कोरियाली पर्यटकको गुणस्तरीय सेवा र स्वस्थकर खानाका लागि कोटानका स्टाफलाई तालिम (भिडिओ) – Nepal Press

कोरियाली पर्यटकको गुणस्तरीय सेवा र स्वस्थकर खानाका लागि कोटानका स्टाफलाई तालिम (भिडिओ)

काठमाडौं । नेपाल आउने कोरियाली पर्यटकहरुलाई राम्रो सेवा सुविधा र स्वस्थकर खानाका साथै कसरी सुरक्षा उपाय अपनाउने भन्नेबारेमा टुर गाइडहरुलाई तालिम दिइएको छ ।

नेपालका लागि कोरियाली राजदूत पार्क ताइ योङको उपस्थितिमा शुक्रबार पर्यटन बोर्डको हलमा कोरियन टुर्स एण्ड टे«किङ अपरेटर्स एसोसियसन नेपाल (कोटान)ले तालिम आयोजना गरेको हो ।

विशेषगरी कोटानसँग आबद्ध ट्रेकिङ तथा ट्राभल एजेन्सीका स्टाफहरुका लागि यो तालिम आयोजना गरिएको कोटानका अध्यक्ष अमरबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार फिल्ड स्टाफहरुलाई स्वस्थकर खाना तयार गर्नेबारे समेत तालिम दिइएको छ ।

नेपाल पर्यटन बोर्डका सदस्यसमेत रहेका कोटानका कोषाध्यक्ष ङावा ङिमा शेर्पाले कोरियाली पर्यटकहरुले पदयात्रा तथा आरोहणमा जाँदा कोरियन खाना नै खाने भएकाले कसरी हाइजिन व्यवस्थित गर्ने भन्नेबारे तालिम केन्द्रित रहेको बताए ।

यसका साथै उच्च हिमाली क्षेत्रमा पर्यटकको सुरक्षाका उपायहरुको बारेमा पनि तालिम दिइएको छ । पर्यटन मजदुरहरुलाई स्वस्थकर खाना तथा कोरियन खानाको बारेमा मास्टर सेफ सन्तोष साह, आङ दोर्जे शेर्पालगायतले तालिम दिएका छन् ।

नेपाल पछिल्लो समय कोरियाली पर्यटकहरुको आकर्षक गन्तव्य बने पनि पर्यटनमैत्री सरकारी नीति तथा योजनाका साथै भौतिक पूर्वाधारहरु नरहेको बोर्ड सदस्य शेर्पाले बताए ।

यद्यपि आरोहणमा कम भए पनि पदयात्रामा कोरियाली पर्यटकको संख्या बढेको उनले जानकरी दिए ।

अध्यक्ष शाहीका अनुसार नेपालमा आउने ९० प्रतिशत कोरियाली पर्यटक सीधै नेपाली एजेन्सीमार्फत नै आउने गर्छन् । जबकि अन्य देशमा आउने ५० प्रतिशत पर्यटक भारतका एजेन्सीहरुमार्फत आउने गरेको शाहीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर