भदौ २० देखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला-२०८० हुँदै (भिडिओ) – Nepal Press

भदौ २० देखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला-२०८० हुँदै (भिडिओ)

काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला-२०८० आयोजना गर्ने भएको छ ।

शुक्रबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला-२०८० गर्ने जानकारी दिएको हो । महासंघले महिलाहरुले उत्पादित सामग्री प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला-२०८० गर्ने लागेको बताएको छ ।

पत्रकार सम्मेलनमा महासंघका महासचिव कुमार भुजेलले एक घर एक व्यवसायप्रति प्रतिवद्ध साना तथा मझौला व्यवसायीहरुलाई एकीकृत रुपले एकतावद्ध गराउने उद्देश्य रहेको बताए । उनले साना तथा मझौला उद्यमीहरुको मुलुकभर सञ्जाल विस्तार गरी उद्यमशिलता र बहुआयामिक उत्पादनहरुको विकास र प्रवद्र्धनका निम्ति सहजिकरण गर्ने उद्देश्यले ५ दिने महिला उद्यमी मेला आयोजना गर्न लागिएको बताए ।

उनले मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामानहरु हस्तकला, लत्ताकपडा, कस्मेटिक सामग्री, दैनिक उपभोग्य सामानहरु, खाद्यान्न सामग्री, नर्सरी तथा फलफूल, कृषिजन्य उत्पादन, काष्ठजन्य घर सजावटका सामग्री,विभिन्न आर्टहरु प्रदर्शनीमा राखिने बताए । उनले प्रदर्शनीमा ७० वटा स्टल राखिने बताए । उनले महिला उद्यमी मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा रहेको बताए । मेलामा ५० लाखसम्म कारोबार हुने अपेक्षा पनि आयोजकको छ ।

त्यस्तै, महासंघकी सहअध्यक्ष इन्दु पौडेलले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र महिला उद्यमीहरुको विकास संरक्षण गर्नको लागि मेलाको आयोजना गर्न लागेको बताइन् । उनले बजारीकरणको राम्रो व्यवस्था नहुँदा नेपाली महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुले बजार पाउन नसकेको गुनासो गरिन् । उनले सरकारले महिला उद्यमीहरुको विकास प्रवद्र्धन गर्न आवश्यक रहेको बताइन् ।

उनले मुलुक संघीयतामा गएसँगै तीन तहको सरकार रहेको भन्दै प्रदेश सरकारहरुले प्रत्येक प्रदेशमा एक÷एक वटा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तु बिक्री केन्द्र बनाउन माग गरिन् । उनले सरकारले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारिकरणको लागि सहजीकरण गरे मात्रै उत्पादन वृद्धि हुनसक्ने बताइन् । उनले सरकारले नै समय–समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला उद्यमी मेला आयोजना गर्न आवश्यक रहेको बताइन् ।

महासंघले महिला उद्यमी मेलामा राष्ट्रिय कलाकारहरुबाट विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु समेत हुने जनाएको छ । मेलामा महिला उद्यमीहरुले स्टल राख्नको लागि उत्साहित देखिएको भन्दै ७० वटै स्थलहरु बुक भइसकेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *