धरानमा युवा संघको प्रादेशिक भेला, पहिचानवादीको बिथोल्ने धम्कीपछि चुम्लुङको हल नपाउने – Nepal Press

धरानमा युवा संघको प्रादेशिक भेला, पहिचानवादीको बिथोल्ने धम्कीपछि चुम्लुङको हल नपाउने

धरान । जसपा नेतासमेत रहेका आदिवासी जनजाति नेता आङकाजी शेर्पाले धरानमा हुन लागेको नेकपा एमालेनिकट युवा संघको कोशी प्रदेशस्तरीय भेला बिथोल्ने चेतावनी दिएका छन् ।

भदौ २३-२४ मा राष्ट्रिय युवासंघ नेपालले प्रथम कोशी प्रदेश अधिवेशन धरानमा गर्दैछ । धरानको किरात याक्थुङ चुम्लुङको भवनमा अधिवेशन हुने भनेर पोस्टर सार्वजनिक भएपछि पहिचानवादीहरूले विरोध गरका थिए ।

आङकाजीले बिथोल्ने चेतावनीसमेत दिएपछि किरात याक्थुङ चुम्लुङको बीचको बाटो खोजेको छ । पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै उक्त संस्थाले युवा संघलाई हल दिन नसकिने जनाएको छ ।

मन्दिरको अघि चर्च बनाइएको र गोरु काटेर खाइएको भिडिओ सार्वजनिक भएपछि राष्ट्रिय चर्चा भइरहेको धरानमा युवासंघको प्रदेशस्तरीय याक्थुङ चुम्लुङमा हुने भएपछि पहिचानवादीहरूले विरोध गरेका थिए ।

तर, विरोध गरिए पनि धरानमै भेला सम्पन्न हुने धरानकै बासिन्दा युवासंघ नेपालका केन्द्रीय सदस्य दिवस वान्तवा बताउँछन् । बान्तवाका अनुसार किरात याक्थुङ चुम्लुङको भवनमा भने अधिवेशन हुने छैन ।
धरानमै प्रदेशस्तरीय हुने भए पनि आफूहरूले अहिले हलको खोजी गरिरहेको बान्तवाले बताए । उनले ‘कथित पहिचानवादी’ सँग जोरी खोज्ने आफूहरूको नीति नरहेको बताए ।

उनले भने, ‘युवासंघ नेपालले धरानमा अधिवेशन गर्ने निर्णय गर्‍यो । तर, साथीहरूले किरात याक्थुङ चुम्लुङसँग मौखिक रुपमा मात्रै हल बुक गरेका रहेछन् । अहिले हामी त्यहाँ नगर्ने निर्णयमा पुगेका छौं । युवासंघले सबै भाषाभाषी, संस्कृति, जातजातिलाई सम्मान गर्छ । त्यसैले सहकार्य गरेर जानुपर्छ भन्ने सन्देश दिनका लागि हामीले धरानमै अधिवेसनको आयोजना गर्ने निर्णय गरेका हौं ।’

पछिल्लो समय धरान असुरक्षित छ भनेर भनिँदै गर्दा धरानमा केही भएकै छैन भन्ने सन्देश दिनका लागि पनि आफूहरुले धरानमै अधिवेशन गर्ने वान्तवाको भनाइ छ ।

अर्कातिर किरात याक्थुङ चुम्लुङ धरानका अध्यक्ष मोहनकुमार हुक्पाचुङबाङका अनुसार युवासंघका प्रतिनिधिले चौकीदारलाई हल सोध्दा खाली छ भनिदिएकाले युवासंघले मौखिकरूपमा बुक गरेको बताए ।

तर, आफूहरूले हरेक वर्ष वार्षिकरूपमा बस्ने बैठक पहिल्यै तय भइसकेको र उक्त बैठक भदौ २२, २३ र २४ मा याक्थुङ चुम्लुङकै भवनमा गर्ने निर्णय भएको हुक्पाचुङबाङले बताए ।

उनले भने, ‘हाम्रो कार्यक्रम पहिल्यै तय भइसकेको थियो । तर, चौकीदारले हामीलाई नसोधी भवन खाली नै छ भनेर भनिदिएछ ।’

युवासंघ नेपालले धरानको याक्थुङ चुम्लुङको हलमा अधिवेसन गर्ने भनेर पोस्टर सार्वजनिक गरेपछि पहिचानवादीहरूले संजालमा विरोध गरेका थिए ।


प्रतिक्रिया

2 thoughts on “धरानमा युवा संघको प्रादेशिक भेला, पहिचानवादीको बिथोल्ने धम्कीपछि चुम्लुङको हल नपाउने

  1. पहिचानवादीको आवरणमा दलाली गर्ने गुण्डाहरूसँग महान उद्देश्य बोकेको युवासंघले के मुख लाग्नु ? प्रचण्ड, दिल्ली र पश्चिमाको पैसा खाएर एमालेलाई कमजोर बनाउन सकिन्छ कि भनेर दिवा स्वप्न देख्ने यस्ता दलालको उद्देश्य खालि पैसा हुन्छ, पेशेवर गुण्डाको जस्तै । यिनले पैसा पाए सन्तान पनि बेच्छन । यस्ता तुच्छलाई बेवास्ता गर्ने हो युवासंघले । निहु खोजेर छोए मात्र पनि यी एउटा पनि बाँकी रहदैनन । सबैले घोषणा गर्नेछन कि पहिचानवादीको नाममा अहिले हामीले गरिरहेको दलाली भोलिदेखि बन्द गर्छौं । हामी प्रचण्डजस्ता देशघातीक‍ो लहलहैमा लाग्यौं । हामीले दिल्लीको फोहोर खायौं, पश्चिमाको नोकर भयौं । अब यस्तो हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर