरुद्धको गठबन्धनका कारण अलिकति हामी कमजोर भयौँ, त्यसैले प्रचण्ड कांग्रेसतिर भरोसा लागेर प्रधानमन्त्री बनाइदिएपछि पनि उतै लागे । हामी बलियो हुन सबैभन्दा पहिले नेकपा एसमा लागेका सबै मान्छेलाई फर्काउने हो । त्यसलाई रित्याउने नै हो । मुकुन्द न्यौपानेबाट त्यो शुरु भएपछि मकैको हार खसे जसरी मान्छेहरू एमालेतिर खसिरहेका छन् । तर हामीभित्रै एउटा दक्षिणपन्थी संकीर्णतावादले गर्दा हामी हिजो केपी ओलीलाई संकटमा साथ दिनेहरू यत्तिकै छौँ, उताबाट आउनेलाई पद दिने ? भन्ने प्रवृत्ति बाधक बनेको छ । नेकपा एसलाई सक्ने हो भने उताबाट आउने मान्छेलाई उचित व्यवस्थापन किन नगर्ने ? मेरो अहिले त्यसैमा पार्टीभित्र पनि परिरहेको छ ।

उपमहासचिव गुरुङले माओवादीभित्र पनि ठूलो उकुसमुकुस रहेको र धेरै मान्छे एमालेमा आउन चाहेको बताए । आफू कार्यक्रममा आउनुअघि पनि माओवादीहरूसँगै छलफल गरिरहेको भन्दै प्रचण्ड र केही नेताका परिवार तथा आसेपासेले कमाउनेबाहेक माओवादीमा अरू नेता कार्यकर्ताले भविष्य नदेखेको उनले बताए ।

गुरुङले भने– प्रचण्डको संगत तस्करसँग छ । कालोबजारी र माफियाहरूसँग छ । उनीहरूका सीमित व्यक्तिले तस्करी गरेर कमाइरहेका छन् । अरू मान्छेले एमालेमा भविष्य देखिरहेका छन् । उनीहरूलाई ल्याउन हामीले पार्टीभित्र संकीर्णता होइन उदारता देखाउनुपर्छ । नत्र त हामी कसरी ठूलो पार्टी बन्छौ ? यो सोचौँ ।

गुरुङले बाबुराम भट्टराई नेतृत्वको नेसपामा झनै बिल्लिबाठ रहेको बताए । प्रचण्डले गोरखामा चुनाव जित्नका लागि बाबुरामलाई राष्ट्रपति बनाउने आश्वासन दिएका कारण बाबुरामले त्यसबेला मान्छेहरूलाई रोकेको भन्दै प्रचण्डबाट धोका भएपछि अब नेसपाका मान्छेलाई पनि बाबुरामबाट एमालेतिर ल्याउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर