कोशी सरकारविरुद्धको रिटको पूर्णसुनुवाइका लागि इजलास तय – Nepal Press

कोशी सरकारविरुद्धको रिटको पूर्णसुनुवाइका लागि इजलास तय

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष गरिरहेका सांसदबाट मत हालेर विश्वासको मत लिएकोविरुद्ध परेको रिटको सुनुवाइका लागि इजलास तय भएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।

सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो । उक्त मुद्दाउपर आज पूर्ण सुनुवाइ हुँदैछ ।

भदौ ६ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भनिसकेको छ । सँगै दीर्घकालीन प्रभाव पर्ने काम र निर्णय नगर्न अन्तरिम आदेश जारी गरिएको थियो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अग्राधिकारसहित मुद्दाको पूर्ण सुनुवाइका लागि आज पेसी तोकेका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिने दिन इस्राइल मन्सुरीले र गीता तिम्सिनाले पालैपालो सभाको अध्यक्षता गरेका थिए । दुवै जनाले थापालाई विश्वासको मतसमेत दिएका थिए ।

आजबाट हुने पूर्ण सुनवाइमा एमालेका तर्फबाट टीकाराम भट्टराई शम्भु थापा, सतिसचन्द्र खरेल बलराम दाहाल लगायतका कानून व्यवसायीहरूले बहस गर्ने छन् ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सविालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेका छन् ।

यसअघि सभामुख बाबुराम गौतमको हस्ताक्षरबाट बहुमत जुटाएर मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर भएपछि पुन: सभामुखलाई राजीनामा गराएर कांग्रेस-माओवादी-नेकपा एस र जसपाको गठबन्धनले सरकार बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर