समस्याग्रस्त सिभिल सहकारीले बोलायो विशेष साधारणसभा, बचत फिर्ता गर्न समिति गठन गर्ने – Nepal Press

समस्याग्रस्त सिभिल सहकारीले बोलायो विशेष साधारणसभा, बचत फिर्ता गर्न समिति गठन गर्ने

काठमाडौं । समस्याग्रस्त सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडले समस्या समाधान गर्न विशेष साधारणसभा बोलाएको छ । सभाले समस्या समाधानका लागि विशेष अधिकारप्राप्त समिति चयन गर्नेछ । समिति गठन गर्न सिभिल सहकारीको भदौ ३० मा विशेष साधारणसभा बोलाएको हो ।

अधिकार प्राप्त समितिले संस्थाको बचत तथा लगानी गरेको ऋण लगायत दायित्व यकिन गर्नेछ । सहकारीका ऋणीबाट उठाउनुपर्ने रकम उठाउने र फिर्ता गर्नुपर्ने निक्षेप फिर्ता गर्ने गरी समस्या समाधान गर्न आवश्यक अख्तियारी अधिकारप्राप्त समितिलाई दिने जनाएको छ । समितिले पीडित बचतकर्ता सदस्यको बचत रकम फिर्ता गर्न आवश्यक कार्यविधि पनि बनाउने छ ।

विशेष साधारणसभामा सम्पुर्ण निक्षेपकर्तालाई आफ्नो खाता नं., स्टेटमेन्ट वा चेकबुक लिइ अनिवार्य उपस्थित हुन आह्वान गरिएको छ । उच्च अदालत पाटनको २०७९ कात्तिक २५ को आदेश अनुसार भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र पीडित बचतकर्ताबीच पटक-पटक छलफल भएपछि समस्या समधानका लागि पहल अघि बढाइएको हो ।

सिभिल सहकारीका बचतकर्ताको उजुरीमा सिआइबीले पुर्व अध्यक्ष इच्छाराज तामाङ तथा सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई हिरासतमा राखेको छ । १ हजार ४९९ जना पीडित बचतकर्ताबाट ५ अर्ब ६७ करोड ९ लाख ७६ हजार रुपैयाँको लिखित उजुरी परेको थियो । सहकारीमा रकम जम्मा गरेर नपाएका १ हजार ९ सयजना सम्पर्कमा आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *