एमाले लुम्बिनी प्रदेश अधिवेशन: ओलीको चाहनाअनुसार होला त नेतृत्व सर्वसम्मत ? – Nepal Press

एमाले लुम्बिनी प्रदेश अधिवेशन: ओलीको चाहनाअनुसार होला त नेतृत्व सर्वसम्मत ?

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुँदैछ । प्रदेश कमिटीमा नयाँ नेतृत्व लिन नेताहरू आन्तरिक दौडधुपमा लागेका छन् । अधिवेशनमा दुई पक्षबीच चुनावी प्रतिस्पर्धा हुने चर्चा भइरहँदा मध्यमार्गी नेताहरुले निर्वाचन नहुने संकेत गरेका छन् ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रामनगरमा हुने प्रदेश अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्ने छन् । पार्टी अध्यक्ष ओलीसहित शीर्ष नेताहरु अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा छन् ।

दशौं महाधिवेशनबाट गुटबन्दी अन्त्यको घोषणा गरेको एमालेमा लुम्बिनीमा पुनः गुटबन्दी देखिएको छ । जसलाई बढ्न नदिन मध्यमार्गी नेताहरुले चर्चामा आएभन्दा फरक तरिकाले नेतृत्व चयन गर्ने पहल थालेका छन् ।

नेतृत्वका आकांक्षीहरु पार्टी अध्यक्षलाई लामो समयदेखि साथ दिँदै आएका भएकाले दुवैको व्यवस्थापन हुने गरी निर्वाचन नहुने सम्भावना बढेको एमालेका एक पोलिटव्युरो सदस्य बताउँछन् ।

लुम्बिनीमा एमालेको प्रदेश अधिवेशन सबैभन्दा पहिला हुँदैछ । त्यसैले पनि यहाँबाट नेतृत्वमा प्यानलगत उम्मेदवार नबनाउने गरी मुख्य नेताहरूले चासो दिएका छन् ।

‘यहाँ निर्वाचनमा गुटबन्दी गर्दा अन्य प्रदेशमा पनि सोहीअनुसारको सन्देश जाने भएकाले सकभर नेतृत्वले रोक्नुपर्ने गरी नेताहरुको सक्रियता बढेको छ’, ती पोलिटव्युरो सदस्य भन्छन् । उनका अनुसार अहिले निर्वाचन तयारी गरेका प्रदेश नेताहरूलाई अध्यक्ष केपी ओलीले सर्वसम्मत गराउनुपर्छ भन्ने निर्देशन आउने सम्भावना छ।

विष्णु पौडेल या शङ्कर पोखरेललगायत जुनसुकै नेताको नाममा समूह बनाए पनि अध्यक्षको अगाडि यसरी निर्वाचनमा लैजाऊँ भन्ने हिम्मत गर्न नसक्ने एक केन्द्रीय सदस्यले बताए ।

केही केन्द्रीय सदस्यहरुले समूह बनाएर प्रचारमा लागेको पाइएपछि पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले शुक्रबार लुम्बिनीबाट केन्द्रीय कमिटीमा रहेका नेताहरुलाई बोलाएर यहाँबाट गलत सन्देश जान नदिन निर्देशन दिएकी छन् ।

शुक्रबार बुटवलमा गरिएको पत्रकार सम्मेलनमा समेत नेतृ अर्याल र पोलिटब्युरो सदस्य सूर्य थापाले सकेसम्म सर्वसम्मत नेतृत्व छान्ने प्रयास रहने र त्यो सम्भव रहेको संकेत गरेका छन् ।

के भन्छन् आकांक्षीहरु ?

अध्यक्षका आकांक्षी राधाकृष्ण कँडेल र हरि रिजाल दुवैले अहिले प्यानल बनाएर मैदानमा नजाने बरु व्यक्ति– व्यक्ति जाने बताएका छन् ।

आकांक्षी कँडेलले आफूसँग अनुभव र काम गर्न सक्ने योग्यता भएको आधार तयार गरेको भन्दै आफ्नो पक्षमा सर्वसम्मत नभए निर्वाचन हुने र त्यसबाट आएको फैसला मान्ने बताए ।

उनले १२ वटा जिल्लाका पालिका प्रतिनिधिहरुको रायअनुसार आफू मैदानमा जाने स्पष्ट पारे । तर, उनले कुनै समूहमा रहेर प्यानल नबनाउने प्रतिबद्धता जनाए ।

अध्यक्षको तयारी गरेका केन्द्रीय सदस्य रिजालले भने, ‘मलाई मन पराउनेले मेरो पक्षमा मत माग्नुहुन्छ, भोट हाल्नुहुन्छ । कँडेलजीलाई मन पराउनेले उहाँलाई हाल्नुहुन्छ । यहाँ गुट, प्यानल हुँदैन ।’

प्रदेश अधिवेशन नजिकिएसँगै यहाँ गुटगट गोप्य भेला भइरहेका छन् । पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको टीमको नाममा नेताहरूले छुट्टाछुट्टै भेला र बैठक गरिरहेका छन् । दुइटै पक्षले गोप्य बैठकलाई तीव्रता दिएपछि उनीहरुको आलोचना पनि भइरहेको छ ।

अहिले निर्वाचन तयारी गरेका प्रदेश नेताहरूलाई अध्यक्ष केपी ओलीले सर्वसम्मत गराउनुपर्छ भन्ने निर्देशन दिएपछि विष्णु पौडेल या शङ्कर पोखरेलले पनि साथीहरूको तयारी भएको छ, निर्वाचनमा लैजाऊँ भन्ने हिम्मत गर्न नसक्ने एक केन्द्रीय सदस्यले बताए ।

गुटगट भेलामा सहभागी केन्द्रीय सदस्य चेतनारायण आचार्यले अधिवेशनको बेला सामान्य साथीहरू भेटघाट गर्दा पनि केन्द्रीय नेताहरूको नाम जोडेर अर्को पक्षले प्रचार गरेको आरोप लगाए ।

उनले प्रदेश अधिवेशन भएकोले प्रदेशले मिलाउनुपर्नेमा केन्द्रीय नेताहरूको नाम पक्ष विपक्षमा ल्याउनु गलत भएको बताए ।

कस्तो छ दुई नेताको तयारी ?

वर्तमान प्रदेश कमिटी अध्यक्ष कँडेल र केन्द्रीय सदस्य रिजालबीच चुनावी प्रतिस्पर्धा हुने लगभग निश्चित छ । अध्यक्षका दुवै आकांक्षीहरू आआफ्नो अडानबाट पछि हटेका छैनन् ।

केन्द्रमा अध्यक्ष ओली निकट मानिने दुवै नेताहरू भूगोलमा दुई खेमामा विभाजित भएका छन् । कँडेललाई केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाललाई महासचिव शंकर पोखरेल निकट भनेर गुटबन्दी भइरहेको छ ।

पार्टीमा गुट उपगुट नभएको नेताहरूले प्रतिक्रिया दिँदै आए पनि लुम्बिनीमा यो झांगिएको छ । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेल र पार्टी महासचिव शंकर पोखरेल निकटका भूगोलका केही नेताहरूले दुई खेमा बनाएर चुनावी तयारी गरेका छन् ।

अधिवेशनको तयारी पूरा

भदौ १६ र १७ गते बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको तयारी पूरा भएको एमालेले जनाएको छ । अन्तिम तयारीबारे जानकारी दिन शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीकी सचिव एवं प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्युरो सदस्य सूर्य थापा, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले ले एमालेको राजनीतिक जीवनलाई रक्त सञ्चार गर्ने र देशलाई नै नयाँ सन्देश दिने गरी अधिवेशनको तयारी भएको बताए ।

प्रदेश इन्चार्ज अर्यालले प्रदेशको नेतृत्व चयन सकेसम्म सर्वसम्मत गरिने र सहमतिबाट हुन नसके स्वस्थ प्रतिस्पर्धा हुने बताइन् । उनले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई निषेध नगरिएको तर अहिले प्रचारमा ल्याइए जस्तो कुनै समूहगत उम्मेदवारी नहुने स्पष्ट पारिन् ।

पोलिटब्युरो सदस्य सूर्य थापाले लोकतान्त्रिक प्रक्रिया अपनाउने विषयमा नेपालमा एमाले पहिलो भएको र अहिले प्रचारमा आए जस्तो एमालेमा कुनै गुट नभएको दाबी गरे ।

सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष ओलीले शनिबार दिउँसो १२ः३० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा गर्ने प्रदेश अध्यक्ष कँडेलले बताए ।

उनका अनुसार उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्मा अर्याललगायतको उपस्थिति रहनेछ ।

सम्मेलनपूर्व बिहान १० बजे राजमार्ग चौराहबाट सम्मेलनस्थलसम्म जुलुस तथा झाँकी प्रदर्शन गरिनेछ ।
सम्मेलनका लागि १२ वटा जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनबाट छानिएका १००४ प्रतिनिधिहरु सम्मेलनका प्रतिनिधि रहेका छन्।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुम पूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् ।

त्यस्तै जनसंगठनबाट ८३ जना छनोट भएको एमाले लुम्बिनीका प्रचारप्रसार विभाग प्रमुख डीआर घिमिरेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर