एमाले लुम्बिनी नेतृत्वको दौड : निर्देशन अवज्ञा गर्दै गुटवन्दीमा नेताहरू – Nepal Press
एमाले प्रदेश अधिवेशन

एमाले लुम्बिनी नेतृत्वको दौड : निर्देशन अवज्ञा गर्दै गुटवन्दीमा नेताहरू

प्रतिनिधि र शीर्ष नेताबाट खबरदारी

रुपन्देही । नेकपा एमालेका सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीमा अहिले कुनै गुट नभएको र अधिवेशनमा त्यो बनाउने छुट कसैलाई नभएको बताएको भोलिपल्टै लुम्बिनीमा गुटगत भेला सुरू भए । अधिवेशन नजिकिँदै गर्दा नेताहरूले गुटको भेला गरेको पाइएपछि अधिवेशनका लागि छानिएका प्रतिनिधि र शीर्ष नेतृत्वले नै यस्तो गर्ने छुट कसैलाई नभएको भन्दै खबरदारी गरेका छन् ।

एमाले लुम्बिनीको प्रथम अधिवेशन यही भदौ १६ र १७ गते बुटवलमा हुँदैछ । उक्त अधिवेशनको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रदेशको कमाण्ड सम्हाल्न नेताहरू दौडधुपमा लागिरहेका बेला केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलनिकटका नेताहरू भने लुम्बिनीको भूगोलमा विभाजित देखिएका छन् ।

केन्द्रीय सदस्यसमेत रहेका प्यूठानका पूर्वप्रदेश सांसद, पूर्वमन्त्री हरि रिजालसहितका नेताहरूले बुटवलको ढवाहामा रहेको आरम्भ रिसोर्टमा भेला गरेको तस्बिर सार्वजनिक भएको छ ।

उपाध्यक्ष विष्णु पौडेलनिकट मानिने वर्तमान प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल समूहका केही नेताहरूले पनि तिलोत्तमाको मणिग्रामस्थित ड्रिम ल्याण्ड रिसोर्टमा भेला गरेका छन् । ड्रिम ल्याण्डको भेलाको तस्बिर भने सार्वजनिक भएको छैन ।

एमाले पोलिब्युरो सदस्य तथा पूर्व प्रदेश अध्यक्ष लीला गिरीले पार्टी निर्देशनविपरीत कसैलाई गुट बनाउने छुट नभएको र यसो भए गुट बनाउनेकै क्षति हुने बताएका छन् ।

‘पार्टी प्रदेश अधिवेशनको पूर्वसन्ध्यामा अधिवेशनलाई प्रभाव पार्नेगरी केन्द्रीय सदस्यहरूको अगुवाइमा गुटगल भेला आयोजना गरिएका छन्, लामो गुटफुट र विभाजनको पीडाबाट मुक्त भई सहजतापूर्ण परिवेश बन्ने समयमा यसो गरिनु अत्यन्तै दुःखद हो, यसले पार्टीलाई फाइदा गर्दैन’, नेता गिरीले भने । उनले अधिवेशनमा आउने सबै प्रतिनिधिलाई यसखाले गलत गतिविधिका प्रभावमा नपर्न र स्वतन्त्रापूर्वक आफ्नो विवेश प्रयोग गर्न आग्रह गर्दै यसो गर्नेलाई सबक सिकाउन आग्रह गरेका छन् ।

केन्द्रीय सदस्य चेतनारायण आचार्यले केही मन मिल्ने साथीहरुको बसाइलाई गुटको भेला भनिनु राम्रो नभएको बताए ।

‘हो हामी केही साथीहरु बसेर कसरी अधिवेशन सम्पन्न गर्ने, कसरी नेतृत्व छनौट गर्ने भन्ने विषयमा छलफल गरेका हौं, मेरो घर पनि बेलवास नै भएकाले यतै होटलमा बसेका हौं, प्रदेशको नेतृत्व सर्वसम्मत हुन्छ, यो अनावश्यक चर्चाका लागि धेरै बहस गर्न जरुरी छैन’, उनले भने ।

प्यूठान अध्यक्ष विजयविराज विष्टका अनुसार सो भेलामा रोल्पा र रुकुमका नेता भने सहभागी थिएनन् । विष्टले गुटको भेला नभई नेताहरुका बीचमा सामान्य छलफल भएको दाबी गरे । जिल्लाबाट छनोट भएका प्रतिनिधिको गुटगत पक्षधरता र चुनावी रणनीतिबारे रिपोर्टिङ र छलफल भएको विष्टले बताए ।

‘नेतृत्व चयन सहमतिबाट गर्न अधिकतम पहल गर्ने र हुँदै नभएमा मात्रै चुनावमा जाने भन्ने विषयमा छलफल भयो’, विष्टले भने, ‘शीर्ष नेताहरुलाई सहमतिका लागि दबाव दिन भेला गरिएको हो, त्यस्तो खास अरु केही भएको हैन ।’

अध्यक्ष पदका लागि पाल्पाका राधाकृष्ण कंडेल, प्युठानका हरिप्रसाद रिजाल र दाङका लक्ष्मण आचार्य आकांक्षी छन् । तीनैजना नेताहरूले जिल्ला-जिल्लामा विभिन्न तहका नेताहरूसँग छलफल तीब्र पारेका छन् । उनीहरुले सामान्य छलफललाई गुटको भेला भन्न नमिल्ने बताएका छन् ।

दाङबाट प्रतिनिधि बनेकी सरिता सुवेदीले अधिवेशनका बेला गुट बनाउने नेतृत्वलाई प्रतिनिधिले सबक सिकाउनु पर्ने र अवसर नपाएका र नेतृत्व क्षमता भएकालाई पार्टी नेतृत्व दिनुपर्ने बताउँछिन् ।
एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले अधिवेशनका बेला सामान्य भेटघाट, छलफललाई सामान्य मानेपनि समूह नै बनाएर निर्वाचनमा जाने विषय उचित नहुने बताउँछन् । नेतृत्वका आकांक्षीहरुलाई प्रतिनिधिसमक्ष जान दिनुपर्ने उनको भनाइ छ ।

एमालेका युवा नेता देवराज पोखरेलले पार्टीको विशेष जिम्मेवारीमा भएकै नेताहरूको अगुवाइमा अमूक नेताको गुट बनाएर पार्टी झनै कमजोर हुने बताउँछन् । उनले पार्टी अध्यक्ष केपी ओलीलाई सम्बोधन नै गरेर भनेका छन्, ‘केन्द्रीय सदस्यहरुको अगुवाइमा गुटको भेला भयो, अध्यक्ष कमरेड, यसरी नै बन्छ पार्टी ? कि रोक्नुस्, अन्यथा माथिबाटै यो योलाई जिताएर पठाइदिनू भनेर सर्कुलर गरिदिनुस् ।’

नेता पोखरेलले उपल्लो कमिटीको जिम्मेवारीमा रहेका नेतालाई राजीनामा गर्न लगाएर उम्मेदार बनाउने र गुट सिर्जना गर्नखोज्ने गलत प्रवित्तिले ०८४ मा झन् ठूलो क्षति हुने चेतावनी दिएका छन् ।

विश्लेषक ऋषि आजाद अधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न पाउने अधिकार आकांक्षीलाई भएपनि कुनै शीर्ष नेताको ट्याग झुण्डाएर कित्ताबन्दी गराउने अधिकार कसैलाई नभएको बताएका छन् ।

‘यस्तो दुस्प्रचार किमार्थ नहोस्, गुट नचाहनेले खबरदारी गरौं, केन्द्रीय कमिटीका नेताहरूलाई गुट बनाउने छुट छैन, बुर्के कचरी गर्ने, अनावश्यक दौडधुप गर्नेलाई प्रतिनिधिले ठेगान लगाउन्’, उनले भनेका छन् ।

अधिवेशन र गुटगत भेलालाई लिएर यस्तो छ नेताहरूको सार्वजनिक टिप्पणी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर